२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

पर्यावरण अपराधी मुलुक पुग्दा

नियात्रा

पर्यावरणीय समस्या र पर्यावरण अपराधका प्रश्न बोकेर म गेटविक विमानस्थलको अध्यागमन पार गर्दै थिएँ, विश्व भुटानी साहित्य संगठनको निमन्त्रणामा अमेरिका भ्रमणका लागि। एउटा साहित्य सम्मेलन आयोजना गरिँदै थियो। मैले पर्यावरण साहित्यका बारेमा बोल्नु थियो।

अमेरिकाले हतियार उत्पादन गर्छ र अन्य देशलाई बिक्री गरेर युद्ध मच्चाउँछ। आफै पनि प्रत्यक्ष अप्रत्यक्ष युद्धमा सामेल भइआएको छ। युक्रेनमा रसियाविरुद्धको युद्धमा हातहतियार दिएर अप्रत्यक्ष रूपमा सामेल भइरहेको छ। पश्चिमाहरू रसियालाई युद्ध अपराधीको आरोप लगाइरहन्छन्। अमेरिका पनि युद्ध अपराधी ठहरिन सक्छ। म त अझ के भन्छु भने अमेरिका पर्यावरण अपराधी पनि हो। झमक्क साँझ परिसकेको थियो, विमानले भुइँ छोड्यो तर मेरो मस्तिष्कमा युद्ध, पर्यावरण र अपराधका वैचारिक तरंग विस्फोट हुन छाडेनन्।

पर्यावरणीय समस्या र पर्यावरण अपराधका प्रश्न बोकेर म गेटविक विमानस्थलको अध्यागमन पार गर्दै थिएँ, विश्व भुटानी साहित्य संगठनको निमन्त्रणामा अमेरिका भ्रमणका लागि।

एकैछिनपछि परिचारिकाले पेय पदार्थ बाँडिन्। एक गिलास वाइनको मातले क्लाइमेट एक्टिभिस्ट ग्रेथा थुनवर्गको याद दिलायो। सन् २०२१ मा ग्लास्गोमा कोप २६ सम्पन्न भएको थियो। त्यसमा उनले विश्व नेताहरूलाई इङ्गित गर्दै ‘तिम्रो गत ३० वर्ष ब्ला... ब्ला... ब्ला... मै बितेको छ। जलवायु परिवर्तन न्यूनीकरणका लागि खासै प्रभावकारी नीति ल्याएर कार्यान्वयन गर्न सकेका छैनौं,’ भनेकी थिइन्। उनको त्यो चेतावनीपूर्ण भनाइलाई सम्झँदै त्यतिखेर हामी आन्ध्र महासागरमाथि उड्दै थियौं। कतै बर्मुदा ट्राएङ्लले विमानलाई स्वाप्पै तान्छ कि भन्ने त्रासदीका साथ।

अमेरिकाले हतियार उत्पादन गर्छ र अन्य देशलाई बिक्री गरेर युद्ध मच्चाउँछ। आफै पनि प्रत्यक्ष अप्रत्यक्ष युद्धमा सामेल भइआएको छ।

अमेरिकालाई धेरै कारणले युद्ध अपराधी मान्न सकिन्छ। त्यसैगरी उसलाई पर्यावरण अपराधी पनि मान्न सकिने अनेक प्रमाण थिए मसँग। यिनै कुरालाई मथिङ्गलमा खेलाउँदै उडेको ७ घण्टापछि न्युयोर्कमा अवतरण गरें।

कोभिड महामारी भरखर मत्थर हुँदै थियो। विमानभित्र मास्क लगाउन परेन। अध्यागमनमा छिर्नासाथ मास्क लगाउनुपर्ने भयो अनि अपराधीलाई जस्तो मेसिनले अनुहारको फोटो खिच्यो र औंला छापको प्रिन्ट लियो। ढोकाको फ्रेमजत्रो एक्सरे मेसिनभित्र यो शरीरलाई छिराएँ। विदेशबाट आउने सबैलाई आत्मघाती हमलाकारीसरह खानतलास लिइँदो रहेछ। डोनाल्ड ट्रम्पको राष्ट्रपतीय कालमा पाँच मुस्लिम मुलुकलाई अमेरिका भ्रमणमा प्रतिबन्ध लगाइएको थियो। ‘बरु, म ती देशका नागरिक त परिनँ नि !’ भनेर चित्त बुझाउँदै ट्याक्सी लिएर होटेलतिर लागें। ट्याक्सी ड्राइभर भारतीय मूलको थियो। उसले मिटरमा ल्याएन। बढाएर भाडा माग्यो। न्युयोर्कजस्तो आधुनिक सहरमा यसरी ठगिँदा काठमाडाैंका ट्याक्सी ड्राइभरसँग बार्गेनिङ गरेको तितो सम्झना आयो।

