१२ मंसिर २०८१ बुधबार
image/svg+xml
कला

प्रतिबद्धता

लघुकथा

विश्व वातावरण दिवसको अवसर पारेर एउटा गैह्रसरकारी संस्थाले वातावरण संरक्षणसम्बन्धी कार्यक्रमको आयोजना गर्‍यो। कार्यक्रमको सुरूमा कार्यालयको वरिपरि सरसफाइ गर्ने काम भयो। त्यसपछि टोलको पनि सरसफाइ गरेर मध्यान्ह बाह्र बजेतिर संस्थाका कर्मचारी, छिमेकी र आफन्तहरूसहितको त्यो समूह नारा लाउँदै सांस्कृतिक, ऐतिहासिक र पर्यटकीय महत्त्व बोकेको त्यो शहरको कार्यक्रमस्थलमा पुग्यो।

संस्थाका प्रमुखको अगुवाइमा पर्यावरण सम्बन्धी चेतना फैलाउने नारासहितको ब्यानर र प्लेकार्डहरू बोकेको त्यो समूहले त्यहाँ भेला हुनुपूर्व शहरका चर्चित बजार क्षेत्र परिक्रमा गरेको थियो। अलिकति चर्चितहरूको मातहतमा चलेको संस्था भएर पनि होला, आसनग्रहण गर्ने बेला त्यहाँ नगर प्रमुख अनि वन तथा वातावरण मन्त्रालयका उच्च तहमा आसिन पदाधिकारीहरूको पनि बाक्लै उपस्थिति थियो।

यसपालिको जुन महिनामा सम्पन्न विश्व वातावरण दिवसको नारामा प्लास्टिकजन्य वस्तुको व्यवस्थापनमा जोड दिइएको थियो। त्यस विषयमा मन्त्री, कार्यालय प्रमुख र समाजसेवीहरूले प्लास्टिकजन्य वस्तुको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा आआफ्ना मन्तव्य व्यक्त गरे।

विद्वानहरूका गहकिला तर्क सुनेर सभास्थल तालीको गडगडाहटले गुन्जियो। त्यस कार्यक्रममा उपस्थित सबैले आजैदेखि आफ्ना टोल, छिमेकमा फालिएका प्लास्टिकजन्य वस्तुलाई व्यवस्थित गर्छौं भनेर प्रतिबद्धता जाहेर गरे।

हेर्दा हेर्दै उक्त कार्यक्रम भव्य रूपमा सम्पन्न भयो। कार्यक्रमका तस्बिरहरू खिचिए। भिडियोहरू पनि बने। साथमा खाजाको पनि व्यवस्था भएकाले जाने बेलामा सबैले खाजा प्याक गरिएको पोको र कपमा चिया लिएर खान थाले।

खाजापछि घर फर्कनेहरूको ताँती निकै लामो थियो। वातावरण संरक्षणमा प्रतिबद्ध ती सबै मान्छे नयाँ र सुकिला टिसर्टमा चिटिक्क परेका पुतली जस्तै देखिएका थिए। उनीहरूले लगाएका टिसर्टको पछाडि ‘प्लास्टिकजन्य वस्तुको व्यवस्थापन गरौं’ भन्ने सन्देश लेखिएको थियो। तर, तिनीहरूको आँखैअगाडि भुईंभरि तिनै टिसर्ट प्याक गरिएका प्लास्टिक अनि चिया र खाजा खाएर उनीहरूले नै जथाभावी फालेका प्लास्टिकका कप र जुठा भाँडाहरूको कुरूप दृश्य थियो।

-हरिप्रसाद गौतम

प्रकाशित: ३ कार्तिक २०८० ०६:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App