२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

देवकोटा जन्मजयन्तीमा काव्य गोष्ठी

आनन्दआश्रम ज्ञान केन्द्र स्याङ्जाले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५औं जन्मजयन्तीका उपलक्ष्यमा विद्यार्थीहरूबिच अन्तर माध्यमिक विद्यालयस्तरीय कविता प्रतियोगिताकाे आयाेजना गरेकाे छ।

आनन्द आश्रम ज्ञान केन्द्रका उपाध्यक्ष दिप्तिनारायण शर्माकाे सभा अध्यक्षतामा भएकाे कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपसचिव कृष्ण खडका र सञ्चालन संस्थाका सचिव दोलराज ढकालले गरेका थिए।

‘व्यक्ति-व्यक्ति सिर्जनाकारः घरघर साहित्यकार’ भन्ने मूल नारा लिएर फापरथुम-आनन्द आश्रम गाउँमा विविध साहित्यिक कार्यक्रम गर्दै आएको उक्त केन्द्रद्वारा सञ्चालित अभियानअन्तर्गतको यो नवौ शृङ्खलामा नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ परिषद सदस्य डा. कृष्णराज अधिकारीको प्रमुख आतिथ्य र प्राज्ञ सभा सदस्य नारायण मरासिनी, गण्डकी साहित्य सङ्गम, पोखराका अध्यक्ष भीम रानाभाट र प्रगतिशील लेखकसंघ स्याङ्जाका अध्यक्ष चिन्तु गिरीको विशेष आतिथ्य रहेकाे थियो।

विभिन्न माध्यमिक विद्यालयका शिक्षक तथा छात्रछात्राहरूको सहभागिता रहेको उक्त प्रतियोगितात्मक कविता वाचनमा प्रद्युम्न पनेरु माविकी छात्रा शिखा सुनार प्रथम, रजस्थल माविकी छात्रा सदीक्षा बराल द्वितीय, श्रवण माविकी छात्रा सुशीला पौडेल तृतीय र सेपत माविकी छात्रा सुजाता लामिछानेले सान्त्वना स्थान हासिल गरेका थिए।

प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने छात्राहरूलाई क्रमशः पाँच हजार, तिन हजार, दुई हजार र एक हजार नगद पुरस्कार र विद्यार्थीहरूलाई योग्य कवि बनाउन महत्वपूर्ण भूमिका खेलेका माध्यमिक विद्यालयहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो भने प्रतियोगितामा भाग लिने सबै सहभागीलाई  प्रोत्साहनस्वरूप पाँचपाँच सय रुपैयाँ तथा विद्यालयहरूलाई सम्मानपत्र समेत प्रदान गरिएको थियो।

कार्यक्रममा विशिष्ट अतिथि नारायण मरासिनी, भिम रानाभाट, चिन्तु गिरी र प्रधानाध्यापक ख्यामनारायण लामिछाने, शिक्षक इन्द्रमणि ढकाल लगायतले रचना वाचन तथा मन्तव्य व्यक्त गरेका थिए।

प्राज्ञ डा. अधिकारी, ज्ञानकेन्द्रका संस्थापक संरक्षक त्रिलोचन ढकाल लगायतका वक्ताहरूले शहरमा बसेर ग्रामीण जनजीवनबारे लेख्नुभन्दा गाउँमै बसेर ग्रामीण जनता र उनीहरूको जीवनयापनका साथमा गाउँले परिवेशको चित्रण गरिएको सिर्जना यथार्थमूलक र सुन्दर हुने बताए।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि प्राज्ञ डा. कृष्णराज अधिकारीले गरेका थिए भने वाचित कविताहरूको मूल्याङ्कन प्राज्ञ सभाका सदस्य नारायण मरासिनी र गण्डकी साहित्य संगमका अध्यक्ष भिम रानाभाटद्वारा सम्पन्न भएको थियो।

कार्यक्रममा दिप्ती नारायण शर्मा, दोलराज ढकाल, ख्याम नारायण लामिछाने, कृष्ण खडका, इन्द्रमणि ढकाल, मोतीप्रसाद पौडेल, तिमिल्सिना लगायतका शिक्षकहरू र नरबहादुर शाही, किर्तिका ढकाल, गङ्गा ढकाल, शोभा ढकाल, कुन्ती ढकाल, विनिता जीटी, कौशिला ढकाल, भावना जिटी, तिर्था घर्ती, इन्द्रबहादुर शाही, सूर्यबहादुर जिटी, मनबहादुर घर्ती, अस्मीता जिटी, सचिन जिटी, स्मृती जिटी, उषा जिटी, तारा जिटी, शिवानी शाह, सरस्वती ढकाल, श्रेया ढकाल, सदीक्षा बराल, सुस्मिता ढकाल, सुचना काफ्ले, प्रतीक्षा केसी, सुशिला पौडेल, शदीक्षा पोखरेल, सुन्दर पोखरेल,  सम्पन्न पोखरेल, लक्ष्मण सापकोटा, सविना जिटी, निश्चल ढकाल, शेरबहादुर शाही, टीकाराम ढकाल (वनपाले), ख्याम नारायण शर्मा लगायत विद्यार्थी, अभिभावक तथा साहित्यक मनहरूको उपस्थिति रहेकाे थियो।

प्रकाशित: २५ कार्तिक २०८० ०७:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App