११ मंसिर २०८१ मंगलबार
image/svg+xml
कला

रथ रित्तो कि मन रित्तो?

नेवारी समुदायमा रथ तान्ने प्रचलनको अनुपम सांस्कृतिक महत्त्व छ। गैरनेवार भए पनि मसमेत रथ तान्ने जात्रामा धेरैपटक सहभागी भएको छु। रसिलो भिड, रोमाञ्चक मनस्थिति, साथीसँगीसँगको भेटघाट गर्ने सार्थक अवसर, जात्राको बहानामा अभिभावकलाई ढाँटेर हुने प्रेमीप्रेमिकाको सांस्कृतिक डेटिङ अनि उनीहरूले रथलाई साक्षी राखेर खाने कसम, यस्ता अनेकौं सन्दर्भसमेत रथ तान्ने जात्राभित्र जोडिएर आउँछन्। काठमाडौं उपत्यकाको रमाइलो विशेषता हो यो। काठमाडौं उपत्यकाले यस्ता सांस्कृतिक जात्रा मात्र जन्माएन, भाषा, साहित्य अनि संस्कृतिका अनेकौं सारथिसमेत जन्माएको छ।

काडमाडौंको संस्कृतिलाई विषयवस्तु बनाएर धेरै लेखकले कैयौं कृति लेखे। जति लेख पनि यहाँको संस्कृतिको अध्ययन सधैं अपुरो नै रहिरर्‍यो। अहिले पनि यस्ता कृति निरन्तर लेखिइरहेका छन् अनि भविष्यमा पनि सधैं लेखिइरहने निश्चित छ।

पछिल्लो समय शिखा बुक्सबाट प्रकाशित कथाकार रत्न प्रजापतिको कथासङ्ग्रह ‘रित्तो रथ’ यही सन्दर्भको निरन्तरता हो। रत्न प्रजापति चालीसको दशकदेखि लेखनमा सक्रिय कथाकार हुन्। यसअघि उनका ‘बिसन्चो’, ‘सेता बादल’, ‘बदाम बेच्ने केटी’ र ‘स्वच्छन्द साँझ’ कथासङ्ग्रह प्रकाशित भइसकेका छन्।

‘रित्तो रथ’ मा सामाजिक-सांस्कृतिक, यौनमनोवैज्ञिानिक र राजनीतिक विषयलाई केन्द्रमा राखेर लेखिएका ३२ वटा कथाहरू सङ्गृहीत छन्। यी कथामा यौनचेतना र यही चेतनाले विकास गरेको मनोविज्ञानलाई सामाजिक-सांस्कृतिक कलेबरमा प्रस्तुत गरिएको छ। सङ्ग्रहका धेरै कथामा काठमाडौं उपत्यकाको नेवारी संस्कृतिका विविध आयामलाई उतारिएको छ। कथाकार प्रजापति उपत्यकाको नेवारी संस्कृतिलाई राम्रोसँग बुझेका सर्जक हुन्।

आफू नै सहभागी भएका परिघटनालाई कथामा उतार्नको मजा लेखकलाई छुट्टै हुन्छ। सङ्ग्रहका कथा पढ्दा यही मजा कथाकार प्रजापतिले पनि लिएको अनुभूत हुन्छ। यस्तै विशेषता ‘रित्तो रथ’, ‘रङ्गीन बाफ’, ‘तेबाचाको फेसबुक स्टाटस’, ‘खर्पन’, ‘मुलाँ’, ‘तलमाथि’, ‘अर्कै घरबाट’ लगायतका कथामा पाइन्छ।

‘रित्तो रथ’ कथाले नेवारी सांस्कृतिक कलेबरमा युवती ज्ञानीमायाका यौन मनोवैज्ञानिक चेतनालाई देखाएको छ। आफ्नो चाहनाअनुरूप समय हिँडेसम्म भरिलो देखिएको रथलाई युवक नपाउने निश्चित भएपछि ज्ञानिमायाका आँखाले रित्तो देख्न थाल्छन्। कथाकार प्रजापतिको अर्को उल्लेख्य विशेषता राजनीतिक व्यङ्ग्य प्रहार गर्नु हो। सङ्ग्रहको पहिलो कथा ‘गन्ध’ मा सोझासाझा गाउँले पैसाले मात्तिएका ठेकेदार अनि आफैले जिताएका जनप्रतिनिधिबाटै कसरी ठगिन्छन् भन्ने सन्दर्भलाई सरल भाषामा देखाइएको छ। यस कथामा एउटा बुढो बाबु आफूभन्दा पहिला आफ्नै छोराको मृत्यु स्वीकार्न वाध्य छ। छोराको हत्या भए पनि प्रहरी, जनप्रतिनिधि तथा ठेकेदाररूपी डनहरूको मिलेमतो र दादागिरीसामु ऊ निरीह देखिन्छ।

‘सामाजिक तन्नेरी सुरक्षित तरुनी’ राजनीतिक चेतना भएको सशक्त कथा हो। यस कथाभित्र राजनीतिक यथार्थ र यौन मनोविज्ञानलाई उत्तिकै ओज दिइएको छ। एउटा तन्नेरी र सुन्तला बेच्ने तरुनी दुवैका यौनानुभूति उस्तै छन् अनि दुवैले सशस्त्र आतंककारी जत्थालाई आफ्नो प्राणभन्दा पनि प्यारा श्रीमान्-श्रीमती बुझाउँदाका व्यथा पनि उस्तै छन्।   ‘रङ्गीन बाफ’ यौनमनोवैज्ञानिक कथा हो। घरमा माया गर्ने श्रीमती हुँदाहुँदै पनि बाहिरका नारीप्रति लोभिने पुरुष मनोवृत्तिलाई यस कथाले देखाएको छ।

यी ‘रित्तो रथ’ कथासङ्ग्रहभित्रका केही प्रतिनिधि कथाहरू हुन्। यसरी हेर्दा कथाकार प्रजापतिका कथा चेतना र विषयवस्तुका दृष्टिकोणले सांस्कृतिक, राजनीतिक र यौनमनोवैज्ञानिक गरी मूलतः तीन खेमामा विभाजित भएका देखिन्छन्। सङ्ग्रहका सबै कथा समान हैसियतका छैनन्। विषयवस्तुगत सघनता र सार्थक उद्देश्यका दृष्टिकोणले ‘गन्ध’, ‘जाडो जिजीविषा’, ‘रित्तो रथ’, ‘सामाजिक तन्नेरी सुरक्षित तरुनी’ लगायतका केही कथा तागतिला देखिन्छन् भने ‘त्यो रात’, ‘उकुसमुकुस’, ‘उपदेश’ ‘धमिलो तस्बिर’ लगायतका केही कथा सापेक्षित रूपमा अलि दुर्बल देखिन्छन्। यद्यपि अधिकांश कथा सामाजिक-सांस्कृतिक, राजनीतिक र यौनमनोवैज्ञानिक धारमा रहेर पाठकको अन्तरमन भेदन गर्न सफल छन्। 

प्रकाशित: २ पुस २०७९ ०२:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App