२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

गरे नहुने के रै’छ र? ‘हाम्रो लघुकथा पाठशाला स्मारिका’ मा एक दृष्टि

समीक्षा

विसं २०७६ साल चैत्र ३ गते स्थापित हाम्रो लघुकथा पाठशालाले २०७९ चैत्र ३ गते तेस्रो वर्ष पूरा गरेर चौथो वर्षमा प्रवेश गर्‍यो। सोही दिन ‘अग्रजको सम्मान गरौं, नव पुस्ताको स्वागत गरौं’ भन्ने नारा सहितको पाठशालाको स्मारिका  (२०७६-२०७९) विमोचन भयो। विश्वभरिका धेरै लघुकथाकारलाई समेट्न विमोचन कार्यक्रम जूम प्रविधि मार्फत गरिएको थियो। म पनि उक्त कार्यक्रममा सहभागी थिएँ। त्यही राति हाम्रो पाठशालाकी प्रमुख व्यवस्थापक लता केसीले विद्युतीय हुलाकमार्फत स्मारिकाको पिडिएफ संस्करण मलाई पठाइदिनुभयो।

यस स्मारिकाको सम्पादन डा. शेखर कुमार श्रेष्ठ, लता केसी र राजु क्षेत्री ‘अपुरो’ ले गर्नुभएको छ। डा. शेखरकुमार श्रेष्ठ प्रकाशक रहनुभएको स्मारिकाको वितरक अक्षर धाम प्रकाशन प्रालि हो। सर्वाधिकार हाम्रो लघुकथा पाठशालामा रहेको र स्मारिकाको आवरण चित्र र लेआउट सरोज बलामीले गर्नुभएको हो। १३६ पृष्ठमा फैलिएको स्मारिकाको मूल्य २२५/–रुपैयाँ रहेको छ।

विशेषता

प्रविधिको विकाससँगै अनलाइनबाट फेसबुक (मुहारपुस्तिका) मा संचालित लघुकथा समूहहरूमध्ये ‘स्मारिका’ छाप्ने समूह हाम्रो लघुकथा पाठशाला पहिलो हो जस्तो लाग्छ। यो नै एउटा विशेष उपलब्धि हो।

स्मारिका भन्नेबित्तिकै शुभकामनाका डंगुर होलान् भन्ने कल्पना दिमागमा आइहाल्छ। तर, यस स्मारिकाभित्र पस्दा सोचेभन्दा फरक अनुभूति हुन्छ। यो स्मारिकाभित्र इतिहास छ, ज्ञानगुनका कुरा छन्, हाम्रो लघुकथा पाठशालाका सफलताका कथाहरू छन्। त्यसैले यो स्मारिका पढ्न मात्र हैन, संग्रह गर्न योग्य छ।

प्रविधिको विकाससँगै अनलाइनबाट फेसबुक (मुहारपुस्तिका) मा संचालित लघुकथा समूहहरूमध्ये ‘स्मारिका’ छाप्ने समूह हाम्रो लघुकथा पाठशाला पहिलो हो जस्तो लाग्छ। यो नै एउटा विशेष उपलब्धि हो।

इतिहासका कुरा गर्दा स्मारिकामा छविलाल खड्काद्वारा एउटा तथ्यांक प्रस्तुत भएको छ। हाम्रो लघुकथा पाठशालाको मुहारपुस्तिकामा २०७७ चैत ३ गतेदेखि २०७९ साल मंसिर २९ गतेसम्म जम्मा ६३९ दिनमा ४७१ लघुकथाकारका १४,०८४ थान लघुकथा सम्प्रेषण भए। यसले दुई कुरा स्पष्ट पारेको छ: (क) नेपाली साहित्यमा लघुकथाप्रति ज्यादै रूचि बढेको छ। त्यसैले यस समयमा लघुकथाको मूल फुटेको छ।

(ख) लघुकथा पनि आख्यान विधाको उपविधा हो भन्ने कुरा स्थापित गर्न यस तथ्यले सहयोग गरेको छ।

लघुकथाको मूल फुट्नु र सांख्यिक हिसाबले धेरै लघुकथा लेखिनु ज्यादै सराहनीय कुरा हो। यसको साथसाथै गुणस्तरीय लघुकथा लेखनको अभ्यास हुनु र त्यसका लागि निर्देशक सिद्धान्तको आवश्यकता पनि टड्कारो रूपमा देखिएको छ।

