१२ मंसिर २०८१ बुधबार
image/svg+xml
कला

रावाका दुखेसाहरूले औधी मन छोएपछि म रोएँ

पाँच मुक्तक

१. मुक्तक

कमल फुल्ने हो हिलोमा गुलाबको बिरुवा नै सर्दैन,

गोयबल्सले झैं लिक्वानुले भ्रमका बीजहरू छर्दैन।

दुईचार ठक्करपछि त बुझ्नुपर्ने होइन र माझी दाइ,

माछा र चेपागाँडा जस्तो ढोक्सामा मान्छेचाहिं पर्दैन।

२. मुक्तक

यात्रा रोक्ने आँगनीको गेट फोरिने कुनै छाँट छैन,

मनुस्मृतिले फालेको फोहोर सोहोरिने कुनै छाँट छैन।

कुर्कुराउनु नै धर्म ठानेर अझै बास्ने आँट गरेनौं भने,

सुनौलो भविष्यको मार्गरेखा कोरिने कुनै छाँट छैन।

३. मुक्तक

तिम्रो निधारमा फुलेको मेरो पसिना खोस्छु म,

अवाञ्छित छ बाली प्रथा तोड्न अगुल्टो ठोस्छु म।

डकार्दै हाम्रो रक्त, श्रम र सीपको स्वादिलो फल,

पानी नकार्ने संस्कारमा विद्रोही पुल्ठो झोस्छु म।

४. मुक्तक

तिम्रो खुसीको लागि मेरो स्वाभिमान पनि झुकाउँदैछु,

मन फाटेको छ तैपनि तिम्रा कर्तुतहरू लुकाउँदैछु।

सहन सकिन छुद्र वचनले मुटुमा वाण हानेपछि,

छाती पिट्दै वृद्धाश्रममा आँसुका बिस्कुन सुकाउँदैछु।

५. मुक्तक

रावाका दुखेसाहरूले औधी मन छोएपछि म रोएँ,

दुःखसँग हारेर कान्छीले जीवन धोएपछि म रोएँ।

गर्भमा घाम फुलाउँदा पनि ज्योति देख्न नपाएपछि,

आफ्नै कोखलाई धिकार्दै खार्पा आफैँ रोएपछि म रोएँ।

 -नानुमैया दाहाल

प्रकाशित: २३ कार्तिक २०८० ०३:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App