हिमाल,पहाड र तराई खुबै मिलेका थिए। एकको समस्यामा अर्काले काँध थाप्थे। तसर्थ संसारमा उनीहरूको राम्रो परिचय बनेको थियो। हिमालबाट बगेको हिमनदीले पहाड र फाँटको तिर्खा मेटेको थियो। फाँटले पहाड र हिमालको भोक मेटाएको थियो। हिमालले पहाड र फाँटको रोग निको पार्न सहयोग गरेको थियो।
उनीहरूमा क्रमशः सोच बदलिन थाल्यो। सबैले आफू नै सबैभन्दा प्रमुख ठान्न थाले। बिस्तारै पहाडका जंगल मासिन थाले। पहाड समथर हुन थाल्यो। सौन्दर्य घट्दै जान थाल्यो तर हिमाल र तराईलाई केही फरक परेन। पहाडको त्यो दुर्गतिमा उनीहरू केही बोलेनन्। फाँटका नदीले गन्तव्य परिवर्तन गर्न थाले। चुरे मासिंदै गयो। बिस्तारै गर्मी बढ्यो। मूल सुक्न थाल्यो। उत्पादन घट्न थाल्यो तर तीन मित्र पूरै चुपचाप बसे। हिउँ पग्लिन थाल्यो। हिमाल पहाड बन्यो। सुन्दरता गुमाएको हिमाललाई कसैले वास्ता गरेनन्। एकले अर्कालाई साथ दिन छाडे।
अन्ततः धर्तीपुत्र कराए,‘व्यवस्था र नेतृत्वझैं तिमीहरू परिवर्तन हुनु देशको अस्तित्व धरापमा पार्नु सरह हुनेछ।’
-सुस्मिता अधिकारी
प्रकाशित: ३ कार्तिक २०८० ०६:१५ शुक्रबार