१२ मंसिर २०८१ बुधबार
image/svg+xml
कला

पुर्ख्याैली सम्पत्ति

लघुकथा

क्याप्शन

घडेरी किन्दाको ऋण तिर्दा  होस् कि घरबेटीलाई भाडा तिर्दा उसको मन कटक्क खान्थ्यो।

त्यति मात्र होइन। ठूल्दाइ, माल्दाइ, कान्छ भाइको पनि, त्यही गाँस, बास, कपासकै लागि जीवन सकिएको देख्दा असन्तुष्टिले चरम सीमा नाघ्थ्यो।

ऊ धेरैबेर टोलायो।

उसको खिन्नता अझै थपियो - दशैंतिहारमा सबै मिलेर एकदुई दिन रमाइलो गर्ने र महिनौसम्म कमाएको पैसा त्यही गर्जको टार्न खर्च गर्नेभन्दा अरू काम जीवनमा गर्न नै के सकिएको छ र?

मनमा खटपट बढेपछि एकदिन उसले बाआमालाई मुखै फोरेर भन्यो, ‘हजुरहरूको समकक्षी आफन्तहरूले त्यत्रो सम्पत्ति जोड्दा हजुरहरूले एउटा झुप्रोसम्म त जोड्न सक्नुहुन्थ्यो होला नि! कम्तीमा अहिले यो भाडा तिर्ने पैसा तपाईहरूको औषधिमुलोमा त लगाउन त हुन्थ्यो!’

यतिले भनेर मात्र उसको खिन्नता, खटपटी र छट्पटी मेटिएन।

‘कति जिउनु यार एउटै खाले दिक्दारलाग्दो जिन्दगी?’ उसले रिसाउँदै भन्यो, ‘केही दिन म आफ्ना सन्तानका लागि धेरै जग्गाजमिन र धनदौलत जोडिदिने आफन्तहरूकामा घुम्न जान्छु र उनीहरूको सुखी र गुणस्तरीय जीवन महसुस गरेर फर्किन्छु।’

यसरी रिसाएर हिंडेको छोरा सोचेभन्दा चाँडै फर्किएपछि बाआमा छक्क परे।

धेरै धनदौलत कमाएका ‘आफन्तको जीवन देखेर यति खुसी भएर आएको छ। छोराछोरीहरूका लागि केही न केही त जोडी दिनुपर्ने रहेछ गल्ती हाम्रै हो।’ खुसीले गद्गद् देखिएको उसको अनुहार हेर्दै बाआमाले कानेखुसी गरे।

आमाले डराउँदै अघि सरेर सोधिन्, ‘हुन त तिम्रो उज्यालो अनुहारबाट सबै आफन्तको खबर बेस छ भन्ने बुझियो तैपनि सोध्न मन लाग्यो। आफन्तहरूको खबर के रहेछ त बाबु?’

उसले भक्कानिंदै बाआमाको चरण स्पर्श गर्‍यो र भन्यो, ‘धन्न! हजुरहरूले हामीलाई कुनै सम्पत्ति जोडिदिनुभएनछ।’

-अनु विज्ञाति  

प्रकाशित: ७ कार्तिक २०८० ०२:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App