लक्ष्मीप्रसाद पौडेल
उत्प्रेरणा, उक्साहट, प्रलोभन, आश्वासन जे भन्नुहुन्छ यस्तै-यस्तै बहुरंग पोतिएको रंगीन सपना साँचेर अमूर्त यात्रामा सिंगो यौवन दौडाएकी थिई राममायाले।
ऊ भन्थी, ‘मान्छेको जीवन कर्मको लिला हो! जस्तो गर्यो त्यस्तै फल पाइन्छ!’
देश गणतन्त्र प्राप्तिको अन्तिम संघारमा थियो। ‘केही गर्नुपर्छ मुलुकका निम्ति’ ऊ र उसका थुप्रै युवा जोशमा यही हुटहुटी थियो। त्यही दौरान भेटिएको थियो उसलाई हरिपाल।
हरिपाल सानोतिनो मुस्कानले हाँस्दैनथ्यो। सधैं गम्भीर मुद्रामा भेटिन्थ्यो ऊ राममायालाई। एक जुग पल्टिनुपर्थ्याे उसको ओठ खुल्न। पहिलो चोटि राममायालाई भेट्दा हाँसेको थियो ऊ अनि दोस्रो पटक देशमा गणतन्त्र आउँदा हो जस्तो लाग्छ, फिक्का सम्झना छ उसलाई। त्यसपछि त उनीहरूको जीवनमा रंग भर्छु भन्ने व्यवस्थाकारहरू आफैं रंगीन पुगेपछि उसले आफैं डोब मेटेको हो पैतालाले हाँसोको। आशा त्यागेको हो फल प्राप्तिको।
आजकल हरिपाल बालुवाका सिंगा डल्लाहरू एक्लै फोडिरहन्छ। उसले बोक्ने ढुंगाको भारी उसको बाँच्ने हतियार हो। तमाम बिग्रेका ताल्चा खोल्ने चाबी हो उसको पसीना। ऊ खोलाको भित्रसम्म दगुरेको हुन्छ। ‘सेतो रंग चालेपछि पहेंलो भेटिन्छ’ उसले सुनेको छ।
परतिर एक हुल युवायुवती फागु पूर्णिमाको भल छोप्न अनुहारमा रातो,निलो र पहेंलो उमंग बोकेर जोडाजोडी खेल्दै छन्। ऊ तिनीहरूको रूपरंगको हाँसो थोरै चोर्छ। मनभित्र घुसार्छ र सम्झिन्छ राममायालाई। धस्छ मन फुकाएर मनको रङ उसको अधरभरि। जो धेरै समय रहन सकिन उसँग।
ड्याम्म आएको आवाज र उसकी राममायाको चिच्याहटले अझैं पोलिरहन्छ उसको कान।
गए रातिको साह्रो रोटी टोक्दै उसकी छोरी सोध्छे, ‘बा, आमाले मरेर के पायौं हामीले?’
ऊ हरेक पटक सरकारी राजपत्र फर्काएर हेर्छ। पाना नं ७, रोल क्रम ७५३, वीर शहीद, कमरेड राममाया मगर, जिल्ला कञ्चनपुर, संघीय गणतन्त्र नेपाल।’
प्रकाशित: २९ फाल्गुन २०७९ ०६:१६ सोमबार