चङ्गाहरू उड्थे आकाशमा दसैं लागेपछि। लटाइँको बिक्री बढ्थ्यो। धागाहरूमा माड लगाउनेहरू व्यस्त बन्थे। रङ्गीबिरङ्गी चङ्गाहरूका बजार लाग्थे।
ऊ पनि कम्ता रौसिन्थ्यो र सानामा चङ्गाका लागि, माथिमाथि उडेको चङ्गासँगै आफैं उडेजस्तो ठानेर। आकाशको यायावर ठान्थ्यो ऊ आफैंलाई।
आकाशका चङ्गाहरू काट्थ्यो, खुसीले उफ्रिन्थ्यो।
भन्थ्यो, “आमा, मेरो चङ्गाले पाँचवटा चङ्गा चेट गरायो। चेट भएकाहरू अहिले रुँदै होलान्।’’
च्याँठ्ठिन्थ्यो,“बाबा, देख्नुभो त मेरो चङ्गा कति बलियो छ।’’
उसका बालचाञ्चल्य देखेर बाआमा पनि खुसीका सरोवरमा पटकपटक चोपलिन्थे।
चङ्गासँगै उडेको उसको बालापनमा १२ को परीक्षाफलपछि एकाएक पूर्णविराम लाग्यो। उसको बालापन खोसियो। उसको चञ्चलता चो¥यो यो असत्तीले। नयाँनयाँ सपना देख्न थालेका उसका मनमा दसैँको चङ्गा होइन उडनतस्तरी आउने गरेका छन्।
आज चङ्गाहरू उड्ने आकाश हुँदै ऊ उडेको छ। आजकल यो देशका धागा काटिएका चङ्गाहरू जहाँजहाँ खस्छन् अब ऊ पनि त्यहीं पुगेर खस्नेछ।
-लक्ष्मण अर्याल
प्रकाशित: ८ कार्तिक २०८० ०५:०० बुधबार