अर्को दिन मेट्रो समातेर टाइम्स स्क्वाएतिर बरालिएँ। अमेरिकाका स्ट्रिट र स्कुलमा बन्दुकधारीले गोली चलाएको खबर बेलाबेलामा सुन्नमा आइरहन्थ्यो। त्यस्तो दुर्घटना कतै भोग्न नपरोस् भनेर प्रभुको नाम जप्दै झिलिमिली सपिङ सेन्टर चहार्दै हिँडें। कथङ्कदाचित् त्यस्तो भइहाले यात्रा बिमा छँदै छ भनेर चित्त बुझाउने प्रयास गरें।

हिँड्दाहिँड्दै एकैछिनमा रकरफेलर नामको भव्य सपिङ मलमा ठोक्किन पुगेछु। त्यहीं एक थाई रेस्टुरेन्टमा लन्च खान छिरें। ६ प्रतिशत टिप्ससँग लन्चको बिल तिर्नुपर्दा अलि आश्चर्यमा परें। फेरि ठगिएँजस्तो लाग्यो। यसको रिस कसरी फेरुँजस्तो लागिरहेको थियो। अनि त नजिकैको ट्रम्प टावर जानै मन लागेन। आफूले भएभरको कार्बन उत्सर्जन गराएर हाम्रो देशको हिमाल पगाल्ने देशमा पुगेको थिएँ। यस्तो वातावरण अपराधी देशको भ्रमण मजस्ता क्लाइमेट एक्टिभिस्टले बहिष्करण गर्नुपर्ने होइन ? यही प्रश्न तेर्साउँदै त्यसपछि सेन्ट्रल पार्कतिर लागें।

अर्को दिन मेट्रो समातेर टाइम्स स्क्वाएतिर बरालिएँ। अमेरिकाका स्ट्रिट र स्कुलमा बन्दुकधारीले गोली चलाएको खबर बेलाबेलामा सुन्नमा आइरहन्थ्यो।

यो पार्क करिब ४ किलोमिटर लामो १ किलोमिटर चौडा रहेछ। सहरभित्रका यस्ता हरिया पार्कले सहरवासीका लागि फोक्सोको काम गर्छन्। हरिया रुख, सुन्दर फूल र कार्पेट बिछ्याइएको जस्तो दुबो एक दक्ष आर्टिस्टले पेन्ट गरेको चित्रकलाजस्तो लाग्यो। रुख, स्मारक, मूर्ति, बगैंचा र कुण्डहरू सबैको तल सानो पाटीमा परिचयात्मक विवरण लेखिएका थिए। यो देख्दा एक खुला संग्रहालयमा घुमेको जस्तो अनभूति भयो।

ठाउँठाउँमा थपक्क बसेका कछुवा जस्ता देखिने फलामे रंगका अग्नीय चट्टानहरू। तिनलाई देखेर न्युयोर्कको भूगोल भोल्कानिक गतिविधिले सिर्जना भएको रहेछ भन्ने कुरा सजिलै अनुमान लगाउन सकिन्थ्यो। २५ डिग्रीको न्यानो तापक्रममा म रापिएँ।

क्यालिफोर्नियाको वनमा लागेको डढेलो यता चाहिँ नसल्कियोस् है भन्ने त्रास पनि यो मनमा नजागेको होइन। दुई घन्टाको हिँडाइ पश्चात थकाइ मार्न बोतलको पानी पिउँदै चौरमा बसें। थकाइको सुस्केरासँगै पुनः वातावरण अमैत्री ट्रम्पले गरेका गतिविधिको सम्झना आयो। राष्ट्रपति हुनासाथ जलवायु परिवर्तनलाई न्यून गर्ने पेरिस महासन्धिबाट अमेरिकालाई बाहिर्‍याएका थिए। वातावरण कानुनलाई कार्यान्वयन गराउने एन्भायरोमेन्ट प्रोटेक्सन एजेन्सीको बजेट ३१ प्रतिशतले कटौती गरिदिए। खानीबाट कोइला उत्खनन् गर्ने उद्योगलाई प्रवर्धन गरे। जब कि कोइला जलाएर ऊर्जाका रूपमा प्रयोग गर्दा यसले अत्यधिक कार्बन उत्सर्जन गराउँछ। त्यही कार्बन ग्यास नै जलवायु परिवर्तनको मुख्य कारक हो।

