२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

प्राडा कुसुमाकर न्यौपानेलाई तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान

नेपाली लोकगीतका अनुसन्धाता प्राडा कुसुमाकर न्यौपानेलाई तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान प्रदान गरिने भएको छ। तुलसीमान श्रेष्ठ स्मृति समाजले दशकौंदेखि लोकसाहित्य अनुसन्धानमा लागेर लोक साहित्य क्षेत्रमा योगदान पुर्‍याएबापत प्राडा न्यौपानेलाई साे सम्मान गरिने भएकाे हाे।

आगामी मंसीर २३ गते  नेपाल प्रज्ञाप्रतिष्ठानमा एक कार्यक्रम बीच २५ हजार नगदसहित उनलाई सम्मान गरिने तुलसीमान श्रेष्ठ स्मृति समाजका निरजमान श्रेष्ठले बताए।

२०१७ सालमा पर्वत जिल्ला पैयूँ गाउँपालिका ६, सरौंखोला, डाँडाकाहुँमा जन्मेका न्यौपाने पृथ्वीनारायण क्याम्पस पोखरामा प्राध्यापकको रूपमा कार्यरत थिए।

कास्की जिल्लामा प्रचलित लोकगीतमा वृक्ष, वनस्पती र वन (२०४९), गोपीचन लोकनाटक (२०६५), लोकरामायण (२०६५), कस्केली जातजाति र उखान(२०६९), दशावतार बालन लोकनाटक आदि उनका प्रकाशित कृति हुन्।

प्राडा न्यौपानेले शिक्षा दिवस पदक (२०५६), प्रतिभा पुरस्कार (२०६७), सिर्जनशील काजीरोशन साहित्यिक पुरस्कार (२०६७), अनेसास रतन झा स्मृति उत्कृष्ट पुरस्कार (ई.२०११),नेपाल विद्याभूषण क (२०६८), अनेसास हरिभक्त कटुवाल स्मृति सर्वोत्कृष्ट पुस्तक पुरस्कार (ई.२०१३), साझा लोकसाहित्य पुरस्कार, त्रिभुवन विश्वविद्यालयबाट दीर्घसेवा पदक (२०७४), गीताञ्जली साहित्यरत्न पुरस्कार (२०७६) लगायतका पुरस्कार तथा सम्मान पनि प्राप्त गरिसकेका छन्।

यसअघि उक्त पुरस्कारबाट लोक संस्कृतिविद् प्राध्यापक तुलसी दिवस, लोकगायिका ज्ञानु राणा, लोक तथा देउडा गायक नन्दकृष्ण जोशी, संस्कृतविद् सत्यमोहन जोशी र भाषा वैज्ञानिक तथा लोक साहित्यविद् प्राडा चूडामणि बन्धुलाई प्रदान गरिएको थियो।

लोकगीत तथा लोकसंस्कृतिको क्षेत्रमा खोजअनुसन्धान गर्दा गर्दै २०७३ सालमा क्यान्सरले निधन भएका तुलसीमान श्रेष्ठको स्मृतिमा सो सम्मान स्थापना गरिएको हो।

श्रेष्ठले गोरखाको पहिलो समाचारमूलक पत्रिका दरौंदीका संस्थापक सम्पादकका रूपमा पत्रकारिता गरेका थिए। उनले गोरखा, तनहूँ, नेपालगञ्ज र काठमाडौंका क्याम्पसमा प्राध्यापन गरेका थिए।

श्रेष्ठका गोरखाली लोक साहित्य, हिन्दू धर्ममा नारी, पुस्तान्तर कथासंग्रह, नेपाली लोकगीत: परिचय र विश्लेषण, झ्याउरे गीतको अध्ययन र अधकल्चो जीवन लगायतका कृति प्रकाशित छन्।

प्रकाशित: १४ मंसिर २०८० ०८:१७ बिहीबार

अक्षर