२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

द्वारिकादेवीलाई पुनर्जीवन दिने हुटहुटी

व्यक्तित्व

धेरैका लागि अपरिचित हुँदै गएको र धेरैले बिर्संदै गएको नाम हो, द्वारिकादेवी ठकुरानी। नेपाली राजनीतिक वृत्तमा ठकुरानीको नाम अहिले धमिलो हुँदै गएको जानकारहरू अनुभूति गर्छन्। ठकुरानीको नाममा स्थापित इतिहास भने कहिल्यै मेटिने छैन। नेपाली राजनीतिक इतिहासमा उनको नाम स्वर्णिम अक्षरले लेखिइसकेको छ। जसलाई कोहीकसैले मेट्न सक्दैन। कारण, उनको परिचयसँग नेपाली राजनीतिक इतिहासमा पहिलो महिला मन्त्रीको पहिचान जोडिएको छ।

को हुन् ठकुरानी?

नेपालको पहिलो जननिर्वाचित सरकारका प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले २०१६ जेठ १३ गते ठकुरानीलाई आफ्नो सरकारमा उपमन्त्री नियुक्त गरेका थिए। यसरी नेपालको सरकारमा पहिलोपटक महिला मन्त्री बन्ने सौभाग्य ठकुरानीलाई जुरेको थियो।

ठकुरानी त्यसरी मन्त्री नियुक्त हुँदा कुनै सामान्य महिला भने थिइनन्। उनी संघर्षबाट स्थापित महिला नेतृ थिइन्। प्रजातन्त्र प्राप्तिका लागि उनले गरेको संघर्ष कुनै पुरुष नेताभन्दा कम नरहेको जानकारहरू बताउँछन्।

डोटीको दानकोट गर्खाको जैनोली गाउँ (हालको शिखर नगरपालिका-९, डोटी)का वामदेव पन्त राणा शासनकालमा खरिदार थिए। उनै पन्त र आमा राधादेवीको सन्तानका रूपमा १९७४ मा डोटीको सिलगढीमा ठकुरानीको जन्म भएको थियो। उतिबेला बुबा वामदेव सिलगढी गौंडामा कार्यरत थिए।

नेपालको पहिलो जननिर्वाचित सरकारका प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले २०१६ जेठ १३ गते ठकुरानीलाई आफ्नो सरकारमा उपमन्त्री नियुक्त गरेका थिए। यसरी नेपालको सरकारमा पहिलोपटक महिला मन्त्री बन्ने सौभाग्य ठकुरानीलाई जुरेको थियो।

राणा शासनकालका प्रशासकको घरमा जन्म भए पनि ठकुरानी र उनका सौतेला भाइ शिवराज पन्त प्रजातन्त्रवादी भएर निस्किए। भारतमा अध्ययनका क्रममा उनीहरू दुवैले बिपी कोइरालाबाट नेपाली कांग्रेसको सदस्यता लिएका थिए।

भारत अध्ययनकै क्रममा बैतडीका उद्धवबहादुर चन्दसँग ठकुरानीको निकटता बढ्यो। चन्द त्यस बेला सुदूरपश्चिममा समाजसेवा र कांग्रेसको राजनीतिमा सक्रिय थिए। यसै क्रममा चन्द र ठकुरानीले विवाह गरेका थिए। ब्राह्मणकी छोरी भए पनि चन्द ठकुरीसँग विवाह गरेकै कारण उनको थर ठकुरानी जोडिएर परिचय कायम भएको हो।

यसै क्रममा दुवैजनाले प्रजातान्त्रिक आन्दोलनमा पनि आफ्नो भूमिका निर्वाह गरेका थिए। २००७ सालको क्रान्तिका बेला आन्दोलनमा सहभागी भएकै कारण ठकुरानी ३२ दिनसम्म जेल परेकी थिइन्। यस्तै पश्चिमी क्षेत्रमा मुक्ति सेनालाई हातहतियारको व्यवस्थापन गर्ने कार्यमा पनि ठकुरानीको भूमिका थियो।

सुरुवाती कालमा श्रीमान्को राजनीतिक सहयोगीका रूपमा भूमिका निर्वाह गर्दै आएकी ठकुरानीलाई २०१४ सालमा श्रीमान्को हृदयाघातका कारण निधन भएपछि भने सम्पूर्ण दायित्व काँधमा आइलाग्यो। पहिले दुवैले सम्हाल्दै आएका सम्पूर्ण सामाजिक, राजनीतिक आदि कामका दायित्व त्यसपछि भने ठकुरानीले पूरा गर्नुपर्ने भयो। जसमा उनी खरो रूपमा लागिरहिन्।

सुरुवाती कालमा श्रीमान्को राजनीतिक सहयोगीका रूपमा भूमिका निर्वाह गर्दै आएकी ठकुरानीलाई २०१४ सालमा श्रीमान्को हृदयाघातका कारण निधन भएपछि भने सम्पूर्ण दायित्व काँधमा आइलाग्यो।

