२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

भ्रष्टाचारविरुद्धका कविता पुस्तक लोकार्पण तथा चार हजार डलरका पुरस्कारहरू प्रदान

हेम-सरिता पाठक फाउन्डेसनले प्रकाशित गरेको ‘भ्रष्टाचारविरुद्धका कविता’ पुस्तकको प्रज्ञाभवनमा लोकार्पण भएको छ।

सो पुस्तकको लोकार्पण समारोहका प्रमुख अतिथि वरिष्ठ कलाकार हरिवंश आचार्य, फाउन्डेसनको अन्तर्राष्ट्रिय समितिकी अध्यक्ष जेनी पाठक, प्रमुख संरक्षक हेम पाठक, संरक्षक सरिता पाठक, राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, नेकपा माओवादी केन्द्रका नेता दीनानाथ शर्मा, नेकपा एमालेका नेता पूर्व सांसद् रामेश्वर फुयाँल, नेपाली कांग्रेसका नेता शोभाकर पराजुली, फाउन्डेसनका प्रमुख सल्लाहकार प्रेमराजा महत, सल्लाहकारहरू-मदन पाठक, देवेन्द्र सिटौला, डा. भीष्म भुषाल लगायतले गरेका थिए।

सो पुस्तकको सम्पादन हेम-सरिता पाठक फाउन्डेसन नेपाल शाखाका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीले गरेका थिए। उक्त अवसरमा हेम-सरिता पाठक फाउन्डेसनले सस्थाको ब्रोसर पनि सार्वजनिक गरेको थियो।

सोही समारोहमा हेम-सरिता पाठक फाउन्डेसनले मुलुकको पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएकोमा वरिष्ठ पत्रकार जीवराम भण्डारीलाई टंकप्रसाद-रमादेवी पाठक पत्रकारिता पुरस्कार प्रदान गरेको छ।

समारोहका प्रमुख अतिथि वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यले दुई हजार अमेरिकी डलर राशिको उक्त पुरस्कार उनलाई प्रदान गरेका हुन्।

नेपाली पत्रकारिता क्षेत्रमा करिब तीन दशकदेखि क्रियाशील रही योगदान पुर्‍याउँदै आएका पत्रकार भण्डारी हाल योहो टेलिभिजनमा समाचार प्रमुखको जिम्मेवारीमा छन्।

समारोहमा गायक नवीन पौडेललाई एक हजार अमेरिकी डलर राशिको हेम-सरिता पाठक अन्तर्राष्ट्रिय संगीत पुरस्कार तथा कवि मनोज विश्वकर्मालाई एक हजार अमेरिकी डलर राशिको भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय कविता पुरस्कार प्रदान गरिएको छ। साथै कार्यक्रममा पच्चीस उत्कृष्ट कविलाई प्रमाण-पत्र प्रदान गरिएको थियो।

समारोहमा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, नेकपा माओवादी केन्द्रका नेता दीनानाथ शर्मा, नेकपा एमालेका नेता पूर्व सांसद रामेश्वर फुयाँल तथा नेपाली कांग्रेसका नेता शोभाकर पराजुलीले समाज परोपकारी र राज्य लोकल्याणकारी हुन आवश्यक रहेको बताए।

समारोहमा प्रमुख अतिथि वरिष्ठ हास्यकलाकार हरिवंश आचार्य, प्रमुख सल्लाहकार प्रेमराजा महत, सल्लाहकारहरू-मदन पाठक, देवेन्द्र सिटौला, डा. भीष्म भुषाल, उग्रतारा माविका प्रधानाध्यापक डम्बरबहादुर छलान, सो विद्यालयका पूर्व अध्यक्ष हितमान तामाङ लगायतले पनि मन्तव्य राखेका थिए।

यसैगरी पुरस्कृत कवि मनोज विश्वकर्मा र दिलीप श्रेष्ठले कविता वाचन र गायक नवीन पौडेलले भ्रष्टाचारविरुद्धको गीत गाएका थिए।

समारोहमा फाउन्डेसनका प्रमुख संरक्षक समाजसेवी हेम पाठकले सस्थाको लक्ष्य, प्राप्ति र गतिविधिमा प्रकाश पार्दै देशलाई भ्रष्टाचारमुक्त पार्न फाउन्डेसन प्रतिबद्ध रहेको बताए। उनले कुनै पनि भ्रष्टाचारीलाई सामाजिक बहिष्कार गर्नुपर्ने पनि बताए।

समारोहमा फाउन्डेसनकी अध्यक्ष जेनी पाठकले संस्थाको गतिविधिबारे मन्तव्य राख्दै फाउन्डेसनले ७७ जिल्लाका गरिब तथा जेहेनदार विद्यार्थीको पहिचान गरी आवाससहित निःशुल्क शिक्षा प्रदान गर्दै आएको बताइन्।

यसैगरी समारोहमा फाउन्डेसनका नेपाल शाखाका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीले स्वागत मन्तव्य राखेका थिए भने वरिष्ठ समालोचक प्रमोद प्रधानले पुस्तकबारे बोलेका थिए।

फाउन्डेसनले मुलुकको सामाजिक, शैक्षिक, सांस्कृतिक र पत्रकारिता क्षेत्रको उन्नयनका लागि आर्थिक सहयोग र विभिन्न सचेतनामूलक कार्यक्रम मार्फत सहयोग पुर्‍याउँदै आएको छ। अमेरिकाको टेक्सासमा फाउन्डेसनको मुख्य कार्यालय रहेको छ।

सबैलाई शिक्षा र भ्रष्टाचारविरुद्धको अभियानमा रहेको समर्पित फाउन्डेसनले नेपाली विद्यार्थीका लागि १० हजार अमेरिकी डलर राशिको अमेरिकामा छात्रवृृत्ति खडा गरी सिन्धुपाल्चोक र साँखुको विद्यालयलाई आर्थिक सहयोग गर्दै आएको छ।

कार्यक्रमको सञ्चालन सञ्चारकर्मी पुनम पौडेलले गरेका थिए।

प्रकाशित: १३ पुस २०७९ ०४:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App