ढाकामोहन बराल
‘तँलाई भनेर नलाग्ने भयो अब। कति धेरैले कुरा काट्छन्। बानी सपारे आफैंलाई राम्रो हुने हो।’ तल मैदान बजार झर्दै गरेका धिरबहादुर काकाले भने।
सँगै आएको साथीलाई देखाउँदै आइतेले भन्यो, ‘मलाई के भन्नुहुन्छ। यसैको पिरले म पनि धेरै पिउने भएको छु आजभोलि। यसलाई एक्लै छोड्न पनि भएन।’
धिरबहादुर काकाले फेरि सोधे, ‘तँ कति गतिलो थिइस् र? उस्तै त होस्। कहिले पिउन छोड्याथिस्?’
आइतेले भन्यो,‘छोड्छु भन्या, यस्तै पर्दछ।’
उता आइतेको साथीको पनि खुट्टा ठिक ठाउँमा थिएन।
धिरबहादुर काकाले सोधे, ‘केको पिर हो उसको फेरि?’
आइतेले साथीको अनुहारमा हेर्दै भन्यो,‘ल तपाईलाई थाहा छैन? यसको त मुटु र कलेजो सबै बिग्रेको छ रे।’
‘त्यसो हो भने दुवैले रक्सी खान छोड अब’ भन्दै काका तल्लो बाटो लागे।
अलि पर पुगेपछि आइतेले चिच्याउँदै सोध्यो, ‘आफू कता हो काका भन्दा पनि भन्नुभएन।’
‘आज भरे घरमा साथी आउने रे। भाले काटेर राखेको छु। मैदान बजारमा खुकुरी रम लिन झरेको।’ त्यस्तै चिच्याएको जवाफ आयो।
भाले र खुकुरी रमको नाम सुनेर आइते र उसको साथीको मुख फेरि रसायो।
प्रकाशित: २८ माघ २०७९ ०७:०२ शनिबार