२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

भित्र पस्दा पिँजडा, बाहिरबाट देखिने दरबारको के अर्थ

मुक्तक

१.मुक्तक

भौगोलिक दूरी कम गर्न आफ्नोपन हुनुपर्छ,

बिनास्वार्थको भावना, मन र वचन हुनुपर्छ,

चाहनामा निर्भर हुन्छन् भेटघाट र कुराकानी,

त्यसका लागि थोरै समय व्यवस्थापन हुनुपर्छ।

२.मुक्तक

जति विलाप गरे पनि पत्थरलाई पगाल्न सकिन,

सामाजिक बन्धन तोडेर तिमीलाई अँगाल्न सकिन।

इज्जत नामको परिधिभित्र चाहनालाई दागबत्ती दिएँ,

संस्काररूपी ढोगभित्रका सम्बन्धहरू सँगाल्न सकिन।

३.मुक्तक

आफ्ना चाहनाको तिलाञ्जलि दिनुपर्ने घरबारको के अर्थ,

भित्र पस्दा पिंजडा, बाहिरबाट देखिने दरबारको के अर्थ।

सामान्य गाँस, बास, कपासले पनि चल्दो रहेछ जिन्दगी,

मनभित्र अन्धकार भए झिलिमिली संसारको के अर्थ?

४.मुक्तक

हजारौंको भिडमा पनि किन, कोही खास लाग्छ,

आफूतिर उसको  नजर पर्छ कि भन्ने भन्ने आस लाग्छ।

अरूसँग बोल्दा पनि त्यही स्वर मिठो, उपस्थितिको कुरै,

छाडौं तस्वीरमा पनि मिठास लाग्छ।

५.मुक्तक

बलियोले प्रतिकार गर्छ, कमजोरले सहने हो,

नदेखेझैं गर्छन् सबै, पीडा कसलाई कहने हो।

प्रतिक्षा गर्न सक्यो भने त समयले कोल्टे फेर्ला,

अथा समस्याको भुमरीमा खै कसरी रहने हो?

-कमला घिमिरे

प्रकाशित: २६ आश्विन २०८० ०५:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App