२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

असिनाले फूल झारेको जिन्दगानी सहनुपर्छ

मुक्तक

१. मुक्तक

यस्तै त हो घाम सहनुपर्छ, पानी सहनुपर्छ,

असिनाले फूल झारेको जिन्दगानी सहनुपर्छ।

न मन भरिन्छ हेरेर न देहको अमिट प्यास,

तैपनि सधैं अतृप्त आँखाको नानी सहनुपर्छ।

२. मुक्तक

फूल, पात र फल लुट्यौ अब जरा लुट,

घरबारी लुट्यौ, बाँकी छ खेतका गरा लुट।

अहँ मर्दैनौ तिमी कहिल्यै पनि, बाँचिरहन्छौ,

चिरबिर नै लुट्यौ चराको, अब चरा लुट।

३.मुक्तक

मै मात्र फूल हुँ ती सोच्छन् अरू सब काँडो हुन् केवल,

सोच्छन् आफूलाई सुनको थाली, अरू भाँडो हुन् केवल।

भ्रमको संसार र तासको घर उस्तै उस्तै लाग्छ मलाई,

सोच्छन् ती सर्वोच्च शिखर हुँ, अरू डाँडो हुन् केवल।

४.मुक्तक

दलाल नपसेको मैदान छैन कुनाहरू पनि छैनन्,

उहिलेको जस्तो टपरी छैन, दुनाहरू पनि छैनन्।

आमाहरू छन् घरमा, बा र हजुरबाहरू मात्र छन्,

मदन मात्र होइन गाउँमा मुनाहरू पनि छैनन्।

५. मुक्तक

सयौं बच्चाहरूका निम्ति माकुराहरू उठ्छन्,

साहसीहरूले चढून् भनेर टाकुराहरू उठ्छन्।

सकिन्छ हरसाल फूल र पातहरूको जीवन,

अनि त यहाँ रहरलाग्दा आँकुराहरू उठ्छन्।

प्रकाशित: ६ कार्तिक २०८० ०३:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App