२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

आमा

सुरुवात मझेरीबाट गरिन्

मेरी आमाले

बालिन् जिन्दगीको झिक्रा

पकाइन् थुप्रै सपनाहरू

र आज म यहाँ छु

जहाँ उभिएर

कविता जन्माइरहेछु।

उँध्याइन् संघषर्षको धार

काटिन् दुखको मुढा

जलाइन् थुप्रै संकटका ज्वाला

समयको आगोमा

तब त आमा

उनी थिइन् मेरी आमा

उनी हुन् मेरी आमा।

रोपिन् पसीनाको बीउ

उमारिन् उत्साहको बेर्ना

फिंजारिन् संघर्षको लहरा

फलाइन् थुप्रै थकानहरू

लगाइन् थुप्रै दुखको बिस्कुन

सुकाइन् आँसु धेरै पटक

मनको आँगनमा।

धेरै पटक हारिन्

हारेर पनि जितिन्

कहिले लेक

कहिले बेंसी

कहिले वारि कहिले पारि

तरिरहिन् जिन्दगीको जंघार

टेकिरहिन् उत्साहको संघार

ममताको आँचल फिंजाएर

गरिरहिन् वारिपारि-वारिपारि

आफ्नै सन्तानको खुशीको खातिर।

राखिनन् कुनै हिसाबकिताब

जिन्दगीको त्यो लडाइमा

सकाइन् आफ्नो जवानी

रित्याइन् आफ्ना सबैसबै रहर

वर्षौपछि आज

चाउरिएको छ आमाको छाला

मधुर छन् दूरदृष्टि

तर पनि सबैभन्दा चहकिलो मन

अझै सबैभन्दा अघि पुग्छ

सन्तानको खातिर

त्यसैले त उनी आमा हुन्

सबैभन्दा सुन्दर,

सबैभन्दा उच्च

सबैभन्दा माथि

सबैभन्दा पर ...

आमाआमा।

प्रकाशित: ७ वैशाख २०८० ०४:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App