यसै क्रममा २०१४ सालमै नेपाली कांग्रेसका अग्रणी नेता एनडी प्रकाश चटौतको हवाइजहाज दुर्घटनामा मृत्यु भयो। त्यसपछि बैतडी र डडेलधुरा कांग्रेसको जिम्मेवारी नै ठकुरानीको काँधमा पुग्यो।

सोही क्रममा २०१५ सालको पहिलो आम निर्वाचनमा कांग्रेसले क्षेत्र नं. ६६ (बैतडीको आधा क्षेत्र र डडेलधुरा समेटिएको) बाट ठकुरानीलाई उम्मेदवार बनायो। जसमा उनी निर्वाचित भएर आइन्। निर्वाचनका बेला विरोधी पार्टी र उम्मेदवारले ‘पेटीकोटलाई भोट नदेऊ’ भनेर होच्याउने किसिमका नारासमेत लगाएका थिए।

निर्वाचित भएर आएपछि तत्कालीन प्रधानमन्त्री कोइरालाले २०१६ जेठ १३ गते उपमन्त्री र २०१६ असार १८ गते मन्त्रीमण्डल पुनर्गठन गर्दा स्वास्थ्य तथा स्थानीय स्वायत्त शासन सहायकमन्त्री बनाएका थिए। ठकुरानीसँगै मन्त्रीमण्डलमा उनका भाइ शिवराज पन्त पनि मन्त्री बनेका थिए।

यसै क्रममा तत्कालीन राजा महेन्द्रले २०१७ पुस १ गतेको ‘कु’ गरेर पञ्चायती व्यवस्था लागु गर्दा ठकुरानीलाई पनि जेल हालेका थिए। तर, पुस ८ गते रिहा भएर उनी कलकत्ता पुगिन्। जहाँ विघटित प्रजातान्त्रिक सरकारका उपप्रधानमन्त्री सुवर्ण शमशेर जबरालाई भेटेर ठकुरानीले पञ्चायतविरुद्ध कांग्रेसले चलाएको सशस्त्र संघर्षमा सामेल भएकी थिइन्।

आठ वर्ष प्रवासमा बिताएर २०२५ सालमा नेपाल फर्केकी थिइन्। स्वदेश फिर्ता पछि २०३६ सालको जनमत संग्रहका बेला ठकुरानीको सक्रियतामा बहुदलको प्रचारप्रसारको सिलसिलामा तमाम झडप भएका थिए। भडपका क्रममा चलेको गोलीको आवाजबाट ठकुरानीको कानको जाली फुटेको थियो।

२०४६ को आन्दोलनमा ठकुरानीलाई तत्कालीन पञ्चायत सरकारले आफ्नै घरमा नजरबन्दमा राखेको थियो। बहुदलपछि २०४८ सालमा आम निर्वाचन शारीरिक कमजोरीका कारण ठकुरानी चुनाव लड्न नसक्ने भएकी थिइन्।

आठ वर्ष प्रवासमा बिताएर २०२५ सालमा नेपाल फर्केकी थिइन्। स्वदेश फिर्ता पछि २०३६ सालको जनमत संग्रहका बेला ठकुरानीको सक्रियतामा बहुदलको प्रचारप्रसारको सिलसिलामा तमाम झडप भएका थिए।

ठकुरानीले जीवनको उत्तराद्र्धमा भने कैलालीमा बिताइन्। २०५९ मंसिर २४ गते उनको निधन  भएको थियो।

यसरी नेपाली राजनीतिक इतिहासमा पहिलो महिला मन्त्री हुने सौभाग्य पाएकी ठकुरानीले जीवन संघर्षका क्रममा सधैं क्रान्ति, लोकतन्त्र, समावेशी र नागरिक अधिकारका लागि संघर्ष गरिरहिन्।

पछिल्लो समय समाज तथा राज्यको मूलधारमा महिलाको उपस्थिति बढ्दै गर्दा त्यसका लागि आधा शताब्दी अघि नै संघर्ष गरेकी ठकुरानीको नाम भने धमिलो देखिएको अवस्था छ।

जन्मस्थानमै पुनर्जीवनको सपना

यस्तो अमेट इतिहास स्थापित गरे पनि ठकुरानीलाई पछिल्लो राजनीतिक पुस्तामा कमै मात्र स्मरण गर्न थालेको सत्य हो। यही सत्यका बीच पछिल्लो समय उनको नामलाई पुनर्जीवन दिँदै चिरकालसम्म जीवन्त राख्न अभियान थालिएको छ।

ठकुरानीको जन्मस्थान डोटीको शिखर नगरपालिकाकी सामाजिक एवं राजनीतिक अगुवा प्रतिमा शाहीले नेतृत्व गरी ‘द्वारिकादेवी ठकुरानी ट्रस्ट’ स्थापना गरेकी छन्। शाही संस्थाका अध्यक्ष छन्। उनको अगुवाइमा डोटीकै महिलाहरूले ट्रस्टलाई संस्थागत गर्दै सामाजिक अभियानका क्रियाकलापहरू सञ्चालन गर्न थालेका छन्।

