‘नेपाल जान पनि त्यति सजिलो कहाँ छ र? पाँच वर्ष भइसक्यो नगएको पनि। अमेरिकाबाट आएका भन्छन्। सबैलाई केही न केही लगिदिनै पर्यो। दसैंमा टीका थाप्न जाँदा पनि फलफूल, मिठाई, कोसेलीपात बोक्नै पर्यो। केटाकेटी र बुढाबुढी भएका घरमा अलेलि पैसा पनि हातमा राखिदिनै पर्यो। जाने, आउने प्लेन खर्च, बच्चाहरू पनि लिएरै जानुपर्यो। सारा बजेट डामाडोल हुन्छ। अब यसपालि पनि पोहरकै जस्तो गर्नुपर्ला है बुढा!’
केही उदास स्वरमा लोग्नेले भन्यो, ‘हो हुन त तर साह्रै गुनासो गर्दै हुनुहुन्थ्यो आमा। फोन गर्याे कि रुन थालिहाल्नुहुन्छ। ‘तिमीहरूलाई नभेटी मर्छु होला’ भन्दै पीर गर्नुहुन्छ। रोगले पनि निकै गलाए जस्तो छ।’
‘अब के गर्नु त? हुनेहुनामी कसै गरे पनि टर्दैन। उपचार गर्ने पैसा पनि पठाइदिएकै हो। रोग नै उपचारको सीमाबाहिर पुगेपछि के गर्न सकिन्छ र?
सकेसम्म त हेरेकै हौं नि हामीले। यहाँ त डलर पनि बोटमै फल्छजस्तो गर्छन्। उता हुनेहरूले त खर्च गर्नै नहुने जस्तो। हामीले पनि आफ्नो परिवारको लागि पनि त सोच्नुपर्यो।’ थोरै असन्तुष्ट आवाज श्रीमतीको।
‘अब अनुहार हेर्न नपाई जान लेखेको रहेछ भने पनि हामी के नै गर्न सक्छौं र? यसपालि पनि छुट्टी मिलेन भन है बुढा! अलिपछि केटाकेटीको गर्मी बिदामा आउँछौं भन्देऊ न। पछिको कुरा पछि नै हरौंला।’ केही बेरपछि फेरि भनी।
‘खै, अब त्यसै गर्नुपर्ला।’ आखिरमा गृहमन्त्रीसँग सहमति जनायो उसले पनि।
जसोतसो फोनमा ढाँट्यो बाआमालाई। आमा निकै रोइन्, उसलाई पनि नरमाइलो लाग्यो तैपनि फकाइफुल्याइ गर्यो । दसै खर्च भनेर नेपाली २० हजार रुपियाँ पनि पठाइदियो।
टीकाको दिन। नेपालको समयानुसार बिहान ११ः०२ को साइत थियो। साइतको पहिलो टीका जेठो सन्तानबाट सुरु गर्ने बाआमाको इच्छा थियो। अमेरिकाको मध्यरात, निन्द्रा लाग्ला भनेर मोबाइल हेर्दै बसे उनीहरू।
साइतको समय भयो। उनीहरूले भिडियो कल गरे। उता बाआमा टीका र जमरासाथ तयार थिए।
‘ल बाआमा, ढोग गरें। अब टीका लगाइदिनोस्।’ उसले भिडियोमै कपाल पन्छाउँदै निधार अघि बढायो। बाआमाले अक्षता मुछेका हात अघि सारे। बुबाले मन्त्र र आमाले आशीर्वाद दिन मुख खोलेका मात्र के थिए, नेपालको बत्ती झ्याप्पै गयो।
-दुर्गा वनवासी
प्रकाशित: ७ कार्तिक २०८० ०८:३४ मंगलबार