२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

सुदूरपश्चिमका मौलिक गायक विरही

घरमाथि उदाउँथ्यो इजु, देख्छु जुन पुन्युकी रात

यहाँ जिउँदै म मर्‍या छु, गाउँमा के कसो छ गात

परदेशका पीडा इजु, कठै मन यो जल्याको छ

कठै सुदूरपश्चिम मेरो, जन्मथलो रोयाको छ

करिब १२ वर्षअगाडि रेकर्डिङ भएको यो गीत सङ्गीतप्रेमीका लागि सदाबहार गीत हो। परदेशीका पीडालाई प्रस्तुत गरिएको यो गीतका सर्जक हुन्–कमल विरही थापा। सर्जक विरहीका ‘नीलकमल फुल्यो’ सालैजो गीत, ‘बाटोमा ढुंगा’ आधुनिक गीत, यिनको शब्द तथा लयमा ‘दुःख र दशा’ झाँक्री सेलो, ‘ढाक्यो धर्ती’, ‘सिमलडाँडे दाइ’, ‘नेपाल देश’, ‘बुद्ध जन्मे कहाँ’लगायतका गीत बजारमा आएका छन्।

पारि बसन्या मैना चडी वारि आइझा उडी

बरिखा सकिनै लाग्यो मु बस्या घर कुडी

अइसेलु किरमणा पागी साई जन्म्याको थली

बाटो हेरी बस्याकी छे साई तम्रा गौंथली

आठ वर्षको उमेरमा आगोले जलेका उनको बालापन अत्यन्तै दर्दनाक थियो। जीवनको अत्यन्तै कठिन क्षणहरू पार गर्दै यो उमेरमा आएका कमल बिरही सानै उमेरदेखि स्टेजमा गीत गाउने, कविता लेखी वाचन गर्ने गर्थे। घरको नाजुक आर्थिक अवस्थाका कारण कहिले विदेश त कहिले देशभित्रै संघर्ष गरेका विरहीले असहज परिस्थितिमा पनि आफ्नो संगीतयात्रालाई निरन्तरता दिए। हाल पनि परदेशमै रहेर निरन्तर सिर्जना कार्यमा लागिरहेका छन्।

२०५८ सालमा कैलाली जिल्लामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको स्थापना गर्नेमध्येका उनी एक हुन्। सुदूरपश्चिम क्षेत्रमा लुकेका र छरिएर रहेका थुप्रै कलाकार एकत्रित गर्ने र अवसर प्रदान गर्ने क्रममा यिनको पनि महत्वपूर्ण योगदान रहेको छ।

सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. टिएन जोशीका अनुसार कमल विरही शारीरिक रूपमा असक्त हुँदाहुँदै पनि मौलिक गायनमा महत्वपूर्ण योगदान दिने सुदूरपश्चिमका प्रतिनिधि गायक हुन्। हाल उनी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, कैलाली जनपुस्तकालय, सुप गजल मञ्च र प्रतिभा पुस्तकालय लगायत संस्थामा आजीवन सदस्यका रूपमा आबद्ध छन्। 

प्रकाशित: २७ फाल्गुन २०७९ ०३:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App