ट्रस्टबाटै महिला एवं बालबालिकाको हकहित तथा सुरक्षा, उनीहरूको जीवनस्तर उकास्ने किसिमका गतिविधिका साथै लोकतन्त्र, समानता तथा समावेशिताका सवालहरूमा बहस र पैरवी गर्नेगरी क्रियाकलापहरू चलाइँदै छन्।

‘यो माटोको सौभाग्य हो, जहाँ द्वारिकादेवी ठकुरानीले जन्म लिनुभयो। त्यो सौभाग्य हामीले नै बिर्सिएका हौं कि जस्तो भयो,’ द्वारिकादेवी ठकुरानी ट्रस्टकी अध्यक्ष शाहीले भनिन्, ‘त्यही भएर उहाँको नाम र सपनालाई मर्न दिनुहुन्न भनेर हामीले अभियान चलाइरहेका छौं।’ ट्रस्टको मुख्य उद्देश्य नै ठकुरानीको नामको पुनर्जीवन र उनका सपनाहरू साकार पार्ने गतिविधि सञ्चालन गर्नु रहेको उनले बताइन्।

उनले भनिन्, ‘अरू केही होइन। उहाँ (ठकुरानी)को नाम बाँच्नुपर्छ। भोलि आउने पुस्ताले पनि चिन्नुपर्छ। उहाँको संघर्ष र सपनालाई प्रेरणाका रूपमा लिनुपर्छ भन्ने नै हो। यस्तै सकेसम्म उहाँले देखेका सपनालाई पूरा गराउने क्रियाकलाप चलाउने हो।’

ठकुरानीको जन्मस्थान डोटीको शिखर नगरपालिकाकी सामाजिक एवं राजनीतिक अगुवा प्रतिमा शाहीले नेतृत्व गरी ‘द्वारिकादेवी ठकुरानी ट्रस्ट’ स्थापना गरेकी छन्।

ट्रस्टले विशेषगरी बालिका शिक्षा, महिला सशक्तीकरण तथा जीविकोपार्जन, महिलामा नेतृत्व विकासका कार्यक्रम, समावेशी र समानतामूलक समाज निर्माणको अभियान लगायतका गतिविधि चलाइरहेको छ। जसमा हालसम्म कुनै ठुला दाताको सहयोग भने नजुटेको शाही बताउँछिन्।

‘कुनै ठुला दाताको पैसा हामीले लिएका छैनौं। अहिले सुरुवाती चरण नै हो। त्यसैले आफ्नै साथी सर्कल, स्थानीय सरकार, नेपालकै कम्पनी र संघसंस्थाहरूले गर्ने सहयोगलाई लिएर काम गरिरहेका छौं,’ शाहीले भनिन्।

भवन र संग्रहालय

शाहीकै अगुवाइमा शिखर नगरपालिका-२ स्थित कालागाड बजारमा द्वारिकादेवी ठकुरानी ट्रस्ट भवन बनिरहेको छ। जसका लागि चाहिने दुई रोपनी जग्गा शाही आफैंले दान गरेकी छन्। सोही जग्गामा अहिले भवन बन्न सुरु भएको छ।

हालसम्म भवनका लागि स्थानीय सरकारहरूले रकम दिएका छन्। भवन पूरा हुन अझैं ठुलो सहयोगको आवश्यकता रहेको शाही बताउँछिन्।

भवनमा ठकुरानीकै नाममा संग्रहालयका साथै बेसहारा, असहाय, अनाथ बालिका, महिला तथा वृद्धाहरूका लागि आश्रय गृहसम्मको अवधारणा राखिएको अध्यक्ष शाहीले बताइन्। ‘यो भवनलाई हामीले बहुद्देश्यीय रूपमा काम लाग्नेगरी तयार पार्न खोजेका छौं,’ उनले भनिन्, ‘अहिले पनि सुदूरपश्चिमका पहाडमा तमाम महिलाहरू बेसहारा र असहाय छन्। तमाम बालिकाहरू टुहुरा छन्। उनीहरूलाई आश्रय दिनेदेखि लिएर अन्यायमा परेका, हिंसामा परेका महिलाहरूका लागि आश्रय थलोसम्म बनाउने हाम्रो योजना हो।’

भवनमा ठकुरानीकै नाममा संग्रहालयका साथै बेसहारा, असहाय, अनाथ बालिका, महिला तथा वृद्धाहरूका लागि आश्रय गृहसम्मको अवधारणा राखिएको अध्यक्ष शाहीले बताइन्।

भविष्यमा जमिनको थप आवश्यकता पर्न सक्ने अवस्थाका लागि पनि शाहीले थप तीन रोपनी जग्गा दान गर्ने योजना बनाएकी छन्। ‘अब काम सुरु गरेका छौं। यो मेरो एक्लो वा हाम्रो समूहको दायित्व मात्र नभई सिङ्गो जिल्ला, प्रदेश र राज्यकै दायित्व हो। आवश्यकताअनुसार सहयोग जुटे स्थानीयस्तरमा जग्गाको समस्या हुन्न,’ शाहीले भनिन्।  

प्रकाशित: १३ जेष्ठ २०८० ०४:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App