३० वैशाख २०८१ आइतबार
image/svg+xml
कला

छुटेकी पात्र यशोधराको पहिचान

पुस्तक

स्कुल पढ्दा बुद्घसँग सम्बन्धित कविता, गीत अनि निबन्ध लेखिन्थ्यो। विभिन्न विधामा लेखिने ती बुद्घसँग सम्बन्धित लेख रचनाको केन्द्र भने प्रतियोगिता जित्नु र परीक्षामा राम्रो अङ्क ल्याउनुहुन्थ्यो। सिद्घार्थ को हुन्? बुद्घ धर्मको केन्द्र के हो ? वर्तमान समाजमा बुद्घमार्गको आवश्यकता कति खड्किरहेको छ? यस्ता प्रश्नका उत्तर सबैसबैले लेख्यौं, पढ्यौं र बहस पनि गर्‍यौं। बुद्घकै बारेमा बोल्दा, लेख्दा र बहस गर्दा सिद्घार्थकी पत्नी यशोधराको नाम भने त्यति धेरै सुनिँदैन। सामाजिक एवम् सांस्कृतिक रूपमा यशोधराको प्रतिनिधित्व, पहिचान र उनको आवाज के थियो? हरिबोल काफ्लेद्वारा लिखित ‘यशोधरा’ उपन्यासमा छुटेकी पात्र उनै यशोधरालाई मुख्य नायिका बनाइएको छ। उपन्यासको उठान यसरी भएको छ-

म कोलियकी शाहजादी हुँ।

शाहजादी अर्थात् सुन्दरी युवतीको आकृति, जसले सबैको हृदयको धारालाई गद्गद बनाउँछ। हमेसा पुलकित तुल्याउँछ। पृ. १

उपन्यासको उठानले तलाउमा ढुङ्गा हान्दा जुन रह उत्पन्न हुन्छ पाठकलाई त्यो खालको अनुभूतिको संरचना गराउन लेखकले प्रयास गरेका छन्। कथानकप्रतिको कौतूहलको समस्याकथनले पाठकको दिमागमा उद्देश्यकथनको कल्पना जन्माउन थाल्छ। साहित्यले तत्कालीन समाजको अस्तित्वलाई जोगाइरहने कामसमेत गरेको हुन्छ। समाजका आर्थिक, सामाजिक, धार्मिक, लैङ्गिक र वर्गीय आदि क्रियाकलापको स्थितिलाई साहित्यिक कृतिमा भेटिन्छ र कुनै समाज र संस्कृतिको बारेमा बुझ्न सकिन्छ।

खासमा ज्ञानको खोजमा निस्किएका सिद्घार्थले सांसारिक मोह त्याग्दा यशोधराको मनस्थिति कस्तो भएको थियो? आपूmबाट टाढिएका श्रीमान् सिद्घार्थ तपस्वी भएपछि यशोधराले श्रीमान्प्रति देखाएको श्रद्घा र समर्पणको विश्वदृष्टि कसले बुझ्यो? प्रतीक्षा के हो? कसरी प्रतीक्षा गर्न सकिन्छ? धैर्य के हो? कसरी धैर्य गर्न सकिन्छ? आमा को हुन्? सन्तान जन्मिएपछि एउटी आमाले बाबु र आमा दुवैको भूमिका कसरी निर्वाह गर्न सक्छिन्? मनमा बलेको वियोगको आगो र निराशाको नदीको भेललाई कसरी शान्त पार्न सकिन्छ? यी सारा प्रश्नकी उत्तर हुन् ‘गोपा’ अर्थात् उनै भोक्ता पात्र सिद्घार्थकी पत्नी ‘यशोधरा’।

सत्र वटा प्रवाहमा संरचित ‘यशोधरा’ उपन्यासमा समाख्याताका रूपमा यशोधरा नै प्रस्तुत भएकी छिन्। कपिलवस्तु र कोलियग्रामको सामाजिक सांस्कृतिक रङ कस्तो थियो? रोहिणी नदीका विषयलाई लिएर ती दुई राज्य किन विवाद गर्थे? कपिलवस्तु राज्यमा प्रभुत्वशाली वर्ग र निम्न वर्गका बीचको सङ्घर्ष कस्तो थियो? सिद्घार्थलाई राज्य मोह किन भएन? यी सम्पूर्ण प्रश्नहरूलाई यशोधराले उत्तरका रूपमा प्रस्तुत गरेकी छिन्। सामाजिक जीवनमा आफू अनुकूल स्थापित मानकहरूलाई प्रयोग गरेर राज्यले वा अभिजात वर्गले हेजेमोनीको संस्कृतिलाई बचाइरहन्छ र शक्तिहीन वर्ग वा समुदाय हेजेमोनाइज्ड भएको हेर्न चाहन्छ भन्ने सांस्कृतिक सन्दर्भका बारेमा समाख्याता यशोधराका माध्यमबाट उपन्यासकारले यसो भनेका छन्-

