मानिस विचारशील प्राणी हो। उसको दिमागमा हरक्षण विचार प्रवाह भइरहेका हुन्छन्। केही मानिसले यसरी उत्पन्न विचारलाई कार्यान्वयनमा लगाउँछन्। यस्ता विचारलाई सूत्रबद्ध रूपमा प्रस्तुत गर्दा मात्रै पनि धेरै पक्ष उजागर हुन्छन्।
सपना त्यो हो, जसलाई ननिदाएका बेला देख्न सकिन्छ। यसरी देखेका सपनाले स्वाभाविक रूपमा सुत्न दिँदैनन्। त्यस्ता सपनाको कार्यान्वयन भएको खण्डमा अपेक्षित परिणाम आउँछ। आज कैयन् मुलुकले समृद्धि यात्रामा फड्को मारेका छन्। मानव जीवनका उच्चता आफूले देखेका सपना पूरा गरेपछि प्राप्त गरेका छन्।
अश्विनकुमार पुडासैनी पनि यस्तै स्वप्नद्रष्टा हुन्। उनले नेपाल समृद्ध बनाउन सकिने १०१ वटा सूत्र फेला परेका छन्। यी सूत्रमध्ये केहीको कार्यान्वयनमा मात्र इमान्दार हुने हो भने पनि परिणाम भिन्न हुन सक्छ। वास्तवमा यस्ता पक्षमा मात्र ध्यान दिने हो भने पनि हाम्रो राष्ट्रिय चरित्र भिन्न हुन पुग्छ।
कुनै पनि देशको विकास वा अविकासको कारण त्यस देशका नागरिकको राष्ट्रिय चरित्रमा पनि निर्भर पर्छ। नागरिकले आफूलाई जसरी तयार पार्छन्, त्यही अनुसार देशको समृद्धि हुन्छ। नागरिक जस्ता हुन्छन्, त्यस्तै अवस्था नेताको पनि हुन्छ। आज देशमा नेतालाई गाली गरेर मात्र जिम्मेवारी पूरा भएको ठानिएको छ। यथार्थमा नागरिक आफैले पनि यस्ता पक्षमा ध्यान दिन सक्नुपर्छ।
कुनै बेला पत्रकारितामा समेत संलग्न पुडासैनी अहिले बैंकरका रूपमा क्रियाशील छन्। उनले देशका विभिन्न मानिससँग गरेका कुराकानी र सङ्गतका आधारमा ‘समृद्धिको हुटहुटी’ हालै प्रकाशित गरेका हुन्।
मुटुरोग लागेर अन्तिम अवस्थामा पुगेपछि पुनर्जीवन पाएका उनले लगातार यस्ता कृति लेखनमा आफूलाई लगाएका छन्। सुशासन र समृद्धिका निम्ति चालिएका उनका १०१ पाइला आफैमा भावी नेपालका निम्ति मार्गदर्शन हुन सक्छन्।
‘बत्तीमुनि उज्यालो’ नामक पुस्तक लेखिसकेका पुडासैनीको ‘समृद्धिको हुटहुटी’ का आफ्नै विशेषता छन्। एक, यसलाई पढ्न धेरै कठिनाइ छैन। दुई, सूत्रबद्ध रूपमा लेखिएका र धेरै व्याख्या नगरिएका हुनाले विचार जान्नका निम्ति सजिलो छ। यसलाई टपक्क टिपेर व्यक्तिले आफूलाई सुधार गर्न सक्छन्।
खासमा राष्ट्रिय योजना आयोग, मन्त्रालय, विभाग, कार्यालय र संघसंगठनले समेत आफूलाई विचारका निम्ति यसलाई सन्दर्भ ग्रन्थका रूपमा अपनाउन सक्छन्। त्यति मात्र होइन, भर्खरै कजेज स्तरमा पढ्दै गरेका विद्यार्थीका निम्ति पनि यो पुस्तक उपयोगी छ।
प्रत्येक नेपालीका बैठक खाता, जन्मदर्तासँगै स्वास्थ्य बिमा, अनलाइन भुक्तानी, इन्टरनेट, नेसनल पेमेन्ट गेटवे, नागरिक एप, सूचना सुरक्षा लगायतका विषयलाई यसमा समावेश गरिएको छ।
कागजी नोट सय रूपैयाँको मात्र बनाउनेजस्ता नयाँ विचार मात्र होइन, सबै नागरिकलाई सेयर सुविधा दिने, आफूले तिरेको कर आफ्नै निम्ति प्रयोग गर्ने नयाँ दृष्टिकोणहरू यसमा पाइन्छन्। एक मुठा साग बेच्नेलाई पनि राष्ट्रिय कर प्रणालीमा जोड्ने विचारले निःसन्देह नेपालको समृद्धि यात्रामा सघाउँछ। यसका साथै आफूले तिरेको करको सदुपयोगतिर पनि देशलाई लगाउँछ।
दैनिक जीवनमा गरिने प्रत्येक कामलाई रचनात्मक ढंगले प्रयोग गर्ने हो भने यस्ता आधारले मानिसलाई सहज बनाउँछ। यसले समग्रमा मुलुकको चरित्रलाई बदल्छ। त्यति मात्र होइन अन्तिममा पुगेर उनले ‘निःशुल्क अन्तिम संस्कार’ सम्मको कुरा गरेका छन्। वास्तवमा जन्मेदेखि मृत्युसम्मलाई सहज बनाउने हो भने यावत् काम गर्न सकिन्छ।
बुद्धिमानले त्यही कामलाई रचनात्मक ढंगले सम्पन्न गर्छन्। हामीले हरेक दिने आउने विचारलाई सूत्रबद्ध गर्नुपर्छ भन्ने ज्ञान पुडासैनीको यो पछिल्लो कृतिले दिएको छ। प्रत्येक विचारलाई सिर्जनात्मक ढंगले प्रयोग गर्ने र त्यसलाई कार्यान्वयन गर्नेतिर ध्यान जानुपर्छ।
व्यक्तिको दैनिक जीवनलाई नसारहित बनाउनेदेखि देशका राजमार्ग र सहरबस्तीको विकाससम्मका यी अवधारणा आफैमा रोचक छन्। विचार विचारकै रूपमा मात्र रह्यो भने त्यो हावाको महल बन्न सक्छ तर त्यसलाई कार्यान्वयन गरियो भने भिन्न परिणाम आउँछ।
प्रकाशित: २७ आश्विन २०८० ०४:२५ शनिबार