हाम्रो पहाडघरतिर डाँडामाथि बस्छ घाम र साँझ पर्न लागेको संकेत दिन्छ। न्युयोर्कमा डाँडाजस्तै अग्ला घरमाथि बस्यो घाम। अनि ट्रम्प, अमेरिका र जलवायु परिवर्तनका विचार मस्तिष्कमा उत्सर्जन गराउँदै होटेलको बाटो समातें।

क्यालिफोर्नियाको वनमा लागेको डढेलो यता चाहिँ नसल्कियोस् है भन्ने त्रास पनि यो मनमा नजागेको होइन। दुई घन्टाको हिँडाइ पश्चात थकाइ मार्न बोतलको पानी पिउँदै चौरमा बसें।

विश्वकै सर्वाधिक कार्बन उत्सर्जन गरेर तापमान वृद्धि गराउने पहिलो भूगोलको नाम हो अमेरिका। त्यसर्थ अमेरिका पर्यावरण अपराधी हो। युद्ध अपराधीलाई छानबिन गर्ने अदालत हेगमा छ। अब वातावरण प्रदूषक अपराधीलाई तह लगाउने अदालत पनि स्थापना गरिनुपर्छ र अमेरिकालाई त्यो अदालतमा उभ्याइनुपर्छ भन्ने ठान्दै तेस्रो दिन वल्र्ड ट्रेड सेन्टरतिर हानिएँ।

११ सेप्टम्बर २००१ का दिन हवाईजहाज ठोक्काएर वर्ल्ड ट्रेड सेन्टरलाई ध्वस्त पारिएको थियो। ती भवनको जगमा अहिले कम्मर-कम्मर आउने पर्खाल निर्माण गरिएको रहेछ। उक्त घटनामा दिवंगत भएका करिब तीन हजार व्यक्तिहरूको नाम खोपिएको छ त्यो पर्खालभरि। पर्खालको भित्री भागबाट पानीको झरना सरर गरेर तल पातालतिर बिलाउँदो रहेछ। त्यो दृश्य देखेर श्रद्धाका मेरा केही थोपा आँसु त्यसै झरनामा झरेर विलीन भएर गए।

त्यो भव्य स्मारकको छेउको एउटा ‘सर्भाइबल ट्री’ नामको वृक्षले मलाई आकर्षित तुल्यायो। वल्र्ड ट्रेड सेन्टर आक्रमणको दिन बगैंचाका अन्य रुखहरू ध्वस्त भएछन्। त्यो एउटा रुख मात्रै घायल सैनिक सरह उभिइरहेको रहेछ। अग्नि नियन्त्रकले उद्धार गरेर एक नर्सरीमा लगेछन्। आशाको प्रतीक मानिएको त्यो रुख पूर्ण रूपमा पलाएपछि पुनः बगैंचामा ल्याएर रोपिएको रहेछ।

एक माइलभन्दा पनि लामा, सर्लक्कका, चिल्ला अनि चौडा न चौडा स्ट्रिट। तिनै स्ट्रिटबाट आकाशतिर तिनिक्क तन्केका सुन्दर अग्ला भवनहरू। स्ट्रिटमा सलल बग्ने ध्वनिबेगरजस्ता लाग्ने चिल्ला गाडी। लन्डन र काठमाडौंभन्दा ध्वनि प्रदूषण कम थियो क्यारे त्यहाँ, यद्यपि गाडी आकारमा ठुल्ठुला थिए। सफा इन्धन, इन्जिनको राम्रो मर्मतसम्भार र फराकिला सडक त्यसको कारण हुनसक्थे।

गुणस्तरीय पेट्रोल र डिजलले इन्जिनमा त्यति आवाज निकाल्दैनथे। त्यही भएर काठमाडौंको पुतलीसडक र हङकङको चिम्साचुइजस्तो घाइँघुइँ केही सामना गर्न परेन तर बेलाबेलाको पुलिस र एम्बुलेन्सको कर्णछेदन साइरनले भने झसङ्गै तर्साउने गर्थे। न्युयोर्क त्रासै त्रासको सुन्दर नगर लाग्यो।

