२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

स्रष्टाको निःशुल्क स्वास्थ्य बीमा

गण्डकी प्रज्ञाप्रतिष्ठानले कला, साहित्य र संस्कृतिको उत्थानमा सक्रिय स्रष्टाको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ। यसका लागि स्रष्टाको पहिचान र नामावली संकलन भइरहेको प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘विखर्ची’का अनुसार यस वर्ष दुई सय जना कवि, कलाकारको निःशुल्क स्वास्थ्य बीमा गरिनेछ। ‘दीर्घरोगी, न्यून आय भएका र जीवनभर सिर्जनाकर्ममा लागेकालाई लक्ष्य गरी स्वास्थ्य बीमा कार्यक्रम ल्याएका हौं, उनले भने, ‘प्रदेशका ११ वटै जिल्लाका स्रष्टालाई यसमा समेट्छौं।’

प्रतिष्ठानले स्वास्थ्य बीमामा आबद्ध हुन इच्छुक स्रष्टालाई आवेदनका लागि सार्वजनिक रूपमा सूचित समेत गरेको छ। स्रष्टाको छनोट प्रतिष्ठानले बनाएको कार्यविधि अनुसार हुने कुलपति खड्काले बताए।

सरकारले सञ्चालन गरिरहेको स्वास्थ्य बीमा कार्यक्रमको ढाँचा र मापदण्ड अनुसार नै स्रष्टाको बीमा गर्न लागिएको हो। प्रतिष्ठानले बीमा गर्दा लाग्ने प्रतिव्यक्ति शुल्क तीन हजार पाँच सय रुपैयाँ स्वास्थ्य बीमा बोर्डलाई तिर्नेछ। सोबापत पाँच जनासम्मको परिवारले वार्षिक एक लाख रुपैयाँसम्मको उपचार सेवा पाउनेछन्।

पाँच जनाभन्दा बढीको परिवार भएमा प्रतिसदस्य सात सय रुपैयाँ  थप्नुपर्ने प्रावधान छ। ठूलो परिवारले दुई लाख रुपैयाँसम्मको उपचार सेवा पाउने बोर्डको भनाइ छ। बोर्डले तोकेका एक हजार एक सय सय ३३ प्रकारका औषधि, शल्यक्रियासहित जटिल रोगको जाँच तथा उपचार सेवा पनि बीमाबाट हुने गरेको छ।

प्रतिष्ठानका उपकुलपति गोरे गुरुङले भाषा, साहित्य, संगीत, नाट्य, चित्रकला, मूर्तिकला जस्ता क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका स्रष्टाको स्वास्थ्य बीमा गरिने बताए।

‘बीमाको प्रक्रिया अगाडि बढिसकेको छ, आवश्यकताका आधारमा स्रष्टाले यो सुविधा पाउनुहुन्छ’,उनले भने,‘यो कार्यक्रमको निरन्तरताका लागि बजेट थप्न सरकारसँग माग गरेका छौं।’

स्रष्टाको सम्मानसँगै दुःखसुखमा साथ दिने राज्यको संस्था छ भनेर अनुभूति दिलाउन स्वास्थ्य बीमा कार्यक्रम ल्याइएको उपकुलपति गुरुङले बताए। सुरुवातमा थोरै संख्यामा स्रष्टाको बीमा गरिन लागिए पनि यसबाट सकारात्मक सन्देशप्रवाह हुने प्रतिष्ठानका पदाधिकारीको बुझाइ छ।

धौलागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष काजी रोशनले स्वास्थ्य बीमा कार्यक्रमबाट आर्थिक समस्या झेलिरहेका कवि, लेखकलाई बढी लाभ हुने बताए। ‘जिल्ला तहमा पनि धेरैले बीमाबारे चासो लिएका छन्, मापदण्ड बनाएर यसलाई छिटो लागू गर्नुपर्छ’,उनले भने।

प्रतिष्ठानले ‘गण्डकी प्रतिभा उपचार कोष’को अवधारणा पनि अघि सारेको छ। उपचार पाउनबाट कोही पनि स्रष्टा, सर्जकले वञ्चित हुन नपरोस् भनेर कोष स्थापनाको योजना ल्याइएको कुलपति खड्काले बताए। गत वर्ष स्थापना भएको प्रतिष्ठान भाषा, साहित्य, कला र संस्कृतिको जर्गेनामा क्रियाशील छ। रासस

प्रकाशित: १ फाल्गुन २०७९ ०५:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App