२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

नियात्रामा बहुविधा मिसिएको उत्कृष्ट कृति- डोल्पो! ओ डोल्पो!

पाठकीय अभिमत

रूपा थापा

मन चरा न हो भुरुरु उडिरहन्छ। पुग्न नसकेको ठाउँमा पनि पुगिदिन्छ,नपुगेको ठाउँमा पनि पुगिदिन्छ। कैयाैं सपना सपना बनेर बाँचिरहन्छन्,कैयाैं सपना कल्पनामा हराइरहन्छन्। यस्तै एक सपना हो पुग्न नसकेकाहरूका लागि एउटा मिठो सपना बनेर पर्खिरहेको ‘डोल्पा अनि से फोक्सुण्डो ताल’। कहिलेकाहीं पुग्न नसकेको अनि छिचोल्न नसकेको गन्तव्यको आसले पनि त हिंडिंरहन मन लाग्ने रहेछ।

प्रसिद्ध साहित्यकार डा.दामोदर पुडासैनी किशोरको ‘डोल्पो ओ डोल्पो’ प्रकाशित भएको थाहा पाएपछि लाग्यो, डोल्पा र हिमाली जनजीवन बुझ्न आम पाठकका लागि यो पुस्तक एउटा ठूलो उपयोगी हुनेछ।

डा. दामोदर पुडासैनीका हरेक कृति विशेष महत्त्वका र उपलब्धिमूलक हुन्छन् भन्ने मैले उहाँका अरू पुस्तक पढेर थाह पाएकी थिएँ। डोल्पो! ओ डोल्पो!! किताबको नामैले मलाई यसरी तान्यो लाग्यो-एक अधुरो सपना जसलाई सजाउनु छ, आँखाको गहिराइमा महसुस गर्नु छ अनि साक्षात्कार गर्नु छ डोल्पासँग।

यात्राले आकर्षण गरिरहने मलाई पुग्न नसकिएको प्रिय डोल्पोमा लेखकसँगै पुगियो। त्यहाँको फरक परिवेश, भूगोल, संस्कृति र मृत्युलाई सिरानी हालेर हिंडिरहेका मान्छेहरूको जीवन शैली कम रोचक लागेन। हेलिकप्टरबाट बोकाएर लगिएका जीपहरूको डरलाग्दो यात्राले त झन् मनै हल्लायो।

प्रिय लेखक डा. पुडासैनीले डोल्पालाई केन्द्रविन्दु बनाएर समग्र हिमाली संस्कृति र भूगोलको मात्र विश्लेषण गर्नुभएको छैन संसारभरका समस्त मानव दर्शन र नवीन मार्गहरूको पनि जीवन्त रूपमा प्रस्तत गर्नुभएको छ। प्रकृतिको अगाडि मानिसहरू विवश हुने मात्र होइन प्राकृतिक र कृत्रिम जोखिमहरू मोलेर अघि बढ्नुको सार्थकता यो पुस्तकले अत्यन्त रोचक ढंगले प्रस्तुत गरेको छ।

यात्रा एक भोगाइ हो, अनुभव हो र तृष्णा हो। जसरी लेखकलाई पनि एक किसिमको भोक थियो डोल्पोसँग साक्षात्कार हुने। यो किताब पढिसकेपछि यो मनले भन्यो, ‘फरक परिवेश अनि प्रकृतिको अनुपम सौन्दर्य बोकेर पर्खिरहेको प्रिय डोल्पोसँग एक दिन त साक्षात्कर गर्नै पर्छ। खोई त्यो दिन आउला कि नआउला!

डोल्पाको अथाह सौन्दर्यले कसलाई पो आकर्षण नगर्ला र यसमा पनि लेखकले आफ्नो प्रिय डोल्पोसँग भेट भएपछि त्यहाँका भौगोलिक विकटतालाई सरलताको साथ लिनुभएको छ जुन स्वाभाविक पनि हो। आखिर मानिस प्रकृतिको अनुपम काखमा पुगेपछि जस्तोसुकै पीडालाई पनि भुलेर बाँच्दा रहेछन्। नत्र कसरी बाँच्दा हुन त डोल्पाका बासिन्दा!