फराकिला सडक पेटीमा भेटिन्थे छवटै महादेशका यात्री। सातौं महादेश अन्टार्कटिकाको पेंगुइन मात्रै देखिनँ। न देखें विश्वको नम्बर वान प्रदूषक अमेरिकाको आँगन प्रदूषित, न काठमाडाैंका सडकमा झैं फुटेका ढल र फोहोरका पहाड भेटें, न वाग्मतीजस्तो हडसन नदी ढलको दुर्गन्धले गन्हायो। बरु डुँगा चढेर लिबर्टी स्टाच्युतिर लाग्दा हडसन यति सफा देखियो कि हाम फालेर पौडी खेलौंजस्तो लाग्यो। यी आँखाले काठमाडाैं जस्तो न त तुवाँलो देख्नपर्‍यो, न यी पाइतालाले धुलो टेक्न पर्‍यो। जमिन र जलको भाग एकै मिटरले छुट्याएको पाउँदा कट्रिनाजस्तो सामुद्रिक आँधी चाहिँ त्यतिबेला नआइदिए हुने भन्ने लागेको थियो।

म अमेरिका पुगेको चौथो दिन हेरिसवर्गमा साहित्यिक कार्यक्रम प्रारम्भ भयो। भुटानी साहित्य संगठनले उठाएको एक विषय हो ‘स्वीकारोक्ति’। यो लोकमा वनस्पति, प्राणी अनि मानिस सबै वर्गको अस्तित्वलाई स्विकारियो भने शान्ति छाउँछ भन्ने यसको मूल उद्देश्य भएको मेरो बुझाइ छ। यसै अभियानलाई प्रवर्धन गर्ने उद्देश्यले उद्घाटन समारोहमा प्रायः सबैजना हरियो पहिरनमा उपस्थित थिए। हरियै टीका लगाइदिएर अतिथिलाई स्वागत गरिएको थियो। यस्तो माहोलले म कुनै अर्थ समिटमा त सहभागी छैन भन्ने भान भइरहेको थियो।

एक माइलभन्दा पनि लामा, सर्लक्कका, चिल्ला अनि चौडा न चौडा स्ट्रिट। तिनै स्ट्रिटबाट आकाशतिर तिनिक्क तन्केका सुन्दर अग्ला भवनहरू। स्ट्रिटमा सलल बग्ने ध्वनिबेगरजस्ता लाग्ने चिल्ला गाडी।

कार्यक्रममा लोकप्रिय कवि नवराज पराजुलीसँग भेट भयो। नवराजले जस्तै मैले पनि ‘मलाई एउटी छोरी चाहिएको छ’ शीर्षकको इको कविता नहेरी वाचन गरें। मलाई त्यति छोटो कविता पहिलोपल्ट नहेरी वाचन गर्न गाह्रो भएको थियो। नवराजले कथाजस्ता लामा कविता नहेरी कसरी वाचन गर्दा हुन्? उनले ‘अब म पनि केही पर्या कविता लेखेर वाचन गर्नेछु हितानजी’ भनेर मलाई वाचा पनि गरे। उनलाई पर्‍या कविताको छाप पार्न सफल भएकोमा मेरो अमेरिका भ्रमण सार्थक भएको महसुस गरें।

अमेरिकाले वर्षेनि ५ बिलियन मेट्रिक टनभन्दा बढी हरित गृह ग्यास उत्सर्जन गर्छ। यही ग्यास नै हाम्रो हिमाल पग्लिनु र हिमताल फुटेर बाढी निम्त्याउनुको प्रमुख कारण हो। के यो अमेरिकाको आतंककारी क्रियाकलाप होइन? त्यस्तो पर्यावरण अपराधी देशमा म किन एक पर्यटक भएर डुल्दै थिएँ? भनेर पश्चातापले मलाई पोल्दै थियो।

त्यति मात्रै कहाँ हो र, बेलायतबाट ३,५०० माइल दुरीको हवाई यात्रा गरेर त्यहाँ पुगेका थियौं। जाँदाआउँदा मेरो हजार किलोभन्दा बढी कार्बन उत्सर्जन भएको हुनसक्थ्यो। मेरो कार्बन फुटप्रिन्ट यो वर्ष ह्वात्तै बढेर जाने भो भनी चिन्तित बन्दै गोष्ठीमा सहभागी साथीहरूका प्रस्तुति सुन्दै बसेको थिएँ।

