२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

जितेन्द्र रसिकको ’सत्यको खोज’ सहित ३ कृति लोकार्पण

साहित्यकार जितेन्द्र रसिकद्वारा लिखित वाङमय शताब्दी पुरूष सत्यमोहन जोशीको जीवनी ‘सत्यको खोज’, सार्वजनिक भएको छ। कृति शुक्रबार जनकवि दुर्गालाल श्रेष्ठले लोकार्पण  गरेका हुन्।

एजुकेस्नल पब्लिसिङ हाउस कान्तिपथमा आयोजित कार्यक्रममा लेखक रसिकले वाङमय शताब्दी पुरूष सत्यमोहन जोशीबारे जति लेखे पनि कहिल्यै नसकिने बताए।

जोशी नेपाली लोक साहित्य र संस्कृतिमा यो युगकै एउटा ननिभ्ने ज्योति भएको बताए। रसिकको यो पन्ध्राै कृति हो।

सत्यको खोज कृतिको समीक्षा गर्दै समिक्षक गोपीकृष्ण ढुंगानाले सत्यको खोज वाङमय शताब्दी पुरूष सत्यमोहन जोशीको गहिराइमा पसेर लेखिएको महत्वपूर्ण दस्तावेज भएको बताए। उनले सत्यको खोजको हरेक च्याप्टर एक गहिरो अनुसन्धानमुलक कृति भएको बताए।

वाङमय पुरूष जोशी पुत्र अणुराज जोशीले सत्यको खोजभित्र सत्यमोहन जोशीको इतिवृतान्त समावेश रहेको र लेखक रसिकको लेखन शैली आकर्षक भएकाले पाठकले कृति रूचाउने बताए।

कार्यक्रममा आर मानन्धरद्वारा लिखित जनकवि दुर्गालाल श्रेष्ठको जीवनी ’कवि-कविताको छवि दुर्गालाल श्रेष्ठ’ र कमलप्रसाद मल्लको ’क्लासिकल नेवार लिट्रेचर’ पनि एकसाथ लोकार्पण भएको छ।

लेखक आर मानन्धरले जनकवि दुर्गालाल श्रेष्ठले नेपाल भाषा आन्दोलनमा साहित्य, गीत, नाटकबाट जनताका लागि चेतना जगाउन पुर्‍याएको योगदानको चर्चा गरे।

कार्यक्रममा प्रमुख अतिथि  जनकवि दुर्गालाल श्रेष्ठले आफ्नो भौतिक शरीरको भर नरहे पनि कृतिमार्फत आर मानन्धरले आफ्ने जीवनको पूरै चित्र कृतिमा उतारेको बताए।

समीक्षक सुरेश किरण मानन्धरले ‘कवि-कविताको छवि दुर्गालाल श्रेष्ठ’ को समीक्षा गरे। उनले जनकवि दुर्गालाल श्रेष्ठको बारे लेखिएको उक्त पुस्तकमा उनी जनताको कवि भएकाले उनको योगदान जान्न चाहने पाठकलाई निकै महत्त्वपूर्ण कृति रहेको बताए।

मल्ल के सुन्दर र सर्जक अभि सुवेदीले ‘क्लासिकल नेवार लिट्रेचर’को समीक्षा गरेका थिए।

कार्यक्रम तीन वटै पुस्तकका प्रकाशक एजुकेस्नल पब्लिसिङ हाउसले आयोजना गरेको हो। गायक तथा पत्रकार कपिल कसपालले कार्यक्रम सञ्चालन गरेका थिए।

साहित्यकार जितेन्द्र रसिकद्वारा लिखित वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीको जीवनी सत्यको खोजको मूल्य ५५५/-,  ‘कवि-कविताको छवि दुर्गालाल श्रेष्ठ’ को मूल्य  ४९५/-र ‘क्लासिकल नेवार लिट्रेचर’ को मूल्य ६००/-रूपैयाँ  रहेको छ।

प्रकाशित: २७ आश्विन २०८० ०८:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App