९ मंसिर २०८१ आइतबार
image/svg+xml
निर्वाचन विशेष

ठूला नेता कोही वडामै कोही पालिकामा पराजित

गोरखाका शीर्ष नेताहरु कोही वडामै कोही पालिकामा पराजित भएका छन्। जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आफ्नो गृह नगर जोगाउन सकेनन्।

कांग्रेससँगको तालमेल सफल नभएपछि उनले एमालेसँग तालमेल गर्दापनि जसपा उम्मेदवारलाई माओवादी उम्मेदवारले मेयरमा पराजित गरे। माओवादी उम्मेदवार बिवस चिन्तन मेयरमा विजयी बने। जसपाले पालुङटारमा तीनवटा वडा मात्रै जित्यो।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि आफ्नो वडा र गृहपालिका जिताउन सकेनन्। गोरखाको अधिकांश स्थानीय तहमा विजयी माओवादी केन्द्रले शीर्ष नेता नारायणकाजी श्रेष्ठको पालिका सिरानचोक र वडा नम्बर ८ गुमाउनुपर्‍यो। गृहवडा र पालिकामा कांग्रेस विजयी भएको छ। उनको पालिकामा माओवादी केन्द्रले तीनवटा वडा मात्रै जित्न सफल भयो।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले पनि आफ्नो वडा जोगाउन सकेनन्। त्यहाँ जनता समाजवादी पार्टीका उम्मेदवार विजयी बने। उनले आफ्नो वडा र गृह नगर पालुङटार जोगाउन सकेनन्। अघिल्लो निवार्चमा जितेको पालिकामा अहिले माओवादी केन्द्र विजयी बन्यो। उनको गृहनगर पालुङटारमा कांग्रेसले तीनवटा वडा मात्रै जित्यो।

नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले पनि आफ्नो गृहवडा जिताउन सकेनन्। परिवार दलले स्थानीय निर्वाचनमा एमालेलाई सघाउने बताएका उनको गृहवडा माओवादी केन्द्रले जितेको छ। उक्त पालिकामा उनले सहयोग गरेका नेकपा एमालेले एउटा पनि वडा जित्न सकेन।

एमाले केन्द्रीय सदस्य रामशरण बस्नेतले पनि आफ्नो गृहपालिका गोरखा नगर जिताउन सकेनन्। गृहवडा एमालेलाई जिताएका उनको गृह नगरमा माओवादी केन्द्रले जित्यो। नगरमा भने दुईवटा वडा नेकपा एमालेले जित्न सफल भयो।

प्रकाशित: ६ जेष्ठ २०७९ १०:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App