२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

शिक्षित चेली पनि बेचिन्छन्

विसंगति

बुबाआमाकी प्यारी छोरी। उनले सानैमा पढाइको सिलसिलामा सुर्खेतदेखि काठमाडौंसम्मको यात्रा तय गरेकी थिइन्। परिवारको आर्थिक अवस्था कमजोर भएका कारण काठमाडौंमा लभ एन्ड होप नेपाल नामक संस्थाले समिता थापा (नाम परिवर्तन)लाई कक्षा १ देखि १२ सम्मको पठनपाठनमा सहयोग गरेको थियो।

कक्षा १२ सम्मको अध्ययन सकिएपछि काठमाडौंमा उनले कामको खोजी सुरु गरिन्। महँगीको पर्यायवाची रहेको सहर काठमाडाैंमा उनलाई खानबस्न नै धौधौ थियो। त्यतिबेला उनी भर्खर २० वर्ष टेकेकी थिइन्। कामको खोजीमा दुईचार वटा ठाउँमा उनी पुगिन् पनि। बुबाआमा र दुई दाजुकी प्यारी बहिनी उनी परिवारकी कान्छी सदस्य हुन्। गाउँको घरको चुहिएको छानो टाल्न भनेर उनका दाइहरू सानै उमेरमा पढाइ छाडेर भारत पसेका थिए। तर बुबा ७१ वर्ष र आमा ६५ वर्षको हुँदासम्म पनि घरको छानो टाल्न नसकेपछि थापा आफ्ना दाइहरूको सपनालाई साकार पार्न कामका लागि बिदेसिने योजना थापाले बनाउन थालिन्।

विदेश जाने भने पनि कहाँ जाने? कसरी जाने? भन्ने विषय त्यति सजिलो थिएन। यही अवधिमा उनको काठमाडौंमा बस्दै आएकी एक महिलासँग भेट भयो। ‘ती दिदीले विदेश पठाउने काम गर्ने गरेकी रहिछन्,’ थापाले भनिन्, ‘तिनै दिदीको संगतले दीपक घर्तीमगर र मौसम नाम गरेका ऐजेन्टसँग मेरो भेट भयो।’

थोरै समयमा हिमचिम भएकी ती दिदी र एजेन्टले उनलाई दुबईमा राम्रो अवसर छ र अन्य देशजस्तो महिलालाई काम गर्न गाह्रो पनि छैन भनेर हौसला दिएका थिए। दुबई जानलाई सबैभन्दा राम्रो उपाय भिजिट भिसा रहेको उनलाई भनियो। ती एजेन्टले थापालाई आफ्नी आमा दुबईमा बस्दै आएको र आफू पनि भिजिट भिसामा आमा भएको ठाउँमा जान लागेको भनी दुतावासमा झुटो बोल्नु भने।  

विदेशमा काम गर्ने सपना बुनिरहेकी उनले यो सबै स्वीकार गरिन्।

‘उनीहरूले भनेझैं मेरी आमा दुबईमा नै भएको नक्कली कागजात बनाई मेरो पनि भिजिट भिसामा जाने प्रक्रिया चाल्न १ महिना लाग्यो,’ उनी सम्झिन्छिन्।

भनिएअनुसार एक महिनाभित्रै फ्रि टिकट, फ्रि भिसा आयो र उनको दुबई जाने सपना २०७९ माघ १ गते साकार भयो। दुबई एयरपोर्ट पुग्नेबित्तिकै अर्को एजेन्ट नेपाली मिना डोल्मा र साउदी नागरिक समिर नाम गरेका व्यक्तिहरू थापालाई लिएर उनीहरूको एजेन्ट अफिसमा लगेका थिए।

‘एजेन्टहरूले भेटेलगतै मेरो सबै भिसाका कागजपत्र, मोबाइल र केही डलरहरू खोसिदिएर अबुधावी हुँदै अल्सिला पुर्‍याए,’ उनले भनिन्, ‘मलाई उनीहरूको अफिस लिएर गएको भोलिपल्टै एजेन्ट समिरले मलाई केही दिनसम्म दुव्र्यवहार गर्न थाल्यो। दिन बित्दै जाँदा मलाई उही समिरले अर्काे एक घरको काममा लगाइदिएको थियो। बिहान ५ बजेदेखि रात्रिकालीन समयसम्म काम गर्नुपर्ने थियो।

