निलीमा आचार्य
यसैगरी बेलुकी हुन्छ
सधैं भएझैं
लोकगीत गाउँदै चराहरू गुँड पस्छन्
बकुल्ला कराउँछन्
सुकेका तालमा दिनभरि आहार खोजेर
रित्तो हात
खाली भुँडी र
लाचार आशा लिएर घर फर्किँदा
खेताला मेलाबाट घरतर्फ लाग्छन्
साँझलाई हातको हँसिया र पैतालाका
चालमा बाँध्ने
व्यर्थ प्रयास गर्दै
धुलो उडाउँदै गाईवस्तुका बगाल आउँछन्
सुक्खा मैदानमा दिनभरि चरेर
पछिपछि उनीहरूको सारथी
आफ्नो पुरानो छाता काखीमा च्याप्दै
विरहको धुनमा खुसीको गीत गाउँदै
आइरहेको हुन्छ
विरह नगाई कहिले खुसी नहुने
गोठालो
पर देखिएका नरिवलको बोटसँग
लुकमारी खेल्दै गरेका घामलाई
पहाडले आफ्नो सिन्दूरे घुम्टोले बेर्छ
ग्रास गर्छ घामका अपूर्ण आशाहरूलाई
बिस्तारै त्यो पल्लो डाँडाका दुई चुचुराभित्र
अदृश्य हुन्छ आकाशको निधारको
त्यो रातो टीको
यसैगरी दिन बित्छन्
महिनाले वर्षको चोलो भिर्छ
मौसम बद्लिन्छ
सम्वत फेरिन्छ
सार्कीले लगेको पिठो पनि तिर्छ
पारिजातले वासना समयमै छर्छ
सिमल फागुनमै फुल्ने गर्छ
महिषासुर पनि शरदमै मर्छ
सबै काम समयमै हुन्छन्
मात्र खडा हुँदैन
वर्ष दिनअघि लडेको त्यो बिजुलीको खाँबो
सबैको काम, तर मेरो होइन
सबैले गर्ने, तर मैले होइन
सबैको हो, तर कसैको होइन
यसैगरी
दिनपछि रात अनि रातपछि दिन हुन्छ
रामलाल
एकता, जाँगर र प्रगतिको भाषण छाँट्छन्
यसैगरी बेलुकी हुन्छ,
मोबाइलको मधुरो प्रकाशमा
बस्ती प्रकाशमय हुन्छ
तल्लो गाउँमा चार्ज भएका बेटरीको भरमा
बेलुकी संगीतमय हुन्छ
यसैगरी बेलुकी हुन्छ,
कुपीको प्रकाशमा कुनै नानीले रटेको सुनिन्छ
‘तमसो मा ज्योतिर्गमय’
बस्तीका एक हुल युवा विदेशिएका छन्
उन्नतिको शिखर चुम्न।
प्रकाशित: १४ मंसिर २०७९ ०७:३३ बुधबार