५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
कला

फोटो खिचौं

फोटो खिच्न तयार हुनुहुन्छ तपाईं?

नआत्तिनोस् ! केवल तयार भए पुग्छ, त्यस्तो कुनै हतारो गरिरहनै पर्दैन।

–कुनै स्टुडियो धाइरहने आवश्यकता छैन।

–क्यामेराको रिल सकिएला भन्ने डर छैन।

थपक्क खल्तीमा हात हाल्नुस् र मोबाइल निकाल्नुस्। बस्, मोबाइलको क्यामेराबाट खिच्नुस् आफैले आफ्नो फोटो, सेल्फी ! फोटो मात्रै के, भिडियो नै खिच्नुस् ! आफ्नै फोटो त हो, एक्सन एक्सनले खिच्न सक्नुहुन्छ।

–बस्दाबस्दै होस् कि जुरुक्क उठेर हिँड्दै होस्,

–खाँदाखाँदै होस् कि भोकै अनुहार लिएर होस्,

–अथवा गीत गाउँदागाउँदै होस् कि

नाच्दानाच्दै होस्,

–अट्टहास छोडेर हाँस्दै या मुस्कान छर्दै होस् कि गम्भीर मुडमा होस्, जुनसुकै अवस्थामा खिच्न सक्नुहुन्छ फोटो।

तर पख्नुस् ! पर... कोही व्यक्तिलाई देख्दै हुनुहुन्छ नि तपाईंले ! खल्तीबाट निकालिसकेको मोबाइल हातमै लिएर अलिक दौडनुस्। नजिकै पुगेर नियालेर हेर्नुस् उहाँलाई, चिन्नुभो?

हो, उहाँलाई हिजोअस्तिसम्म सडक–फुटपाथहरूमा लुखुरलुखुर हिँडिरहेको देख्नुहुन्थ्यो। तपाईंलाई थाहा छ, भेषभूषाले पक्कै उहाँ गाउँघरका नेपाली भनेर चिनिन मुस्किल पर्दैनथ्यो।

–शरीरमा कमेज–सुरुवाल,  

–शिरमा मैलोधैलो टोपी,

–खुट्टामा छालाको चप्पल,

र, अनुहारमा सधैं निराशाजस्तो, कहिल्यै धक फुकाएर हाँसेको देख्नु हुन्नथ्यो तपाईंले उहाँलाई। तर... आज? आज त उहाँको अनुहारको रौनक नै बेग्लै देखिनुभएको छ। झन्डै झन्डै चिन्नै मुस्किल। आज अत्यन्तै हँसिलो र उज्यालो छ उहाँको अनुहार। हुलिया नै फेरिएछ। आँखामा कालो गगल्स थप्नुभएछ। झन्डै झन्डै चिन्नै नसकिएको, निधारको दागले पो त ठम्याएको तपाईंले !

–निधारमा रातो ठुलो अक्षेता–टीका

–गालामा अटाइ नअटाइ सयपत्री माला

–त्यसमाथि रंगीबिरंगी खादा

आहा ! शरीरको पहिरन नै पो बदलिएछ ! सफा कोकटी लवेदा–सुरुवाल, त्यसमाथि कालो कोट। हिजोअस्तिको उहाँ र आज यतिखेरको उहाँमा आकाश–जमिनको भिन्नता छ।

अब जानुस् उहाँछेउ र दुवै हात जोेड्दै भन्नुस्– ‘नमस्कार हजुर !’

केही बोल्नुहुने छैन उहाँले, तपाईंतिर हेर्दै मुसुक्क... केवल एक मुस्कान फ्याँक्नुहुनेछ। वास्तवमा त्यति मुस्कान फ्याँक्ने पनि उहाँलाई फुर्सद छैन। उहाँ यतिखेर अत्यन्तै बेफुर्सदी हुनुभएको छ। वास्तवमा तपाईं उहाँछेउ पुग्नुभन्दा अघि नै उहाँ तपाईंजस्तै मान्छेहरूद्वारा घेरिइसक्नु भएको छ र धमाधम उहाँसँग उभिएर फोटो खिच्दै छन्।

त्यसो त, तपाईंले बेलाबखतमा उहाँसँगै धेरै पटक धेरै स्न्याप फोटो खिचिसक्नुभएको छ।

–कहिले उहाँसँग उभिएर,  

–कहिले बसेको बस्यै र  

–बसेका बेला केही खाँदाखाँदै,

–कहिले केही पिउँदापिउँदै।

तर, अहिलेको कुरै बेग्लै, उहाँसँग खिचिने फोटाको खास अर्थ छ। खिचिहाल्नुस् !