हाम्रो लघुकथा पाठशालाले २०७९ साउन १ गतेदेखि प्रति दिन तीन लघुकथा वाचन गर्ने र अग्रज लघुकथाकारहरूबाट वाचित लघुकथामाथि टिप्पणी/समीक्षा गराउने कार्यक्रमले लघुकथाको गुणस्तर बढाउने कार्यमा केही सहयोग पुगेको छ।

मलाई मन परेको सबैभन्दा राम्रो पक्ष भनेको यस स्मारिकाभित्र समेटिएका विषयवस्तुको छनौट हो। दोस्रो मन परेको पक्षचाहिं विषयवस्तुको प्रस्तुति हो। यसको नारा जस्तै स्मारिकाले अग्रज लघुकथाकारहरूलाई यथोचित स्थानमा उभ्याएको छ भने उदाउँदा लघुकथाकारहरूलाई विभिन्न जानकारीसहित लघुकथा क्षेत्रमा छिर्न प्रेरित गरेको छ।

हाम्रो लघुकथा पाठशालाका कुनै कार्यक्रम सुरु गर्नुअघि हामीले सुन्ने गरेको लघुकथा गानका शब्दहरू र यसबारे लेखिएका दुई लेखले स्मारिकाको महत्ता झन् बढाइदिएका छन्। अग्रज लघुकथाकारहरूका जानकारीमुलक लेखहरूले लघुकथा क्षेत्रमा लाग्न खोज्नेहरूलाई अवश्य सहयोग पुरयाउने छन्।

उदाहरणका लागि राजु क्षेत्री अपुरोका सिकारूका लागि मार्गदर्शनहरू, हरिप्रसाद भण्डारीका लघुकथासम्बन्धी सूत्रहरू, प्राडा कपिल लामिछानेको भाषासम्बन्धी लेख होस् या डा. शेखरकुमार श्रेष्ठको लघुकथा लेखनका तत्त्वहरू हुन्, यी सबै लेखोट सिकारु लघुकथाकारहरूका लागि मात्र नभएर गुणस्तरीय लघुकथा सिर्जनाका लागि हात बसिसकेका लघुकथाकारहरूलाई पनि उपयोगी हुने छन्।

हाम्रो लघुकथा पाठशालाका कुनै कार्यक्रम सुरु गर्नुअघि हामीले सुन्ने गरेको लघुकथा गानका शब्दहरू र यसबारे लेखिएका दुई लेखले स्मारिकाको महत्ता झन् बढाइदिएका छन्।

त्यति मात्र नभएर स्मारिकामा राखिएका अग्रज लघुकथाकारहरू महेश प्रसाई, दुर्लभलाल सिंह, राजु क्षेत्री ‘अपुरो’, रवीन्द्र समीर, श्रीओम श्रेष्ठ ’रोदन’, मन्दिरा मधुश्री र खेमराज पोखरेलका प्रतिनिधि लघुकथाहरूले सिकारु लघुकथाहरूलाई बाटो देखाएका छन्। यसका साथै वर्षभरिका ४३ उत्कृष्ट लघुकथालाई समावेश गरेर स्मारिकाले राम्रो काम गरेको छ।

गरे नहुने के रै’छ र?

सपना हामी सबैले देख्छौं। सपना देख्नु राम्रो हो। सपना देख्नुपर्छ। तर,त्यो सपनालाई साकार पार्न पो कठिन छ! यस्तै सपनालाई साकार पार्ने व्यक्ति हुन हाम्रो लघुकथा पाठशालाकी संस्थापक र प्रमुख व्यवस्थापक लता केसी। उनी लघुकथा उन्नयनका लागि लघुकथा नै उनको जीवन हो जस्तो गरी लागिपरेकी देखिन्छिन्। उनको यो पुनीत कार्यमा होस्टेमा हैंसे गर्नेहरू राजु क्षेत्री ‘अपुरो’, डा. शेखरकुमार श्रेष्ठ, विमुन्स पौडेल, दुर्गा वनवासी, शुभ शर्मा, छविलाल खड्का, वन्दना घिमिरे र सत्या अधिकारीको योगदान प्रशंसनीय देखिन्छ।

