कृष्ण बजगाईं प्रवासमा बसेर नेपाली साहित्यमा निरन्तर क्रियाशील स्रष्टा हुन्। कथा, लघुकथा, बालकथा र हाइकुमा पनि सिद्धहस्त कलम चलाउने उनी नियात्रामा बढी देखिन्छन्। बजगाईं समकालीन साहित्य प्रतिष्ठान, बेलायतसहित अन्य विभिन्न संघसंस्थामा पनि आवद्ध छन्। यसअघि उनका ‘युरेसियाको स्पर्श’, ‘भाया साक्रा’ र ‘दाइबचु’ नियात्रासंग्रह प्रकाशित भइसकेका छन्। संख्याका हिसाबले एक दर्जनभन्दा बढी साहित्यिक कृतिहरू प्रकाशित गरेका बजगाईंको ‘उमिहोतारु’ नवीनतम् नियात्रा कृति हो।
यात्राको हुटहुटी बोकेर दौडने बजगाईं यायावरजस्ता छन्। उनको यो कृतिमा अमेरिका, बेलायत र जापान यात्राका क्रममा देखेभोगेका र अनुभूति गरेका कुरालाई नियात्राको रूप दिएका छन्। यस कृतिमा एक्काईस वटा विभिन्न शीर्षकका नियात्रा समावेश छन्। नियात्रालाई रोचक बनाउन घुमेका स्थान तथा अनुभूतिलाई निबन्धात्मक एवम् आख्यानात्मक रूपमा प्रस्तुत गरेका छन्। यात्राका घटना र दृश्यलाई चित्रात्मक शैलीमा शब्दमार्फत प्रस्तुत गरेका छन्। उनका नियात्राहरू कतै वर्णनात्मक छन् त कतै संवादात्मक छन्।
बजगाईंका नियात्रा पढ्दा पाठकलाई आफै यात्रामा हेलिएकोजस्तो महसुस हुन्छ। यो उनको नियात्रा लेखनको सबल पक्ष हो। उनी कहिले समुन्द्रबीचको टापुमा जुनकिरीका जस्तो उज्यालो देखेर मोहित हुन्छन्। कहिले म्याडिसन सहरको माइनस सात डिग्री तापक्रममा रमाउँछन्। सिकागो सहर, त्यहाँका गगनचुम्बी महल, माइनस तीन डिग्रीको तापक्रममा पनि निर्धक्क र बेपर्वाह यात्रामा आनन्दित बन्छन्। बतासे सहर सिकागोमा बादलको गेट देखेर चकित पर्छन्। क्लाउड गेटमा डायस्पोरिक उपन्यासकार सन्तोष लामिछानेको उपन्यास ‘अल्टिमेट आकाश’ सार्वजनिक गर्न भ्याउँछन्। बकिङ्घम फाउन्टेन र मिचिगन लेक पुग्छन्। सेक्सपियरको नाममा बनाइएको भव्य थिएटर देखेर खुसी मान्छन्।
बेलायतको प्राचीन सहर क्याम्ब्रिज कला, संस्कृति र वास्तुकलाको त्रिवेणी हो। क्याम नदी क्याम्ब्रिजको मुटु हो। काठले बनेको न्युटन पुल, त्यहाँका साँघुरा सडक र रोमन शैलीमा बनेका ऐतिहासिक भवनहरू देखेर आश्चर्यमा पर्छन् नियात्राकार। त्यहीं विश्वव्यापी प्रदूषणविरुद्ध नाङ्गो शरीरमा आएका महिला–पुरुषहरूको प्रदर्शन देखेर छक्क पर्छन्। विरोध प्रदर्शन गर्ने अनौठो तरिकाको जानकारी पाठकलाई दिन्छन्। कोरोनाको कहरका बेला यात्रा गरेका उनले क्यान्टरबरीको सुन्दर वर्णन गरेका छन्। युनेस्कोको सम्पदासूचीमा समेत परेको छ यो ठाउँमा पुगेर क्यान्टरबरी टेल्सका नवीन तथ्य खोलेका छन्।
‘योनी म्युजियममा चिहाउँदा’ नियात्रामा उनले योनी चेतनालाई शास्त्रीय पक्षबाट प्रस्तुत गरेझैं लाग्छ। निजात्मकताको सुन्दर प्रयोग भएको त्यस नियात्रामा कोरोनाको समयमा मुखमा मास्क र गोजीमा सेनिटाइजर बोकेका बजगाईं संसारकै पहिलो योनी म्युजियमको अवलोकन गरेका छन्। प्राचीन, मध्ययुग र आधुनिक युगका महिलाका महिनावारीका कथाव्यथा, योनीसम्बन्धी अन्य जानकारी मात्र होइन, नेपालको छाउपडी प्रथाको बारेमा लेखिएको कुरा पाठकहरूलाई दिन्छन्।