दरबारको व्यवस्था, राजकाज शैली, न्याय-इन्साफको प्रक्रियालगायत विषयबाट म विरक्तिएकी थिएँ। एक किसिमले भन्ने हो भने मभित्र तीप्रति घृणाको खहरे उर्लिन्थ्यो। व्यवस्था वा नियम भन्ने कुरा सोझासाझा जनताप्रति मात्र परिलक्षित थियो। जनताबाट जबर्जस्ती दरबारले आवश्यक ठानेका कर र पोत उठाउने काम हुन्थ्यो। पृ. ५

प्रेम के हो? यशोधराभित्र सिद्घार्थप्रति कति प्रेम छ? बाल्यकालमा सिद्घार्थ र यशोधराका बिचमा भएका प्रेमका क्रियाकलापहरूका माध्यमबाट उनीहरूलाई राम्ररी चिन्न सकिन्छ। यशोधरा रिसाउँदा फकाइहाल्ने, आफूचाहिँ कहिल्यै नरिसाउने शान्त स्वभावका सिद्घार्थले आफूभित्र रहेको प्रेमको सुन्दर बगैंचामा यशोधरालाई सजाएका थिए र उनले यशोधरासँग विवाह गर्ने कस्सम खाइसकेका थिए। यो उपन्यासको अर्को बलियो पक्ष भनेको यशोधराले सिद्घार्थप्रति राखेको चाहनाको गहिरो सागर देखाउनु पनि हो। आफूले सिद्घार्थलाई मन पराएको, आफू सिद्घार्थप्रति समर्पित भएको, आफूले सिद्घार्थलाई एकतर्फी प्रेम गरेको, सिद्घार्थ चाहिँ प्रेममा नखुलेको प्रसङ्गले रोचकता थपेको छ। सिद्घार्थले आफूलाई ‘गोपा’ भनेर सम्बोधन गरेको र सिद्घार्थ एवम् यशोधराको विवाहका लागि मल्ल युद्घको आयोजना भएको प्रसङ्गलाई यशोधराले यसरी बताएकी छिन्-

मेरो मनले आदिदेखिको इतिहासको विवेचना गर्दै थियो। बलको परीक्षाबाट जिम्मा लगाइएका स्त्री र तिनीहरूको जीवनको पिँजडाले मलाई गिज्याइरहेको आभाष हुँदै थियो। यत्तिकैमा एउटी सँगीले सुनाई, ‘पुरुषार्थको परीक्षामा सिद्घार्थले सबैलाई धुलिसात तुल्याए। मल्ल युद्घमा उनी मात्र विजयी पात्र हुन्। पेज नं. ६३

दरबारबाट बाहिरिएका सिद्घार्थले सन्यासी भेट्नु, सन्यासीबाट पाएको ज्ञानले सिद्घार्थमा चिन्तनको गहिरो प्रभाव पारेपछि शाक्य संघका कयौं निर्णयप्रति सिद्घार्थले आपत्ति जनाउन थाल्नु, सीमित स्वार्थका लागि सम्पूर्ण शाक्य वंशका राजप्रासाद एकमत हुने गरेको निर्णयमा उनी अनुपस्थित हुने गरेको रोचक प्रसङ्ग उपन्यासमा आएको छ। कोलिय र रोहिणी नदीको विवादलाई लिएर कोलियसँग युद्घ गर्ने निर्णयप्रति सिद्घार्थले चित्त नबुझाउनु, सिद्घार्थकै जोडबलमा युद्घ रोकिनु, प्रसेनजितको अभिमान र अत्याचारसँगै नारी किन युद्घमा मुछिन्छे भन्ने प्रसङ्गलाई उपन्यासमा ग्रिस र स्पार्टाको पेलेपोनियन युद्घसँग जोडिएको छ।

विवाह भएको लामो समयपछि गर्भवती बन्दा उत्साहको अनुभूत गरेकी यशोधराले सिद्घार्थमा बाबु बन्दै छु भन्ने बोधका सङ्केतहरू भेटेकी छैनन्। घरमा बालक जन्मिँदै छ भन्ने कुरा थाहा पाएर पनि खुसी हुनुको सट्टा आफूसँग टाढिएपछि उनले सिद्घार्थलाई गरेको सम्बोधन यस्तो छ-

प्रकृतिले थमाएको यो अपूर्व खुसीबाट उनी किन टाढा भागिरहेका छन्, भूमिका ग्रहण गर्न एक किसिमले अस्वीकार गरिरहेका छन्? मैले बुझ्नै सकेकी थिइनँ। उनको अनुहारमा नूतन बालकप्रतिको खुसीको कुनै रङले आकृति नलिएको देख्दा म भित्रभित्रै भक्कानिएँ पनि। पृष्ठ नं. १२३