दृश्य पछाडि

यो पाठशालाको मुहारपुस्तिका चलाउन के कस्तो व्यवस्थापन चाहिन्छ भन्ने कुराको छनक पनि स्मारिकाले दिएको छ। सबैभन्दा पहिलो र मुख्य कुरा त यत्रो पाठशाला स्वयंसेवामा चलेको छ। यसको प्रशासनिक खर्च शून्य छ। स्मारिकामा व्यवस्थापक भनेर नाम राखिएको छ। तर, ती सबै अवैतनिक हुन्। लघुकथा वाचकवाचिका समीक्षक पनि अवैतनिक हुन्, स्वयंसेवकहरू हुन्। प्रत्येक दिन फरक कार्यक्रम ल्याउन कति कसरत गर्नुपर्छ भन्ने झलक पाउन स्मारिका पूरै पढ्नुपर्छ।

सबल नेतृत्वबिना थोरै समयमा यति धेरै कार्य सम्भव देखिंदैन। लता केसीको नेतृत्वमा यो प्रगति भएको छ। यसले पनि नेपाली समाजलाई एउटा गतिलो सन्देश दिएको छः महिलालाई नेतृत्व दिएर त हेर, थोरै समयमा धेरै प्रगति देख्न पाइन्छ!

अर्जी

हाम्रो लघुकथा पाठशाला स्मारिकामा राम्रा र ऐतिहासिक तथ्यहरू प्रेषित हुँदाहुँदै पनि केही कुरा थप्न पाए अझै सुन्दर हुन्थो कि भन्ने पनि लागेको छ।

(क) चित्रले हजार शब्द बोकेको हुन्छ भन्ने अंग्रेजी भनाइको पूर्ण पालना भएको छ। उदाहरणका लागि प्रत्यक्ष लघुकथा वाचनका झलकहरू र हाम्रो लघुकथा पाठशालाका गतिविधिहरूलाई चित्रमा प्रस्तुत गरिएको छ। यी चित्रहरूको अर्थ पाठशालासँग जोडिएकाले मात्र लगाउन सक्ने जोखिम एकातिर छ भने अन्य साधारण पाठकले यसलाई अर्कै अर्थ लगाउने सम्भावना पनि छ।

यसैले चित्रका साथसाथै यी गतिविधिको संक्षेपमा जानकारी राखिदिएको भए सुन्दर हुने थियो।

(ख) हाम्रो लघुकथा पाठशालाजस्तै लघुकथासम्बन्धी अन्य समूह पनि मुहारपुस्तिकामार्फत सञ्चालित छन्। स्मारिकालाई पाठशालाको आत्मश्लाघा हो भन्ने आक्षेप नलागोस् भनी अरू लघुकथा समूहबारे जानकारी र उनीहरूसँगको सहकार्यबारे कुनै एउटा लेख राखिदिएको भए ‘पाठशाला सबैका लागि’ भन्ने भावनालाई मद्दत पुग्ने थियो।

(ग) स्मारिका भनेको नै वर्तमान र इतिहास सम्मिलित गरेर लेखिएको दस्तावेज हो। यति हुँदाहुँदै पनि पाठशालाले भविष्यमा के गर्ने सोचेको छ भन्ने कार्यदिशा राख्न पाएको भए पाठशाला योजना तर्जुमा गर्नमा पनि अगाडि छ भन्ने कुरा देखिने थियो।

स्मारिकालाई पाठशालाको आत्मश्लाघा हो भन्ने आक्षेप नलागोस् भनी अरू लघुकथा समूहबारे जानकारी र उनीहरूसँगको सहकार्यबारे कुनै एउटा लेख राखिदिएको भए ‘पाठशाला सबैका लागि’ भन्ने भावनालाई मद्दत पुग्ने थियो।

अन्त्यमा,

साह्रै मेहनत गरेर हाम्रो लघुकथा पाठशालाले प्रकाशित गरेको स्मारिका स्तरीय र उत्कृष्ट छ। पठनीय मात्रै नभएर संग्रहणीय पनि छ। यसैले यो स्मारिका किनेर पढ्दा फाइदै फाइदा छ।

१० अप्रिल २०२३,एडमन्टन, क्यानाडा

प्रकाशित: २ वैशाख २०८० ०५:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App