भोटेकोशीमा आएको विनाशकारी बाढीबाट त्रिशूलीको ढुंगे बजार क्षेत्रमा ठूलो जनधनको क्षति भयो । बाढीको जोखिमबारे प्रशासनले समयमै सूचना दिए पनि त्यसलाई बेवास्ता गर्दै पुलतिर जाने र बाढीको दृश्य हेर्न तथा भिडियो बनाउन खोज्ने क्रममा धेरैले अनाहकमा ज्यान गुमाएको स्थानीयको भनाइ छ ।
बाढीबाट जोगिएर विदुरतर्फ आएका स्थानीय दिपेश डंगोलका अनुसार प्रशासनले बाढी आउन सक्ने भन्दै घटना हुनुभन्दा करिब २० मिनेटअघि नै सूचना दिएको थियो । जोखिममा रहेका ढुंगे बजारका स्थानीयलाई सुरक्षित स्थानतर्फ, अर्थात् विदुरतिर आउन भनिएको भए पनि धेरै मानिस पसल बन्द गरेर त्रिशूली पुलतिर गएका थिए ।
डंगोलका अनुसार आफूहरूलाई पनि बाढीबारे सचेत गराइएको थियो । तर, केही मानिस भने सूचना पाउँदा पनि पुलमा पुगेर बाढी हेर्न र सेल्फी तथा भिडियो खिच्न थाले ।
‘बाढी आयो भनेर सचेत गराउँदा पनि धेरै जना पुलमा गएर सेल्फी खिच्न थाले । भिडियो बनाऔँ, धेरै भ्यूज आउँछ भन्दै उनीहरू उता गए,’ डंगोलले भने ।
उनका अनुसार पसल बन्द गरेर पुलतिर जानेको संख्या ठूलो थियो । बाढीको जोखिम थाहा हुँदाहुँदै पनि रमाइलो र दृश्य कैद गर्ने उद्देश्यले जोखिमयुक्त स्थानमा पुगेका उनीहरूमध्ये धेरै बाढीमा परेका थिए ।
डंगोलले समयमै सुरक्षित स्थानतर्फ गएको भए धेरैको ज्यान जोगिन सक्ने बताए । ‘उनीहरूले बच्न सोचेको भए बच्न सक्थे,’ उनले भने ।
बाढीको अवस्था भयावह बन्दै गएपछि त्रिशूली जलविद्युत् केन्द्र, बजारका घर तथा पुलसमेत आफ्नै आँखाअगाडि बगेको उनले बताए । आफू भने त्यही क्षेत्रबाट विदुरतर्फ आएर सुरक्षित हुन सफल भएको उनको भनाइ छ ।
डंगोलका अनुसार विपद्को समयमा प्रशासनको सूचना र चेतावनीलाई बेवास्ता गर्ने प्रवृत्ति अत्यन्त जोखिमपूर्ण देखिएको छ । ‘अहिलेका मान्छे नै अटेरी हुन् । न प्रशासनले भनेको मान्छन्, न आफूभन्दा ठूला र आफन्तले भनेको मान्छन्,’ उनले भने ।
भोटेकोशीको बाढीले पूर्वसूचना र जोखिमको जानकारी हुँदाहुँदै पनि मानिसहरू सुरक्षित स्थानमा जानुको साटो जोखिमको केन्द्रमै पुगेको देखिएको छ । बाढीको दृश्य खिच्ने, सेल्फी लिने वा भिडियो बनाएर सामाजिक सञ्जालमा राख्ने होडले सामान्य सावधानीसमेत ओझेलमा पर्दा धेरैले ज्यान गुमाउनुपरेको स्थानीयको भनाइ छ ।
प्रकाशित: १२ भाद्र २०८३ १५:४२ शुक्रबार

-600x400.jpg)

-600x400.jpg)