४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
कला

तीन लेखकका तीन कृति एकैसाथ लोकार्पण

नववर्ष २०८० को सुरुवातसँगै मकालु प्रकाशन गृहले तीन पुस्तक बजारमा ल्याएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कूलपति गंगाप्रसाद उप्रेती, मकालु प्रकाशन गृहका प्रबन्ध निर्देशक वासुदेव ढकाल र बेइजिङमा रहेर पत्रकारिता गरिरहेका चेतनाथ आचार्यका तीन कृतिलाई मकालु प्रकाशनले बजारमा ल्याएको हो।

वैशाख १ गते शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण श्रेष्ठ प्रेक्षालयमा आयोजित कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र काठमाडौंस्थित चिनियाँ दूतावासका उपप्रमुख काउन्सिलर वाङ सिनले तीन पुस्तकको विमोचन गरेका हुन्।

शुक्रबार विमोचित कृतिमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गंगाप्रसाद उप्रेतीको ‘चक्रब्यूह’नेपाली कवितासंग्रहको अंग्रेजी अनुवाद ‘एन इम्पेनट्रेबल फोर्टिफिकेसन’,मकालु प्रकाशन गृहका प्रबन्ध निर्देशक वासुदेव ढकालको ‘चिनियाँ यात्री फाहियानको यात्रा विवरण’र चेतनाथ आचार्यको ‘नयाँ युगमा चीन’ छन्।

उल्लिखित कृतिको विमोचनपछि सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल र चीनबीचको सम्बन्धलाई प्रगाढ बनाउनका लागि यी किताबहरू महत्वपूर्ण भएको बताए। ढकालले लेखेको ‘चिनियाँ यात्री फाहियानको यात्रा विवरण’ले इतिहासदेखिको दुई देशबीचको सांस्कृतिक सम्बन्धमा जोड दिएको बताउँदै उप्रेतीका नेपाली कवितालाई अंग्रेजी भाषामा अनुवाद गरेर नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय जगत्मा पु¥याउने काम भएको भन्दै प्रशंसा गरे। आचार्यको ‘नयाँ युगमा चीन’ कृतिले नेपालीलाई चिनियाँ नीति र विकासका बारेमा राम्रो खुराक दिएको श्रेष्ठको  भनाइ छ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै चिनियाँ दूतावासका काउन्सिलर वाङ सिनले नयाँ वर्षको पहिलो दिनमै चीन र नेपालबीचको सम्बन्धलाई महत्वपूर्ण टेवा दिने काम गरेको उल्लेख गरे।  

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति तथा कवि गंगाप्रसाद उप्रेतीले आफू कुलपति हुँदा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने क्रममा चीन, भारत, पाकिस्तान, बंगलादेश, इजरायल लगायतका कवि तथा साहित्यकारहरूसँग साक्षात्कार गर्ने क्रममा नेपाली कविताको लेखन पद्धति, शैली, प्रस्तुति, भाव कस्तो छ भन्ने जिज्ञासा मेटाउने प्रयासस्वरूप यो कविताको अंग्रेजीमा अनुवाद गरिएको बताए।

चेतनाथ आचार्यको कृति ‘नयाँ युगमा चीन’को समीक्षा गर्दै पूर्व मुख्य सचिव तथा चीनका लागि पूर्व राजदूत लीलामणि पौड्यालले भने, ‘चीनको राजधानी बेइजिङमा बसेर विभिन्न गाउँ र सहरको विचरण गर्दै पत्रकारका आँखाले त्यहाँको इतिहास पढेर वर्तमानको परिदृश्य भोगेर, देखेर, अनुभव गरेर तयार गरिएको हुनाले यो पुस्तक गहन र सार्थक रहेको छ।’  

उप्रेतीको ‘चक्रव्युह’नामक कवितासंग्रहको अंग्रेजी अनुवाद संस्करणको समीक्षा गर्दै त्रिभुवन विश्वविद्यालय अंग्रेजी विभागका उपप्राध्यापक तथा साहित्यकार महेश पौड्यालले कवितामा समयसापेक्ष नेपाली समाजले भोग्दै आएका समस्यालाई कविताको मूल विषय बनाइएको बताए।  

प्रकाशित: ९ वैशाख २०८० ०२:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App