सिद्घार्थले समय नदिए पनि यशोधराले आफूलाई भाग्यमानी स्त्री मानेकी छिन्। सिद्घार्थकै कारण आफू स्वतन्त्र भएको र दरबारभित्र साँघुरिएर बस्नु पर्दैन भन्ने बोध यशाधरामा रहेको पाइन्छ। उपन्यासमा अर्को प्रसङ्ग के छ भने प्रसूतिका समयमा रानी माइत जानु पर्ने कपिलवस्तुको प्रचलनलाई यशोधराले तोडिदिएकी छिन्।

पुत्रको जन्मले कपिलवस्तुमा उत्साह फैलिँदा सिद्घार्थमा कुनै उत्साह आएको देखिँदैन। राहुल जन्मिएको पहिलो दिन सिद्घार्थ आफ्नो छोरो हेर्न नजाँदा यशोधराले आफूलाई कसरी सम्हाल्न सकिन् होला ? छोराको जन्मसँगै नवयुवराजको जन्मको योग राम्रो नरहेको खबर सुनेपछि यशोधरालाई चित्त बुझाउन कठिन भएको प्रसङ्ग उपन्यासमा यसरी लेखिएको छ-

तर राजपुरोहितहरू भन्दै थिए-बालकको जन्मको योगले पिता-पुत्रको वियोगको निम्तो दिइसकेको छ। पृष्ठ नं. १२९

यशोधराको जीवनमा माछोमाछो भ्यागुतो कति भयो कति। पतिसँगको मिलनको पर्खाइमा यशोधराले बालेका आशाका बत्तीहरू कति निभे उनले हिसाब गर्न सकेकी छैनन्। सिद्घार्थले बुद्घत्व प्राप्त गरेपछि यशोधराको मनमा कुन प्रकारको अनुभूतिको संरचना निर्माण भयो? ‘सिद्घार्थको मोहले मलाई हेर्नु सर्वथा अनुचित छ’ भनेर आफ्ना श्रीमान्ले भनेपछि यशोधराको जीवनबाट के के छुटेर गए ? के के कुरा जुटेर आए? बाबुको अभाव महसुस गरेको छोराका खुलदुलीलाई यशोधराले कसरी समाधान गर्न सकिन्? विवाहपूर्व जन्मकुण्डलीका आधारमा यशोधरा र सिद्घार्थको सम्बन्धमा ज्यतिषीले लगाएको माङ्गलिक दोष साँचो हो त? विवाहपछिको केही समय मात्र सिद्घार्थ र यशोधराको मिलन हुने र वियोग हुने लक्षण कुण्डलीमै देखिएको कुरा यशोधरालाई बोध हुनुजस्ता घटनाहरूले पाठकहरूसँग समानधर्मिता कायम गर्न सक्छन्।

यशोधरा जति सहनशील छिन् त्यति नै विद्रोही चेतना पनि उनमा रहेको उपन्यासकारले देखाएका छन्। प्रमुख पात्रका रूपमा उभ्याएर चर्चाबाहिर रहेकी यशोधरालाई उपन्यासकारले चिनाउन सफल भएका छन्। सामाजिक, सांस्कृतिक एवम् दर्शनका पाटाहरूलाई केन्द्रमा राखिएको हुँदा उपन्यासले बौद्घिक पाठकको अपेक्षा गरेको महसुस पनि हुन्छ। उपन्यासलाई पाठकमैत्री बनाउन लेखकले धेरैभन्दा धेरै सूक्तिमय वाक्यहरू प्रयोग गरेका छन्। विषयवस्तु अनुसार खारिएको भाषाशैली उपन्यासको बलियो पक्ष हो।

उपन्यासकारले समाख्याताका रूपमा यशोधरालाई प्रस्तुत गरेका छन्। तर, समाख्याता यशोधराले बुद्घ र बुद्घमार्गको प्रसङ्गलाई बढी आयाम दिँदा यशोधरा खै त? भन्ने प्रश्न पनि नउब्जिने होइन। उपन्यासको उठान जुन प्रकारको तरङ्ग पैदा गर्ने खालको छ, बैठान पनि लेखकले विश्लेषणात्मक नबनाएर प्रतीकात्मक बनाउन सकेका भए अझ सुनमा सुगन्ध हुने थियो।

माधवी, सुम्निमा, अनुराधा, राधाजस्ता नारी चरित्रका नामबाट प्रकाशित सफल उपन्यास कृतिहरूसँगै ‘यशोधरा’ ले आफ्नो प्रतिनिधित्व र पहिचान कुन रूपमा स्थापित गर्न सक्छ? यो बहसको विषय बन्न सक्छ। समग्रमा उपन्यासले बोकेको कथानक, पात्र, परिवेश बलियो बनेर आएका छन्। 

प्रकाशित: ४ चैत्र २०७९ ००:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App