नियात्राकार श्रीओम श्रेष्ठ ‘रोदन’सँग गरिएको यात्रा हो ग्रिनविचको काल्पनिक रेखामा पाइला। रिभर क्रुज चढेर ग्रिनविच पुगेका उनीहरू कट्टी सार्क नामक सयौं वर्ष पुरानो जहाजको अवलोकन गर्दछन्। उक्त जहाजका बारेमा लेखिएको कविता पनि नियात्राकारले पढ्न भ्याएका छन्। ग्रिनविचको रोयल अब्जर्बेटरीबाट गएको काल्पनिक रेखा जसलाई प्राइम मेरिडियन भनिन्छ। त्यहाँ वरिपरिका चित्ताकर्षक दृश्य स्वयम्भूबाट काठमाडौं हेरेझैं हेर्छन् उनीहरू। कुकुरको पनि चिहान हुन्छ भन्ने कुरालाई बडो भावुक ढंगले नियात्राकारले कुकुरको चिहानमा चार थोपा आँसु नियात्रामार्फत बताएका छन्। उनी लेख्छन्, ‘कुकुरको चिहानलाई एक चक्कर लगाएर आँखाभरि चिहानको तस्बिर टाँसेर बाहिरिएँ।’
प्रजातन्त्रको जन्मस्थान बेलायतको रनिमेड भन्ने ठाउँ पुग्दा आफ्नो मातृभूमि सम्झेर उनको मन छचल्किन्छ। संसारभर स्वतन्त्रता, मानवअधिकार र न्यायको प्रतीक मानिने म्याग्नाकार्टामा हस्ताक्षर गरेको ठाउँ पुगेर त्यहाँका बारेमा पाठकहरूलाई धेरै ऐतिहासिक तथ्यको जानकारी दिन्छन्। सफा, आधुनिक र सुविधासम्पन्न बिटल्स म्युजियममा गएर आनन्द लिने मात्र होइन, पाठकलाई त्यहाँका बारेमा यथेष्ठ जानकारी दिन्छन्।
साहित्यमा यौन, मन र सपनाजस्ता विषयमा पढिने, चर्चा चलिरहने र लेखिइरहने फ्रायडको बेलायतमा अवस्थित निवास पुग्न पाउँदा गर्व गर्छन्। सिग्मन्ड फ्रायडले शरणार्थीका रूपमा लन्डन बस्नुपरेको कुरा सम्झेर लेखक दुःखी बन्छन्। फ्रायडको निवासमा राखिएका प्राचीन सामग्रीहरू अवलोकन गर्छन्। फ्रायड बस्ने कुर्सीनजिक ध्यानमग्न बुद्धको प्रतिमा देखेर रोमाञ्चित बनेर नेपाल सम्झन्छन्।
अग्रेजी उपन्यासकार, कथाकार, कवि तथा साहित्यका डिएच लरेन्सको निवासलाई म्युजियमका रूपमा संरक्षित गरिएको छ। त्यहाँ पुगेर आफ्नो देशको सम्झनामा नोस्टाल्जिक बन्छन्। नियात्रामार्फत उनले धेरै साहित्यकारहरूको जन्मस्थल, वासस्थान र म्युजियमहरू अवलोकन गरेर पाठकलाई प्रशस्त जानकारी दिएका छन्। उनी कवि कुपरको वासस्थान पनि पुगेका छन्। प्रकृतिप्रेमी कवि कुपरका बारेमा नियात्रामा धेरै कुरा रोचक ढंगले वर्णन गरेका छन्। कवि जोन किट्सलाई पनि नियात्राकारले छाडेका छैनन्। किट्सको निवासस्थानलाई केही वर्षअघि म्युजियममा परिणत गरिएको थियो। त्यहाँ पुगेका नियात्राकारले कवि किट्स र म्युजियमका बारेमा रोचक जानकारी दिएका छन्। त्यहीं उनले आफ्नो दोस्रो नियात्राकृति भाया साक्रालाई सार्वजनिक गरेको रोचक प्रसङ्ग पनि ल्याएका छन्।