’यही कारण उनी बिरामीसमेत भइन्। त्यहाँ काम गर्न नसक्ने भनेर धेरै अनुनय विनय गरेपछि उनलाई काम गर्ने घरबाट तिनै एजेन्ट समिरले आफ्नो अफिसमा काम लगाउने भनेर फकाए।

समिरको अफिसमा २० जना जति नेपाली महिला थिए। अधिकांश महिला घरमालिकले कुटेका कारण काम गर्न नसकेर फर्किएका थिए। कोही बिरामी अवस्थामा थिए भने कोही समिरको यौन दुर्व्यवहार झेलिरहेका थिए। कलिलो उमेरका ती युवतीसँग छुट्टै फ्ल्याटमा लगेर समिरले पालैपालो शारीरिक सम्बन्ध गर्ने गरेको थापा बताउँछिन्।

‘त्यो फ्ल्याटमा म पनि समिरको यौन सिकार भएकी थिए,’ उनले भनिन्, ‘एक दिन साँझ समिरले मलाई छुट्टै बोलाएर लस्सी खुवाएको थियो। म बेहोस भएछु। यही मौकामा उसले यौन दुर्व्यवहार गरेको थियो,’ उनी त्यो कहालीलाग्दो क्षण सम्झन्छिन्।

उनीसँग अर्काे कुनै विकल्प थिएन। अफिसको काममा पठाइदे भनेर उही समिरसँग हारगुहार गरेकी थिइन् उनले। यही सिलसिलामा एक दिन काममा पुर्‍याइदिने भन्ने बाहनामा कुनै मरुभूमिबीचमा लगेर कारभित्र आफ्नो शरीरसँग खेलेको उनी सम्झन्छिन्।

त्यही मरुभूमिमा उनले घरमा आमासँग फोन गर्न अनुनय विनय गरिन्। उनको रोदनका कारण समिरले आफ्नै फोनबाट आमासँग कुरा गर्न दिएको थियो।

आमासँगको त्यही संवादमा उनले पहिलोपटक आफ्नो वास्तविकता आमासँग पोखिन् र आफ्नी आमासँग पीडा भन्न पाउँदा उनलाई हलुका महसुस भएको थियो। फ्ल्याटमा फर्केपछि आफ्नो पीडा अन्यलाई सुनाउँदा अरू युवतीले पनि आफूहरू त्यसप्रकारको दुर्व्यवहारको सिकार भइरहेको बताएका थिए।

यद्यपि उनी कुनै राम्रो कामको अवसर पाउने आशामा थिइन्। राम्रो घरमा कामको अवसर आएको छ भनी समिरले गाडीमा ६ घण्टा लाग्ने अर्काे एक स्थानको एक घरमा उनलाई पुर्‍याएको थियो। काम गर्दै जादा उनलाई थाहा भयो–समिरले ४ लाख २० हजार रूपैयाँमा बेचिदिएको रहेछ। घरमालिक राम्रो भए तापनि त्यस घरमा काम गर्ने पाकिस्तानी सेफबाट पनि आफू सुरक्षित नरहेको उनले बताइन्।

दिनरात सँगै काम गर्नुपर्ने हुँदा सेफबाट भएको दुव्र्यवहार घरमालिकलाई सुनाउँदा त्यो कुरा बाहिर कसैलाई पनि नभन्ने धम्कीको साथै घरमालिकले ती पाकिस्तानी सेफलाई सम्झाएका थिए तर त्यसो गर्दा पनि सेफको उस्तै व्यवहार उनी खेप्दै थिइन्।

अब अति नै भइसकेको थियो। कहालीलाग्दो यो पीडा असह्य हुँदै थियो। यही बेला उनले आफ्नो विद्यालयको पढाइमा सहयोग गरेको संस्था लभ एन्ड होप नेपाललाई सम्झिन्। मौका छोपेर थापाले कसैको मोबाइलमार्फत उक्त संस्थालाई आफू दुई महिनादेखि समस्यामा परेको वृत्तान्त सुनाएसँगै उद्धार गरिदिन अनुरोध पनि गरिन्।

उक्त संस्थामार्फत मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी गरियो। उजुरी परेलगतै लभ नेपालका अध्यक्ष बालकृष्ण पाण्डे, माइती इन्डियाका डाइरेक्टर पूजा पाण्डे, परराष्ट्र मन्त्रालय र कन्सुलर सेवा विभागबीच समन्वय भई उक्त पीडितलाई गत महिना फागुन २७ गते दुबईबाट उद्धार गरिएको ब्यरोका प्रहरी एसपी नरहरि रेग्मीले बताए।

