१९ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

पूर्व राष्ट्रिय खेलाडी गौचनको फुटबल एकेडेमी सञ्चालनमा

लामो समय जापान बस्दै आएका पूर्व राष्ट्रिय खेलाडी बसन्त गौचनले पोखरा २७ रिठेपानीमा फुटबल एकेडेमी सञ्चालनमा ल्याएका छन। व्यक्तिगत १५ रोपनी क्षेत्रफल जग्गा भाडामा लिएर गौचनले बि.जी फुटबल एकेडेमी सञ्चालनमा ल्याएका हुन्। एकेडेमीको शनिबारदेखि विधिवत रुपमा उदघाटन गरिएको हो।  

एकेडेमीको उदघाटन गर्दै अखिल नेपाल फुटबल संघका बरिष्ठ उपाध्यक्ष बीरबहादुर खड्काले फुटबल एकेडेमीलाई एन्फाले आवश्यक प्रशिक्षक तथा खेल सामाग्री सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले एकेडेमीले आवश्यक पर्ने प्रशिक्षक र खेल सामाग्री माग गरे उपलब्ध गराउने स्पष्ट पारे। उपाध्यक्ष खड्काले बि.जी फुटबल एकेडेमीले फुटबल विकासमा नयाँ आयाम थपिने विश्वास गर्दै आवाससहितको व्यवस्था गर्न समेत आग्रह गरे। आवाससहितको एकेडेमीलाई एन्फाले सहयोग गर्ने दोहोर्याए।  

पोखरा महानगरपालिका वडा नं २७ का वडाध्यक्ष पूर्णबहादुर गुरुङले फुटबल एकेडेमीको लागि आवश्यक सबै खाले सहयोग वडाले गर्ने प्रतिबद्धता जनाए। फुटबल एकेडेमी वडाकै गौरवको विषय भएको भन्दै स्थानीय क्लब, आमा समूह, संघसंस्था सबैले सहयोगी भूमिका खेल्नुपर्नेमा जोड दिए।  अखिल नेपाल फुटबल संघका पूर्व उपमहासचिव गणेशबहादुर भट्टराईले खेलकुदको महत्व विद्यालयबाटै बुझाउनुपर्ने बताए। उनले खेलकुदको महत्व बुझाउन नसक्दा गलत सस्ँकारमा फस्ने भन्दै विद्यालयस्तरबाटै खेलकुदको महत्व बुझाउन जरुरी रहेको उल्लेख गरे।  

एकेडेमीका संस्थापक बसन्त गौचनले आफुले जापानमा सिकेको सीपलाई एकेडेमी मार्फत उजागार गर्ने बताए। ‘विरुवा रोपेर मात्रै नहुने भन्दै विरुवाको संरक्षण, गोडमेल र व्यवस्थापन गर्न सकेमात्रै रुख बन्छ’उनले भने–‘एकेडेमी सञ्चालन गरेर मात्रै हुदैन्। संरक्षण र व्यवस्थापन गर्नु उत्तिकै चुनौति छ।’ उनले जापानमा ८ वर्षदेखि १६ वर्ष उमेर समूहको एकेडेमीलाई प्रशिक्षण दिदैं आएका छन। उदघाटन समरोहमा गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य दिलबहादुर गुरुङ, सहारा हङकङका पूर्व अध्यक्ष दिपक गुरुङ, खेलकुद पत्रकार मञ्च गण्डकीका उपाध्यक्ष सुरज श्रेष्ठ लगायतले एकेडेमीको सफलताको शुभकामना व्यक्त गरेका थिए।  

बि.जी फुटबल एकेडेमीको जापानस्थित फन रुट्ससहित अन्य विभिन्न एकेडेमीसँग सहकार्य गर्ने उल्लेख छ। जर्मनीको जुगेण्ड फुटबल एकेडेमी, कोलोनसँग द्धिपक्षीय सम्झौता भईसकेको समेत बि.जी एकेडेमीले जनाएको छ। फनरुट्सकै सहयोगमा यु १२ को नेपाली टोली वर्षेनी जापानमा फुटबल प्रतिस्पर्धाको लागि जाने गरेको छ। एकेडेमीका निर्देशक राजेन्द्र तामाङले एकेडेमीमा यु ८ देखि यु १५ सम्मका बालकहरु एकेडेमीमा प्रशिक्षण रहेका छन्। विभिन्न उमेर समूहका झण्डै ४० जना खेलाडीहरु प्रशिक्षणरत छन्। एकेडेमीमा बरिष्ठ फुटबल प्रशिक्षक शम्भु केसीको टोलीले प्रशिक्षण गराउने छ।  

प्रकाशित: २६ कार्तिक २०७९ १०:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App