२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

प्राडा माधव पोखरेल र ज्ञानेन्द्र विवशलाई शंकर लामिछाने पुरस्कार

शंकर लामिछाने प्रतिष्ठानले प्रसिद्ध निबन्धकार शङ्कर लामिछानेको ९६ औं जन्मोत्सव समारोह आगामी २०७९ चैत ५ गते मनाउने भएको छ।

सो अवसरमा वरिष्ठ निबन्धकार प्राडा माधव पोखरेललाई नगद पचास हजार रुपैयाँ राशिसहितको ‘शंकर लामिछाने निबन्ध पुरस्कार २०७९’ प्रदान गर्ने निर्णय गरेको छ।

यसैगरी प्रतिष्ठानले निबन्ध नियात्राकार ज्ञानेन्द्र विवशलाई नगद  पच्चीस हजार रुपैयाँ राशि सहितको ‘शंकर लामिछाने युवा निबन्ध पुरस्कार २०७९’ प्रदान गर्ने पनि निर्णय गरेको छ। सो निर्णय प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिले गरेको हो। पुरस्कार सिफारिस समितिमा साहित्यकारहरू प्रमोद प्रधान, श्रीओम श्रेष्ठ ‘रोदन’ र युवराज नयाँघरे रहेका थिए।

साहित्यकार पोखरेलका निबन्धकृतिहरू ‘मेरो मान्छे २०५४’, ‘ध्वनिविज्ञान र नेपाली भाषाको ध्वनि परिचय २०५७’, ‘नागदहको थिति २०५९’, गार्गीको गाँठो २०६२ लगायत विभिन्न कृति प्रकाशित छन्।

यसैगरी निबन्ध नियात्राकार विवशका ज्ञानेन्द्र विवशका २०५५ सालमा ‘क्यानभासका तरङ्गहरू’, ‘राराकी अप्सरा’(२०५८), ‘मृत्यु उत्सव’ (२०६०), ‘आकृतिको आवाज’ (२०६१), ‘प्रणय र पाइला’ (२०६१), ‘अन्नपूर्णाका विम्बहरू’ (२०७०), ‘प्रसिद्ध अग्रज नेपाली चित्रकार’ (२०७०), ‘प्रसिद्ध नेपाली पौभा कलाकार’ (२०७०), ‘सुन्दरीचोक’ (२०७५), ‘साँखुका सम्पदा र वास्तुकला’ (२०७५), ‘प्रसिद्ध अग्रज कलाकार चन्द्रमानसिंह मास्के’ (२०७६), ‘प्रतिनिधि नेपाली कलाकार’ (२०७८), ‘कलाकार सिद्धिमुनि शाक्य: जीवन र कला’ (२०७८) र ‘संवेदनाका स्वरहरू’ (संयुक्त निबन्धसंग्रह २०५४) कृतिहरू प्रकाशित छन्।

यसअघि ‘शंकर लामिछाने निबन्ध पुरस्कार’बाट वरिष्ठ निबन्धकारहरू कृष्णचन्द्र सिंह प्रधान, प्राडा दुर्गाप्रसाद  भण्डारी, डा. ताना शर्मा, श्यामप्रसाद शर्मा, प्रा. बालकृष्ण पोखरेल, घनश्याम राजकर्णिकार र गणेश रसिक सम्मानित भइसकेका छन्।

यसैगरी ‘शंकर लामिछाने युवा निबन्ध पुरस्कार’बाट निबन्धकारहरू श्रीओम श्रेष्ठ, युवराज नयाँघरे, झमक घिमिरे, भीष्म उप्रेती, डा. दामोदर पुडासैनी, मोमिला जोशी र प्रतीक ढकाल पुरस्कृत भइसकेका छन्।

प्रकाशित: २४ फाल्गुन २०७९ ०७:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App