२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

नियात्राकार नेपालको ससुरालीदेखि सुस्तासम्म लोकार्पण

धवल पुस्तकालय पाल्पाले नियात्राकार विनोद नेपालको नियात्रासंग्रह ससुरालीदेखि सुस्तासम्म लोकार्पण गरेको छ।

वरिष्ठ साहित्यकार चोलेश्वर शर्माको प्रमुख आतिथ्य र धवल पुस्तकालय पाल्पा तथा कार्यक्रमका अध्यक्ष युवराज पौड्याल, विशेष अतिथि टंकप्रसाद भट्टराई, डा . शंकरप्रसाद गैरे लगायतले संयुक्त रूपमा कृतिकाे लोकार्पण गरेका थिए।

कार्यक्रममा समीक्षक डा. शंकरप्रसाद गैरेले नियात्राहरू विविध स्वाद र ढंगका भएकाे बताए। देशको समकालीन अवस्था र सीमा क्षेत्रमा नेपालीहरूले भोगेको समस्या कृतिमा उठाएको र वर्तमान समयमा गाउँठाउँमा रहेका समस्यालाई जोड्ने काम लेखकले गरेको बताए।

प्रमुख अतिथि चोलेश्वर शर्माले नियात्राकार नेपाल आफू साधना गर्ने मात्र नभई अरूलाई पनि लेख्न प्रेरित गर्ने गरेकाे बताए। उनले परिष्कृत रूपमा आएको कृतिमा रमणीय चारुता रहेको सन्दर्भ पनि उल्लेख गरे। वर्तमानको तिक्ततापूर्ण अवस्थाका साथै सुखद् र आशाका स्वरहरू पनि कृतिमा समेटिएको बताए।

विशिष्ट अतिथि क्याम्पस प्रमुख टंकप्रसाद भट्टराईले विनोद नेपालको मित्रप्रतिको सदभावको पाटालाई झल्काई निबन्धका माध्यमबाट यात्रानुभूतिका साथै समसामयिक समस्या झल्काएको उल्लेख गरे। नियात्रामा सरल भाषामा समसामयिक समस्या प्रस्तुत गरिएको बताए।

नियात्राकार नेपालले आफूमा सानैदेखि पत्रिका सङ्कलन गर्ने र पुस्तक पढ्ने रुचि भएको र उच्च शिक्षामा त्रिभुवन बहुमुखी क्याम्पस र धवल पुस्तकालयबाट धेरै प्रेरणा मिलेको सन्दर्भ उल्लेख गरे।

उनले पाल्पामा २०३८/०३९ तिर हातेपत्रिका प्रकाशन थालेको पनि स्मरण गरे। यही कारण साहित्य र पत्रकारितामा रुचि भएको उल्लेख गरे।

त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका पूर्व क्याम्पस प्रमुख जीवनबहादुर थापाले विनोद नेपालको पारिवारिक तथा सामाजिक लोकप्रियता उल्लेख गर्दै उनको साहित्यतर्फको रुझानकाे प्रकाश पारे।

यसैगरी लेखकका लामो समयदेखिका साथी नारायण अधिकारीले विगतको विद्यार्थी जीवन तथा विनोद नेपालको व्यक्तित्वलाई झल्काउने काम गरे। विद्यार्थीकालदेखि नै साहित्यिक तथा अन्य सामग्रीहरूको पठनमा नियात्राकार नेपालको रुचि रहेको सन्दर्भ पनि उनले उल्लेख गरे। उनले तात्कालिक समयका केही रोचक प्रसङ्ग पनि  उल्लेख गरे।

शुभकामना मन्तव्य राख्नेहरूमा पत्रकार महासंघ पाल्पाका पूर्व अध्यक्ष गोविन्द भट्टराईले विनोद नेपालको लेखन प्रवृत्तिकाे उल्लेख गरे। उनले निरन्तर साधनाको शुभकामना पनि व्यक्त गरे।

साहित्यकार मन गहिरेले पोखराथोकमा जन्मेर सिर्जनामा निरन्तर लागेका नेपालले पाल्पा मात्र नभई राष्ट्रिय तहमा योगदान पुर्‍याएको बताइन्।

रुपन्देहीका साहित्यकार खगेन्द्र बस्यालले बाछिटाकाे माध्यमबाट शुभकामना व्यक्त गरे।आफू पाल्पाली भएको र साहित्यका क्षेत्रमा कृतिकार नेपालले लघुकथा, नियात्रा, छेस्का कविता जस्ता विविध क्षेत्रमा सक्रिय रहेकाेमा प्रशंसा गरे।

पाल्पा साहित्य समाजका अध्यक्ष पुष्करराज रेग्मीले विभिन्न कृतिका लेखक विनोद नेपालको बहुआयामिक व्यक्तित्वमाथि प्रकाश पारे।

तानसेन नगरपालिका वडा नं ८ का अध्यक्ष सोमनाथ अर्यालले पोखराथोकको माटोले धेरै साहित्यकार जन्माएको सन्दर्भ उल्लेख गरे। उनले कृतिकारको शीर्षकले नै देशभक्तिको भावना प्रस्तुत भएको सन्दर्भसँगै सुस्ताले नेपालीलाई पीडा दिएको मार्मिक विषय उठाउन गरेकोमा लेखकलाई बधाई तथा शुभकामना व्यक्त गरे।

कार्यक्रममा उपस्थितहरूलाई स्वागत गर्नुका साथै कृतिकार नेपालको परिचयात्मक झलक प्रस्तुत गर्ने काम पुस्तकालयका सचिव डा. टंकप्रसाद पन्थबाट भयो। कार्यक्रमको सञ्चालन पुस्तकालयका महासचिव राजेशकुमार अर्यालले गरेका थिए।

प्रकाशित: १० मंसिर २०८० ०६:३९ आइतबार

अक्षर