मिल्टन्स कटेजमा गणतन्त्रवादी कवि नियात्रामा उनले कवि जोन मिल्टन र उनीसँग सम्बन्धित विविध जानकारी दिएका छन्। बेलायतको राजतन्त्र हटाउन महत्वपूर्ण भूमिका खेलेका कवि मिल्टन र उनकै नाममा म्युजियम बनाउन चन्दा दिने महारानीको प्रसङ्गले उनलाई अचम्मित पार्छ। बिसौं शताब्दीकी महान् लेखिका भर्जिनिया उल्फ जो औपचारिक कलेजको अध्ययनबिना नै कलेजमा लेक्चर दिन्थिन्। उनको जीवनको संघर्षको कथा र विभिन्न पक्षको रोचक जानकारी दिएका छन् ‘भर्जिनिया उल्फको मङ्क हाउसमा’ नियात्रामा। अर्का चर्चित कवि वर्डस्वर्थ जसले रोमान्टिसिज्मको थालनी गरे, उनैको जन्मघर पुगेर विविध जानकारी दिएका छन्। नियात्रामा वर्डस्वर्थको चर्चित कविताको नेपाली रूपान्तरण राखेर कविप्रति सम्मान प्रकट गरेका छन्।
जापानमा चार दिने साहित्यिक म्याराथुनमा उनले साहित्यिक पर्यटनको चर्चा गरेका छन्। उनले हाइकुको कुरा गरेका छन् वर्ड हाइकु सम्मेलनमा सहभागी हुँदा। जापानी उपन्यासकार नात्चुमेसँग साक्षात्कार गर्न टोकियोमा पुग्छन्। उनका बारेमा थुप्रै जानकारी लिन्छन्। टोकियोमा अवस्थित प्रख्यात सेन्सोजी मन्दिरमा वायु, आँधी र चट्याङका देवताका डरलाग्दा दुई मूर्ति र नादेबोताके बोधिसत्वको अवलोकन गर्छन्। त्यहाँको फुदो म्यु नामक मन्दिरलाई हिन्दुको सरस्वती मन्दिरसँग तुलना गर्छन्।
नियात्रामा जापानको प्रकृति र विकासका बारेमा जानकारी दिन्छन्। जापानीहरूको जंगलमोहलाई पहाडको टुप्पोदेखि समुन्द्रमुनिसम्ममा उल्लेख गर्छन्। मनमा उत्सुकता पाल्दै उनी समुद्रमुनि बनाइएको हाइवेमा कारमा दौडँदा रमाउँछन्। मानव निर्मित उमिहोतारु टापुमा पुगेर खुसी हुन्छन्। उमिहोतारु संसारमा समुद्र बीचमा बनाइएको पहिलो हाइवे बिसौनी पनि हो। उमिहोतारुको नेपाली अर्थ समुन्द्री जूनकिरी हुन्छ। त्यसैको नाममा पुस्तकको नामकरण गरेका छन् नियात्राकारले।
‘टोकियोमा सपनाको यात्रा’ शीर्षकमा टोकियो घुमाइका अनुभूतिहरू सुरुचीपूर्वक पोखेका छन्। चालकरहित मोनोरेल, इम्पेरियल प्यालेस, साकुरा फूल, स्टाच्यु अफ लिवर्टी, समुद्र पुरेर बनाइएका गगनचुम्बी महल आदिका बारेमा रोचक जानकारी दिएका छन्। यासुकुनी जिन्जामा आत्माको बास नियात्रामा सिन्तो धर्म, तिनको मन्दिर र त्यहाँ आत्माको बास हुने अनौठो जापानी संस्कारको वर्णन गरेका छन्।
यसरी हेर्दा विविधतायुक्त विषयवस्तुको रोमाञ्चक प्रस्तुति हो उमिहोतारु। नियात्रामा आफ्ना घुमाइ, भोगाइ, अनुभव र ज्ञान आदिको राम्रो जानकारी दिएका छन् बजगाईंले। कोरा मनोरञ्जनमा पाठकलाई नअल्मलाई नवीन जानकारी दिन्छन्। नियात्रा लेखनीमा इमान्दार देखिएका छन् बजगाईं। जुनसुकै ठाउँमा भ्रमण गर्दा पनि नेपालको सन्दर्भ जोड्ने उनको तरिका प्रशंसनीय छ। नेपालमा पनि यस्तै भए भन्ने भाव मनमा राख्छन्। उनले प्रायः नियात्रामा चर्चित साहित्यिक व्यतित्वहरू, तिनका वासस्थान र म्युजियमहरूको नालीबेली ल्याएका छन्। पाठकलाई सँगै यात्रा गराएका छन्। सम्भवतः पहिलोपटक बजगाईंले नेपालमा साहित्यिक पर्यटनको सम्भावनाका बारेमा आफ्ना नियात्रा मार्फत कुरा उठाएका छन्।
बोधगम्य भाषामा नियात्राको रसस्वादान गर्न सकिने उमिहोतारुमा कहीं सम्वादात्मकता त कतै वर्णनात्मकता पाइन्छ। कोरोनाकालको असुरक्षित समयमा पनि उनी यात्रारत छन्। लेखकीय कल्पनाशीलता नियात्राभरि देखिन्छ।
प्रकाशित: ४ चैत्र २०७९ ००:२८ शनिबार