भारतको कोलकातामा आदिकवि भानुभक्त आचार्यको दुई सय दशौं जन्मजयन्तीका अवसरमा त्यहाँका नेपालीभाषीले शनिबार विशेष कार्यक्रम आयोजना गरेका छन्।
नेपाली जनकल्याण समितिको आयोजनामा पश्चिम बंगालको हावडास्थित सरत सदनमा भएको कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राई प्रमुख अतिथि र पश्चिम बंगाल सरकारका सहकारीमन्त्री अरुप राय विशेष अतिथिका रूपमा उपस्थित रहेका थिए।
कुलपति राईले आफूले सानो छँदा कथाका रूपमा सुनेको कोलकातामा भानुभक्तको यस प्रकारको महत्त्व र गतिविधि देखेर खुसी लागेको बताए।
उनले प्रज्ञाप्रतिष्ठानले आगामी दिनमा यस्ता कार्यक्रममा सहकार्य विस्तार गरी नेपाली रहेका स्थानमा नेपालको साहित्यप्रतिको रुचिबारे समाजशास्त्रीय अध्ययनमा ध्यान दिने बताए।
प्रदेश मन्त्री रायले भानुभक्तका नाममा हावडामा सडकमार्ग नामकरणको निर्णय भइसकेको र भानुभक्तको प्रतिमा निर्माणका लागि पनि सघाउन तयार रहेको बताए।
भानुभक्तको तस्वीरमा श्रद्धाञ्जलि दिएर सुरु भएको कार्यक्रममा प्राज्ञ परिषद् सदस्य डा. मधुसुदन गिरी,नेपाली महावाणिज्य दूतावासका उपमहावाणिज्यदूत कर्णप्रसाद तिमल्सिना, जनकल्याण समितिका प्रमुख सल्लाहकार धर्मराज बराल, प्राध्यापक डा. सत्यप्रकाश तिवारी, प्रवासी नेपाली संघ भारतका अध्यक्ष नारायणप्रसाद होमागाई लगायतले आदिकविको व्यक्तित्व र कृतित्व देश-विदेशमा रहेका नेपालीमाझ फैलिएको र आदिकविका कारण नेपालीबीच साहित्यिक एकताको मार्ग बनेको उल्लेख गरेका थिए।
सो अवसरमा साहित्यका योगदानका लागि कुलपति राईलाई समितिले अभिनन्दन गरेको थियो भने समितिको प्रकाशन ‘बिहानी’को चौबीसौं अंकको विमोचन गरिएको थियो। कविहरू- धर्मराज बराल, मोहनकुमार सिंह, सञ्जीव गुरुङ, रामबहादुर कार्की लगायतले भानुभक्तको रामायणसहित आफ्ना रचना वाचन गरेका थिए। पछिल्लो समयमा बरालले नेपाली र कोलकाताका साहित्यकारबीच सेतुको कार्य गर्दै आएका छन्।
समितिका सभापति बद्रीविक्रम थापाले लामो समयदेखि विभिन्न सेवा र व्यवसाय गर्दै आएका नेपालीभाषीहरूको सहयोग र समन्वय भानुभक्त जयन्ती र अन्य मानवीय सहयोगका कार्यक्रम हुँदै आएको बताए।
राष्ट्रिय विभूति भानुभक्तको जन्मदिन हरेक असार २९ गते परे पनि साताव्यापी जयन्ती मनाइन्छ।
शनिबार रातिसम्म चलेको कार्यक्रममा युवा र विद्यार्थीहरूले नेपाली र हिन्दी गीतमा मनमोहक सांस्कृतिक नृत्य र प्रस्तुति गरेका थिए।
प्रकाशित: ७ श्रावण २०८० ०३:४३ आइतबार