२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

विद्युतकर्मी साहित्यिक समाजले सम्झियो सात कविलाई

नेपाल विद्युत प्राधिकरण, विद्युतकर्मी साहित्यिक समाजले सात युवा कविको समूह (पि सेभेन) को साहित्यिक योगदानको स्मरण गर्दै  ’त्वदीयं वस्तु गोविन्द, तुभ्यमेव समर्पणम्’ नामक साहित्यिक कार्यक्रम संचालन गरेको छ।

विद्युतकर्मी साहित्यिक समाजका अध्यक्ष कृष्णदेव रिमाल ’शब्दसेना’ को अध्यक्षता तथा  सात कवि समूहका सदस्यहरूको विशेष आतिथ्यमा उक्त कार्यक्रम भएको हो।

उक्त कार्यक्रममा सात कवि समूहबाट कविहरू आर.एम. डङ्गोल, छविरमण सिलवाल, टङ्क उप्रेती, ठाकुर बेलवासे र प्रोल्लास सिन्धुलीय गरी पाँच कवि उपस्थिति रहेको थियो भने सात समूहका गोविन्द नेपाल र मणि लोहनी भने कार्य व्यस्तताले अनुपस्थित रहेका थिए।

सो समारोहमा आयोजक संस्था विद्युतकर्मी साहित्यिक समाज (सातौं कार्यसमिति)बाट सहभागी भएका सात पदाधिकारीहरूले अतिथि कविहरूसामु सात कविका एकएक कविताहरू वाचन गरेका थिए।

यसै सिलसिलामा विद्युतकर्मी साहित्यिक समाजका अध्यक्ष कृष्णदेव रिमाल ’शब्दसेना’ ले प्रोल्लास सिन्धुलीयको कविता वाचन गरेका थिए भने उपाध्यक्ष शारदा भट्टराई पोखरेलले छविरमण सिलवाल, सचिव विष्णु आचार्य ’अतृप्त’ ले टङ्क उप्रेती, कोषाध्यक्ष मुकुन्दप्रसाद प्रसाईंले आर.एम. डङ्गोल र मणि लोहनी, सदस्य बलराम पुडासैनीले गोविन्द नेपाल तथा सदस्य सङ्गीता अधिकारी (पौडेल)ले ठाकुर बेलबासेका कविताहरू वाचन गरेका थिए।

परिचय आदानप्रदान र चाडपर्व विशेष शुभकामना आदानप्रदान गर्दै प्रारम्भ भएको सो कार्यक्रममा पि सेभेन समूहबाट उपस्थित पाँच कविले आफ्ना एकएक कविता वाचन गरेर काव्यिक माहोल तताएका थिए।

उक्त कार्यक्रममा मन्तव्य राख्दै सात कविमध्येका एक कवि आर.एम. डङ्गोलले  विद्युतकर्मी साहित्यिक समाजले सात कविलाई आमन्त्रण गरी कविता सुन्ने र सुनाउने कार्यक्रम राखेकोमा खुसी व्यक्त गर्नुका साथै कार्यक्रमले पि सेभेनलाई अझै जिम्मेवार र सशक्त ढङ्गले कविता सिर्जना, अध्ययन र अनुसन्धानको सामूहिक अभियानलाई बढावा दिनुपर्ने बताएका थिए। उनले भौतिक र भावनात्मक दुवै विजुली उत्पादमा नेपाल विद्युत प्राधिकरण उत्तिकै सक्रिय रही नमुना पेश गर्न सफल भएको बताए।

सो समारोहमा कार्यक्रम आयोजनाको औचित्य पुष्टि गर्दै विद्युतकर्मी साहित्यिक समाजका अध्यक्ष कृष्णदेव रिमाल ’शब्दसेना’ले ’तिम्रो वस्तु तिमीलाई नै समर्पण गर्दछौं’ भन्ने आशय सहित ’त्वदीयं वस्तु गोविन्द, तुभ्यमेव समर्पणम्’ नामक साहित्यिक अभियान सुरु गरिएको बताए।

उनले विगतमा यो अभियान आदिकवि भानुभक्त आचार्य, महामानव विश्वेश्वरप्रसाद कोइराला र साहित्यकार  विष्णुबहादुर सिंहको साहित्यिक योगदान सम्झिदै सोही श्रृङ्खलाको चौथो संस्करणका रूपमा सात कविको साहित्यिक योगदान सम्झेकाे पनि बताए।

सात कविको समूह कविता विधाको उन्नयनमा करिब तीन दशक अघिदेखि सक्रिय रहँदै आएको, सात कविहरूको सामूहिक उपलब्धिका रुपमा ’यतैकतै’ कविता सङ्ग्रह(२०७७) सार्वजनिक भएको र यो समूहले विचार र कलाको आनुपातिक सन्तुलन मिलाएर युगीन सन्दर्भ सम्बोधन गर्न सक्ने शक्तिशाली कविता रचना गर्दै आएकाले यस पटकको संस्करणमा सात कविलाई आमन्त्रण गरिएको समाजका सचिव एवं कार्यक्रम संचालक  विष्णु आचार्य ’अतृप्त’ ले जानकारी दिए।

प्रकाशित: १९ कार्तिक २०८० ०६:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App