यात्राले आकर्षण गरिरहने मलाई पुग्न नसकिएको प्रिय डोल्पोमा लेखकसँगै पुगियो। त्यहाँको फरक परिवेश, भूगोल, संस्कृति र मृत्युलाई सिरानी हालेर हिंडिरहेका मान्छेहरूको जीवन शैली कम रोचक लागेन। हेलिकप्टरबाट बोकाएर लगिएका जीपहरूको डरलाग्दो यात्राले त झन् मनै हल्लायो।

हरिया पहाड, झरना अनि लोभलाग्दा अनुपम दृश्यलाई सँगालेर फोक्सुन्डो तालसम्म पुग्दा आखिर को होला र नरमाउने!

लेखकले डोल्पो ओ डोल्पोमा त्यहाँको जनजीवनको साथै सरकारी कार्यालयहरूमा भइरहेका केही राम्रा र केही नराम्रा कुरा लेख्नुभएको छ।

त्यसैगरी यस भेगमा कसरी धामी- झाँक्रीहरूले सोझा जनताको मानसिकतामाथि कब्जा गरेका छन् सोबारे पनि लेख्नुभएको छ। अज्ञानता र अशिक्षाले रुमलिएका मान्छे मात्र हैन शिक्षितहरू पनि यो प्रथासँग झन् झन् जकडिंदै गएका कुरा पनि लेखकले राख्नुभएको छ।

डोल्पामा विशेष गरी पुरुष हिंसाको कथा पनि रहेछ। लामो समयदेखि महिला हिंसाको कुरा उठाउँदै आएका हामीलाई यो पनि एक किसिमको नौलो कुरा त थियो नै। हाम्रो चाहना भनेको जहाँ जस्तो अवस्था या ठाउँमा कसैले हिंसा सहनु नपरोस् भन्ने हो, चाहे त्यो पुरुष होस् या महिला चाहे त्यो महिलाले गर्ने हिंसा होस् या पुरुषले गर्ने हिंसा।

बहुपति प्रथा पनि अर्को नौलो कुरा छ धेरैलाई। डा. पुडासैनीले डोल्पो! ओ डोल्पो!! मा बहुपति प्रथा, बालबालिकाको विचल्ली र भौगोलिक विकटताले मानव जीवनकाे कष्टकर मोडलाई बडो मिहीन र रोचक ढंगले उजागर गर्नुभएको छ।

त्यस्तै त्यहाँको मितमितिनी प्रथाका अनेकौ समाजशास्त्रीय पक्षलाई यो पुस्तकले खुलस्त पारेको छ। अर्को अचम्म लाग्ने कुरा मितमितिनी लगाइसकेपछि पति पत्नी सरह नै एक अर्काको हक लाग्ने।

अनगिन्ती सम्भावना बोकेको डोल्पा तर त्यहाँका बासिन्दाको सरदर आयु पनि कम र अत्यधिक मदिरापान निकै दुखलाग्दो रहेछ।

त्यसै गरी जनयुद्घ लडेर आएको लडाकु काली चलाउनेको कथाले पनि निकै छटपटी बनायो।

चिसो ढुंगाको बिच सेनाबाट बच्न र बँचाउन पाँच दिनको शिशुलाई लामो समयसम्म ढुंगामा छोपेर राख्दा पनि शिशु बाँच्न सफल भएको घटनाले निकैबेर सोचमग्न बनायो। लेखकले जनयुद्घको गहिरो घाउलाई रोचक र खोजपूर्ण ढंगले बयान गर्नुभएको रहेछ।

डोल्पालाई प्रकृतिले कठोर भूगोल दिएको मात्र होइन बहुमुल्य यार्सागुम्बा पनि दिएको छ। साथसाथै भेडा र चौरीको राैंबाट गलैंचा,फेरुवा, लिउ, फाँचा,चौरीपोट र पाङदेन बनाएर तिब्बतमा व्यापार खुलाएको बेलामा त्यही व्यापार गरी तिब्बतबाट आवश्यक खाद्यान्नहरू खच्चर र घोडाबाट ल्याउनु यहाँको बाध्यता रहेछ।