–सबैभन्दा पहिले आँखामा कालो  

गगल्स भिरिहाल्नुस् !

–अनि एक स्न्याप, उहाँसँग बेजोडले  

हात मिलाउनुस् !

–अर्को स्न्याप, उहाँसँग अँगालो मार्नुस् !

–फेरि अर्को स्न्याप, उहाँसँग केवल सिधा उभिनुस् मात्रै।

वास्तवमा, उहाँसँग खिचिएका यी फोटाहरूको अब उपयोग गर्ने अवसर प्राप्त भएको छ तपाईंलाई।

बस्, भरे साँझ घर पुगेपछि उहाँसँग यतिखेर खिचिएका फोटाहरू फेसबुकमा पोस्ट गर्नुस्। त्यसो गर्दा एउटा कुरा हेक्का राख्नुस् कि उहाँसँगका पुराना फोटालाई पनि एकसाथ पोस्ट गर्नुस् ताकि त्यो पोस्ट देख्नेहरूले बुझून्–उहाँसँगको तपाईंको सम्बन्ध पुरानै हो।

त्यसो त, तपाईंले पोस्ट गरेजस्तै उहाँसँग उभिएर खिचेका धेरै मान्छेका फोटाहरूको पोस्ट ओइरिएको देख्नुहुनेछ सामाजिक सञ्जालमा। तपाईंलाई राम्रैसँग अवगत छ, यी फोटाहरू त्यत्तिकै पोस्ट्याएका होइनन् तिनले पनि। जो मान्छेसँग आज फोटो खिच्न लाम लागेका मान्छेहरूलाई भ्याइनभ्याइ छ, उहाँ यतिखेर निकै ठुलो मान्छे बन्नुभएको छ र तिनै ठुला मान्छे जसलाई हिजोका दिनमा कसैले पुछ्दैनथ्यो। आज यति ठुला भइसकेपछि त्यस्ता ‘ठुला मान्छे’सँग फोटो खिचाउन पाउनु सानो कुरा हो र? तपाईंजस्ताका लागि निकै ठुलो कुरो हो यो। त्यो फोटोले त्यसै त्यसै तपाईंको छाती उचालिदिएको महसुस हुनेछ तपाईंलाई।

सामाजिक सञ्जालमा उहाँसँग तपाईंका सबै फोटाहरू देखेपछि, माथि नै पनि भनिसकियो–पहिले त, उहाँसँगको तपाईंको सम्बन्ध पुरानै हो भनेर बुझ्नेछन् देख्नेहरूले। त्यसपछि तपाईंले देख्न पाउनुहुनेछ फेसबुककै ‘कमेन्ट’मा तपाईंले बधाई पाउने सिलसिला। ‘ठुला मान्छे’सँग उभिएर फोटो खिचेबापतको बधाई ! हार्दिक बधाई ! मुरी–मरी बधाई ! लाखौंलाख बधाई ! गजब छैन त? के यसअघि तपाईंले कतै यस्तो बधाई लिन पाउनुभएको छ? गर्व गर्नुस् आफैमाथि कि सम्भवतः तपाईंका परिवारमा या पूरै वंशमा नै कुनै सदस्यले यसरी ‘ठुला मान्छे’सँग उभिएर यसअघि आजका मितिसम्म फोटो खिचाएकै छैनन्। खिचाएकै रहेछन् भने पनि त्यसको प्रामाणिक पुष्टि गर्ने आधार केही छैन। तर, अहिलेका यी फोटाहरूको कुरै अर्कै। हो, पक्कै पनि मोबाइलमै ‘सेभ’ रहेका हुने नै छन् ती फोटाहरू। आवश्यक परे तिनै फोटाहरू पोस्ट गरिएको आफ्नो फेसबुक खोलेर कुनै पनि बखत देखाउन सकिन्छ।

वास्तवमै, ‘ठुला मान्छे’सँगको फोटाको महत्वै अलग छ। त्यसभन्दा पनि अघि, मजा छ ‘ठुला मान्छे’सँग उभिएर फोटो खिचाउनुमा। त्यो मजाको बयानै गर्न सकिन्न, अपरम्पार छ।

प्रकाशित: ११ चैत्र २०७९ ०२:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App