२९ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

नवौँ राष्ट्रिय खेलकुदः बुद्धिचालतर्फको महिला क्लासिकलमा त्रिभुवन आर्मीलाई स्वर्ण

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत गोरखामा जारी बुद्धिचाल प्रतियोगितामा महिलातर्फको क्लासिक इभेन्टमा त्रिभुवन आर्मी क्लबले स्वर्ण पदक जितेको छ।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लबकी सुजना लोहनीले क्लासिक चरणमा नौ अङ्क प्राप्त गर्दै स्वर्ण पदक जित्न सफल भएकी हुन्। प्रतियोगितामा लोहनीले क्लासिक चरणका सबै नौ खेल सम्पन्न हुँदा सबै खेलमा जित निकाल्न सफल भएको निर्णायक दीपेश गिरीले जानकारी दिए।

लोहनीले क्लासिक इभेन्टको पहिलो चरणमा बागमती प्रदेशकी मार्सल तामाङ, दोस्रो चरणमा सशस्त्र प्रहरी बलकी सुरुची थिङ, तेस्रो चरणमा त्रिभुवन आर्मी क्लबकी सिन्दिरा जोशी र चौथो चरणमा प्रदेश नं १ की खुश्बु थापालाई पराजित गरेकी थिइन्।

त्यस्तै क्लासिकल चरणको पाँचौँ चरणको खेलमा लोहनीले प्रदेश नं १ की खेलाडी कृतिसारा अधिकारी, छैटौँ चरणको खेलमा नेपाल पुलिस क्लबकी पूनम प्रसाईँ, सातौँ चरणको खेलमा गण्डकी प्रदेशकी पूजा भण्डारी, आठौँ चरणको खेलमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)की खेलाडी शान्ति धमला र नवौँ चरणमा एनआरएनएकी सुशीला गुरुङलाई पराजित गरेकी हुन्।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लबकै सिन्दिरा जोशीले सात खेलमा जीत र एक खेलमा ‘ड्र’ निकाल्दै रजत पदक जित्न सफल भएकी छन्। त्यस्तै प्रदेश नं १ की खुश्बु थापाले छ खेलमा जीत र एक खेलमा ‘ड्र’ निकाल्दै कास्य पदक प्राप्त गर्न सफल भएको आयोजकले जनाएको छ।

स्वर्ण पदक विजेता लोहनीले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला क्लासिकतर्फको क्लासिकल इभेन्टमा सबै खेल जितेर स्वर्ण पदक विजेता बनेकी थिइन्।

प्रकाशित: ३१ आश्विन २०७९ १४:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App