भोटेकोशीमा आएको विनाशकारी बाढीले नुवाकोटको किस्पाङ गाउँपालिका–५, सिरुपानीस्थित माथिल्लो त्रिशूली–३ बी जलविद्युत् आयोजनाको कार्यालय तथा निर्माणस्थल बगाएपछि आयोजनामा कार्यरत कर्मचारी, परिवारका सदस्य तथा अन्य व्यक्ति सम्पर्कविहीन भएका छन्।
त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार बाढीपछि आयोजनामा कार्यरत कर्मचारी तथा उनीहरूका परिवार, निर्माण व्यवसायीका कामदार, परामर्शदाता, सुरक्षा गार्ड र इन्टर्नसहित २१३ जना सम्पर्कविहीन भएका छन् ।
कम्पनीका अनुसार आयोजनामा कार्यरत आफ्ना तीन कर्मचारी, परामर्शदाता कम्पनी चिलिमे इन्जिनियरिङ एन्ड सर्भिसेस कम्पनी लिमिटेड (CHESCO)का एक जना, HNAC-JIANGHE का दुई जना तथा निर्माण व्यवसायीका ८५ जना कामदार सम्पर्कमा आएका छन्। आवश्यक परेकालाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको कम्पनीले जनाएको छ।
बाढी आएको भोलिपल्ट, भदौ ११ गते बिहान हेलिकोप्टरमार्फत कम्पनीका कर्मचारी घटनास्थल पुगेका थिए। त्यहाँ आयोजनाको कार्यालय तथा निर्माणस्थल पूर्ण रूपमा बगरमा परिणत भएको पाइएको कम्पनीको भनाइ छ।
कम्पनीले घटनापछि खोज तथा उद्धारका लागि गृह मन्त्रालय र विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखालाई पत्राचार गरेको जनाएको छ। नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमसँग समेत उद्धार तथा सम्पर्कका लागि आवश्यक सहयोग र समन्वय गर्न अनुरोध गरिएको थियो।
घटनास्थलसम्म पुग्नै चुनौती
बाढीले सडक तथा भौतिक संरचना बगाएपछि घटनास्थलमा स्थलमार्गबाट पुग्ने अवस्था नरहेको कम्पनीले जनाएको छ। त्यसैले सम्पर्कविहीनहरूको खोजीका लागि घटनास्थलमा एक्स्काभेटरलगायत आवश्यक उपकरण पुर्याएर उत्खनन गर्नुपर्ने अवस्था रहेको कम्पनीले जनाएको छ ।
‘कार्यालय र निर्माणस्थल पूर्ण रूपमा बगरमा परिणत भएको अवस्था छ। विभिन्न उपकरण लगेर उक्त स्थानमा उत्खनन गर्न आवश्यक देखिएको छ,’ कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ, ‘स्थलमार्गबाट त्यहाँ जाने कुनै पनि माध्यम नभएकाले सरकार तथा घटनास्थलमा परिचालित संयन्त्रसँग निरन्तर समन्वय गरी एक्स्काभेटर लगेर उत्खनन गर्न पहल भइरहेको छ।’
बाढी आएको जानकारी पाउनासाथ कम्पनी व्यवस्थापनले सम्बन्धित सबै निकायलाई मौखिक तथा लिखित रूपमा जानकारी गराएर उद्धारका लागि पहल गरेको जनाएको छ। व्यवस्थापनको टोलीसमेत नुवाकोट पुगेर उद्धार तथा सम्पर्क स्थापनाका लागि प्रयासरत रहेको कम्पनीले जनाएको छ।
अझै को–को सम्पर्कविहीन
कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार आयोजनाका २१ कर्मचारी तथा सात परिवारका सदस्य गरी २८ जना अझै सम्पर्कमा आएका छैनन्। सम्पर्कविहीन कर्मचारीमा आयोजना प्रमुख इन्दीबर घिमिरे, उपप्रबन्धक प्रकाशनिधि तिवारी, सहायक प्रबन्धक राजेश शर्मा, इन्जिनियर सोमनाथ पौडेल, प्रमिला पाठक र दिपेश श्रेष्ठलगायत छन्।
त्यस्तै, चिलिमे इन्जिनियरिङ एन्ड सर्भिसेस कम्पनी लिमिटेडका १२ जना कर्मचारी, काठमाडौं विश्वविद्यालयबाट इन्टर्नसिपका लागि आयोजनामा पुगेका तीन विद्यार्थी र आयोजनाका सुरक्षा गार्ड जयबहादुर गुरुङसमेत सम्पर्कविहीन रहेको कम्पनीले जनाएको छ।
कम्पनीले सार्वजनिक गरेको विवरणमा निर्माण व्यवसायी तथा अन्य समूहका व्यक्तिहरूको अवस्थासमेत समेटिएको छ। बाढीले आयोजनास्थल पूर्ण रूपमा ध्वस्त बनाएपछि सम्पर्कविहीनहरूको वास्तविक अवस्था पत्ता लगाउन खोज तथा उद्धार टोलीलाई थप उपकरण र जनशक्ति आवश्यक देखिएको छ।
भोटेकोशीमा आएको बाढीले नुवाकोट र रसुवाका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। माथिल्लो त्रिशूली–३ बी आयोजनास्थलको अवस्था भने बाढीपछिको विनाशको गम्भीर उदाहरण बनेको छ। अहिले परिवारजन तथा सहकर्मीहरू सम्पर्कविहीन रहेका आफ्ना आफन्तको सकुशल उद्धारको प्रतीक्षामा छन्।
प्रकाशित: १२ भाद्र २०८३ २०:३४ शुक्रबार

-600x400.jpg)