त्यो मेरो पर्या साहित्यसम्बन्धी प्रवचनले अत्यधिक कार्बन उत्सर्जनको उचित सम्बोधन गरेन कि भन्ने मलाई लागेको छ। ‘पर्या साहित्यको महत्व र यसको सामाजिक प्रभाव’ विषयमा थियो मेरो प्रवचन। त्यसपछि डेढ घण्टा प्यानल छलफल चल्यो। प्यानलिस्टमा थियौं-सिक्किमका पूर्व मुख्यमन्त्री पवन चामलिङ, प्रा.डा. गोविन्दराज भट्टराई, डेन्जोम साम्पाङ र म। अनि प्यानलको सहजकर्ता प्रदीप परियार थापा। प्यानल डिसकसनका बेला पवन चाम्लिङले सिक्किममा आफूले गरेको वातावरणीय संरक्षणका कुरा सुनाए।

कार्यक्रममा लोकप्रिय कवि नवराज पराजुलीसँग भेट भयो। नवराजले जस्तै मैले पनि ‘मलाई एउटी छोरी चाहिएको छ’ शीर्षकको इको कविता नहेरी वाचन गरें। मलाई त्यति छोटो कविता पहिलोपल्ट नहेरी वाचन गर्न गाह्रो भएको थियो।

उल्लेखनीय संरक्षण कार्य गरेबापत ‘मस्ट ग्रिनेस्ट स्टेट’ अवार्डले सम्मानित भएका रहेछन्। अनि सहभागीले राखेका जलवायु परिवर्तन, जैविक विविधताका प्रश्नले त मलाई कुनै ग्रिन मुभमेन्टको सेमिनारमा पो छु कि जस्तो लागेर आएको थियो। मलाई सुनेर केहीलाई पर्यावरणीय विषयमा सिर्जना कोर्ने ज्ञान मिल्ला भन्नेमा म विश्वस्त भएँ।

अन्तिम दिन हामीलाई युद्ध संग्रहालयको भ्रमण गराइयो। त्यो ऐतिहासिक संग्रहालय घुमेर मैले के बुझें भने १८ औं शताब्दीमा विभिन्न राजा रजौटालाई एकीकरण गरेर एउटा अमेरिका बनाइएको रहेछ। तिनले हाम्रा बाइसे चौबीसे राजा रजौटाले जस्तो प्रतिरोध गरेका रहेछन्।

त्यसै साँझ रेलको बाटो लागियो फिलाडल्फियातिर। कारमा पनि पेट्रोल डढाउँदै फिलाडल्फियासम्म आउन सकिन्थ्यो। तर अमेरिकाको वायुमण्डलमा कार्बन उत्सर्जन नहोस् भन्ठानेर बिजुली रेल चढेर आयौं। त्यहाँबाट अमेरिकन एयरवेजको जहाज समातेर ग्याटविक एयरपोर्ट झर्‍यौं सकुशल।

अन्तिम दिन हामीलाई युद्ध संग्रहालयको भ्रमण गराइयो। त्यो ऐतिहासिक संग्रहालय घुमेर मैले के बुझें भने १८ औं शताब्दीमा विभिन्न राजा रजौटालाई एकीकरण गरेर एउटा अमेरिका बनाइएको रहेछ।

बेलायतमा प्रत्येक एकजनाले वर्षमा १०.५ टन कार्बन डाइअक्साइड उत्पादन गर्छन्। सन् २०२२ मा दुईपल्ट हवाईजहाजमा चढेको त मेरो कार्बन फुटप्रिन्ट १५.३ टन पुगेछ। मैले त औसतभन्दा झन्डै पाँच टन बढी उत्पादन गरेछु। अब यसलाई कसरी अफसेट गर्ने भनेर म सोचमग्न भएँ। यसरी पर्यावरण अपराधी मुलुकमा पुग्दा स्वयम् आफैलाई पर्यावरण अपराधीको बिल्ला भिरेर फर्केको बोध गर्दै घर आइपुगेको थिएँ।

प्रकाशित: ३० वैशाख २०८० ०१:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App