उद्धारका क्रममा नेपालबाट लभ नेपालका अध्यक्ष पाण्डे र माइती इन्डियाका डाइरेक्टर पूजा पाण्डे दुबई गएका हुन् भने स्विडेनबाट जोनाथन अल्फभेनको सहयोग रहेको लभ नेपालका अध्यक्ष पाण्डेले बताए।

दुबई पुगेपछि नेपाली दुतावास हुँदै विभिन्न कन्सुलरको समन्वयमा पीडितलाई उद्धार गर्ने कार्य सुरु भएको पाण्डेले जानकारी दिए। यो खबर समिरसमक्ष पुग्नेबित्तिकै समिरले दिन प्रतिदिन झुलाउँदै आफू बच्ने हिसाबले सबै गतिविधि मिलाएर ७ दिनपछि दुबई एयरपोर्टमा नै थापालाई ल्याइदिएको अध्यक्ष पाण्डेले बताए।

‘साउदी नागरिक समिरलाई समात्न हामीसँग केही प्रमाण नै थिएन,’ पाण्डेले भने, ‘समिर आफू जोगिनकै लागि सबै सेटिङ मिलाएर थापालाई दुबई एयरपोर्ट पठाइदिएको थियो।’

‘खाडी मुलुकमा कानुन कडा छ र कानुनको कार्यान्वयन पनि हुन्छ। कोही कसैसँग रिस मात्र उठ्यो भने सिधै जेलमा सडाउँछन्,’ पाण्डेले भने, ‘पहिलो प्राथमिकता भनेको आफ्नै मलुकको नागरिक हो। आफ्नो मुलुकको नागरिकले अन्य मुलुकको नागरिकलाई चोर मात्र भनेपछि सिधै जेल सजाय हुन्छ। त्यहाँ मानव अधिकार पनि छैन। साँचो के हो त्यो केरकार गर्दैनन्।’ फेरि उनले थपे, ‘आफ्नी छोरीचेलीलाई कसैले शिर उठाएर हेर्‍यो मात्र भने सिधै फाँसी हुने देशमा अन्य मुलुकका नागरिकको केही सुनुवाइ हुँदैन।’

थापाजस्ती पढेकी शिक्षित युवतीलाई उद्धार गर्न त यस्तो कठिनाइ छ भने अन्य अशिक्षित महिलाहरू झन् दयनीय अवस्थामा रहेको ब्युरोका एसपी रेग्मीले बताए। धेरै महिला आफू बेचिएको थाहाँ पाउँदा पनि घरमा भएको ऋण, छोराछोरीको पढाइ, घरको छानो टाल्नलाई विदेशमा शोषण, यौन दुर्व्यवहार तथा अन्य अपहेलित व्यवहार खेपिरहेका देख्न सकिन्छ। आफ्नै आफन्त, दाजुभाइ तथा दिदीबहिनीबाट नै सबैभन्दा बढी नेपाली चेली बेचिएका रेग्मीको अनुभव छ।

नेपाली महिला सबैभन्दा बढी कुवेत, इराक, ओमन र भारतमा बेचिएका छन् भने पुरुष कम्बोडिया, लावस, भियतनाम र बर्मामा बेचिने गरेको ब्युरोका प्रहरी एसपी रेग्मीले जानकारी दिए।

आर्थिक वर्ष २०७५/७६ देखि चालु आर्थिक वर्षको फागुनसम्म बेचिएका पीडितको कुल उद्धार संख्या १ हजार ८४ रहेको छ। जसमा ५ सय १४ महिला, १ सय ८४ बालिका, ३ सय ६९ पुरुष र १७ बालक रहेको ब्युरोको तथ्यांकले बताएको छ। यसरी नेपाल विकसित पाटोमा जाँदै गर्दा पनि झन् धेरै महिला जोखिममा पर्दै गएका छन्।

‘बिदेसिने सपना सँगसँगै हामी कहाँ जाँदै छाैं, कुन प्रक्रियामा जाँदै छौं र कस्तो कम्पनीमा जाँदै छौं भन्ने एकिन हुन म सल्लाह दिन्छु,’ थापा भन्छिन्, ‘म चाहन्छु, मेराजस्तो पीडा अरूले भोग्न नपरोस् ।’

प्रकाशित: २५ चैत्र २०७९ ०१:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App