२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

भूपिका ११ कविता १२ कविको स्वरमा वाचित सिडी सार्वजनिक

साहित्यिक पत्रकार संघले म्यूजिक नेपालसँगको सहकार्यमा नेपाली कविताका शिखर स्रष्टा भूपि शेरचनका ११ कविता १२ कविको स्वरमा वाचित सिडी काव्याञ्जली सार्वजनिक गरेको छ।

सो सिडी थाहा पुस्तकालयमा भूपि शेरचनको अठासीऔं जन्मजयन्तीको अवसरमा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथि कवि गीतकार एवं पूर्वमन्त्री शंकर कोइराला, कवि भूपि शेरचनकी धर्मपत्नी कान्ति शेरचन, साहित्यकारहरू अशेष मल्ल, विश्वविमोहन श्रेष्ठ, प्रमोद प्रधान, नरेन्द्रबहादुर श्रेष्ठ, साहित्यिक पत्रकार संघका सभापति राधेश्याम लेकाली र म्यूजिक नेपालका प्रमुख सन्तोष शर्माले लोकार्पण गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि कोइरालाले भूपिकै कविता पढेर आफू र आफ्नो पुस्ताले कविता र गीत लेख्न थालेको स्मरण गरे। उनले भूपिका सरल कवितामा गहन भाव पाइने हुनाले ती सधैं लोकप्रिय रहेको बताए।

नाटककार एवं कवि अशेष मल्लले काठमाडौंमा छात्रको  रूपमा रहेका युवा पुस्ताका लेखकहरूले कविद्वय भूपि शेरचन र वासु शशीबाट पाएको स्नेह, सहयोग र प्रेरणाको चर्चा गरे।

अर्का कवि एवं साहित्यिक पत्रकार संघका पूर्व सभापति विश्वविमोहन श्रेष्ठले भूपि शेरचनसँग संघको प्रगाढ सम्बन्ध रहेको बताउँदै उनकै स्वरमा वाचन गरिएका कविता खोजेर सिडीको रूपमा ल्याउनुपर्ने आवश्यकता औंल्याए।

वरिष्ठ समालोचक प्रमोद प्रधानले भूपिलाई छाडेर नेपाली कविताको इतिहास लेख्नै नसकिने तथ्यमाथि प्रकाश पार्दै पछिल्लो पुस्ताका कविहरूमा सबैभन्दा बढी प्रभाव भूपिकै रहेको बताए।

साहित्यिक पत्रकार संघका सभापति राधेश्याम लेकालीले भूपिको प्रतिमा स्थापनासहित भूपिसम्बद्ध अन्य काम गर्ने संघको योजना बताए।

म्यूजिक नेपालका सन्तोष शर्माले आउँदो दिनमा पनि साहित्य प्रवर्द्धनका लागि संघसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा कवि एवं साहित्यिक पत्रकार संघका पूर्व सभापति नरेन्द्रबहादुर श्रेष्ठ र कवि भूपि पत्नी कान्ति शेरचनले पनि बोलेकी थिइन्।

श्रद्धेय कवि भूपिप्रति काव्यिक श्रद्धाञ्जली अर्पण गर्ने उद्देश्यले म्यूजिक नेपालद्वारा साहित्यिक पत्रकार संघको सहकार्यमा तयार गरिएको ‘काव्याञ्जली’ मा कवि भूपि शेरचनका ११ ओटा कवितालाई समकालिन नेपाली साहित्यको कविता विधामा स्थापित १२ जना कविद्वारा वाचन गरेर तयार गरिएको ‘काव्यान्जली’  कविको अठासीऔं जन्मजयन्तीको अवसरमा म्युजिक नेपालको चालीसौं तथा साहित्यिक पत्रकार संघको स्वर्ण महोत्सवको अवसरमा उत्पादन गरिएको हो।

यस एलबममा कविहरू: तुलसी दिवसले ‘हामी’,  कृष्णभूषण बलले ‘यो मेरो ..., नरेन्द्रबहादुर श्रेष्ठले ‘म’, विश्वविमोहन श्रेष्ठले ‘मैनबत्तीको शिखा’, अशेष मल्लले ‘हल्लै हल्लाको देश’, राधेश्याम लेकालीले ‘सर्पको खोजीमा’, नवराज कार्कीले ‘घुम्ने मेचमाथि अन्धो मान्छे’, कोमल वलीले ‘प्रजातन्त्र दिवस’, सीता पाण्डेले ‘हल्लै हल्लाको देश’, मोमिला जोशीले ‘सिता’, बाबा बस्नेतले ‘मर्दैछ’ र सन्ध्या पहाडीले ‘पहिरो जाने पहाडमुन्तिर’ कविता वाचन गरेका छन्।

नेपाली वाङमयका अमर साधक मूर्धन्य कवि भपि शेरचनको अठासीऔं जन्मजयन्तीको अवसरमा  म्यूजिक नेपालले उत्पादन गरेको ‘काव्याञ्जली’ को साहित्यिक पत्रकार संघले लोकार्पण कार्यक्रममा विभिन्न स्रष्टाको उपस्थिति रहेको थियो। २०५८ सालमा रेकर्ड गरिएको ‘काव्याञ्जली’ भर्खरै मात्र सिडी निकालिएको छ।

प्रकाशित: १३ पुस २०७९ ०५:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App