बहुपति प्रथा पनि अर्को नौलो कुरा छ धेरैलाई। डा. पुडासैनीले डोल्पो! ओ डोल्पो!! मा बहुपति प्रथा, बालबालिकाको विचल्ली र भौगोलिक विकटताले मानव जीवनका कष्टकर मोडलाई बडो मिहीन र रोचक ढंगले उजागर गर्नुभएको छ।

हिउँको सौन्दर्यमा अनि हिँउसँग लुकामारी खेल्दै अनि जुध्दै मिठा स्याउहरू फल्ने डोल्पा अनि अनगिन्ती बहुमुल्य जडीबुटीले सुशोभित डोल्पा आफ्नै संसारमा फेरि पनि मुस्कुराउँदो रहेछ।

जिन्दगी अक्करे भिरमा नफल्दो हो त किन मुस्कुराउँदो हो। डोल्पा जसरी हिउँ छ यार्सागुम्बा छ एक दिन हराउँदा हराउँदै हिउँहरूसँगै कहीं कतै हराए भने यार्चागुम्बा कसरी चल्दो हो जीवन फेरि डोल्पामा। जिन्दगी एक मुठी आशाको किरण न हो सायद त्यही आशाले गर्दा नै त मुस्कुराउँदो होला डोल्पा। कामना गरें सधैं त्यसै गरी मुस्कुराइरहोस् डोल्पा प्रिय डोल्पो बनेर एक नवजात शिशु आमाको काखमा मुस्कुराएझैं।

लेखकसँगै किताबमार्फत् प्रिय डोल्पो तिमीलाई महसुस गर्दा सुनको बटुकामा सजिएर बसेकी तिमीभित्र प्राकृतिक सौन्दर्य र सम्भावना हुँदा हुँदै पनि तिमीले भोगिरहेका अभाव, कष्ट, फरक संस्कृति अनि परिवेश सबैसबै महसुस गरेपछि यतिखेर तिमीसँग कुनै दिन साक्षात्कार भएर तिमीलाई महसुस गर्ने चाह भने निकै नै बढेको छ।

डा.दामोदर पुडासैनी किशोरको यति मोटो पुस्तक डोल्पो! ओ डोल्पो!! पढ्दा कतै पनि अल्छी लागेन। डोल्पो! डोल्पो!! पढ्दा कतै मानव दर्शनका विविध पाटामा गहिरिए जस्तो, कतै हिमाल मात्र होइन संसारका विविध छटा, सम्भावना र सौन्दर्यको लाभ लिइरहे जस्तो, कतै वैज्ञानिक चिन्तन र विज्ञानकाे चमत्कारलाई आत्मसात् गर्न उत्प्रेरित गरेको महसुस हुन्छ।

डा. पुडासैनी अन्धविश्वास, भ्रष्टाचार र धर्मको नाममा भइरेका शोषणलाई प्रमाण सहित नंग्याइदिनुभएको छ र वैज्ञानिक समतामूलक समाज स्थापनाका बाटाहरू सुझाउनुभएको छ। वास्तवमा लेखक हुनु त डा. दामोदर पुडासैनी किशोर जस्तो हरेक विषयको गहिरो ज्ञान, वैज्ञानिक दर्शनहरूलाई निडरतापूर्क प्रष्ट्याउन सक्ने र अन्धविश्वास, विकृति र विसंगतिविरुद्ध निर्भीकतापूर्वक वकालत गरेर मान्छेलाई सबल र सक्षम मान्छे बनाउने सिर्जना पस्कन सक्ने।

कति सुन्दर छ डोल्पो ओ डोल्पोको लेखन शैली र कति शक्तिशाली  छन् डोल्पो ओ डोल्पोका विषयवस्तुहरू। धेरै शक्तिशाली लेखन क्षमता भएका लेखकबाट डोल्पो! ओ डोल्पो!! जस्तो कृति जन्मन सक्छ। यसका लागि कुन शब्द र कुन मनले प्रशंसा गरूँ म प्रिय लेखकको। जति गरे पनि कमै हुन्छ। नियात्रामा बहुविधा मिसिएको उत्कृष्ट कृति हो डोल्पो! ओ डोल्पो! यसले पाठकलाई मन्त्रमुग्ध पार्छ र बौद्घिक खुराकको वर्षा गराउँछ।

प्रकाशित: ८ श्रावण २०८० ०७:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App