नेपाल शिक्षक महासङ्घले चलचित्र 'मास्टर्नी' को प्रवर्द्धनात्मक गीतप्रति आपत्ति जनाएको छ। महासङ्घको राष्ट्रिय समितिले एक विज्ञप्ति जारी गर्दै उक्त गीतको प्रयोग नगर्न माग गरेको हो।
महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा संयुक्त रूपमा जारी गरिएको विज्ञप्तिमा उक्त प्रवर्द्धनात्मक (प्रोसोनल) गीतमा प्रयोग गरिएका शब्द र भाव संयोजनप्रति तीव्र असन्तुष्टि व्यक्त गरिएको छ।
भर्खरै सार्वजनिक भएको उक्त गीतमा महिला शिक्षकप्रति लक्षित गरी अमर्यादित शब्द र भाव संयोजन गरिएको र शिक्षण पेशाको गरिमामाथि गम्भीर प्रहार भएको विज्ञप्तिमा उल्लेख छ।
`उक्त गीतले निरन्तरता पाएमा त्यसबाट उत्पन्न हुन सक्ने असहज परिणामप्रति चलचित्र निर्माता र त्यससँग सम्बन्धित कलाकारहरू नै पूर्ण रूपमा जिम्मेवार हुनेछन्,´ विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित: १ श्रावण २०८३ ०८:५८ शुक्रबार



