लक्ष्मण अर्याल
‘यो मान्छे देउता हो देउता।’ एउटा अफवाहले कुराको बिउ छर्यो। छरिएको बिउ सबैतिर उम्रियो। समाजको पाटाभरि देउतै देउता फुल्यो। यता पनि देउता उता पनि देउता, देउतै देउताको माला उन्यो समाजले। यसरी अचानक देउता फुलेको देखेर समाज हर्षविभोर बन्यो। समाजले सोच्यो, ‘देउतै फुलेपछि अब हामी उभिएको यो धर्ती स्वर्ग बन्न कत्ति बेर लाग्दैन।’
अर्को दिन अर्को अफवाहले कुरा उछाल्यो, ‘दारी फुलेका, जुँगा फुलेका, कपाल पनि हिमाल बनेका, घुँडाको रोगले च्यापेका, उमेर पचाएका सबै सबै यामानको दारा निस्केका राक्षस हुन्। अझ यति मात्र होइन दीतिका सन्तान दैत्य नै हुन्। समाज फेरि जुर्मुरायो। एकैस्वरमा भन्यो, ‘होहोहो राक्षस नै हुन्। दैत्य नै हुन्।’
एक हप्ता यसैगरी बित्यो। हप्ता दिनपछि तेस्रो अफवाहले मुख खोल्यो, ‘उमेर खाएका देउता हुन् रे। बरु, ठिटाहरू पो राक्षस रहेछन्। पाताल लोकका पातालेहरूका डाम्ना पो रहेछन् ती त। होसियार, होसियार!’
अर्को एक हप्तापछि नयाँ उधुम भयो। काग करायो। काग कराएको मात्र हो,केही भएको थिएन। हत्त न पत्त चौथो अफवाह घाँटीको नसा चुँड्ला जसरी चिच्यायो, ‘कान लग्यो, कान लग्यो। ए साथी हो, कान लग्यो!’
सबै रोए, समाजै रोयो।
भने, ‘कान लग्यो। लौ न कान लग्यो। हामी बुच्चा भयौं।’ सबै रुँदै रुँदै कागको पछिपछि दौडे-कागको चुच्चोबाट थुतेर चुँडिएको आआफ्नो कान जोड्न।
चारै जना अफवाहहरू जोडजोडले हाँसिरहेका थिए। उनीहरू पो के कम थे र ? मौका खोजे राजनीति गरे।
प्रकाशित: १४ मंसिर २०७९ ०७:५० बुधबार