१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

नेपाल फाइनलमा फेरि चुक्यो

बंगलादेशसँग पराजित भएपछि दर्शकसँग नेपाली टोली (माथि)। पहिलोपटक साफ च्याम्पियन हुन सफल बंगलादेशी टोली। तस्बिर : प्रसन गुरुङ:नागरिक <br>

नेपाली महिला टोली साफ महिला च्याम्पियनसिपको फाइनलमा सोमबार बंगलादेशविरुद्ध मैदान उत्रँदा आफ्नो छवि बदल्ने अवसर थियो। तर बंगलादेशलाई ३–१ को नतिजा सुम्पिएसँगै नेपाल पुनः साफ महिला च्याम्पियनसिपको उपविजेतामा सीमित भएको छ। बंगलादेश भने दक्षिण एसियाली महिला फुटबलमा नयाँ विजेताका रूपमा उदाएको छ।

नेपालले गत वर्ष त्रिपुरेश्वरस्थित दशरथ रंगशालामै बंगलादेशविरुद्ध खेलेको खेल घरेलु मैदानमा खेलेको पहिलो अन्तर्राष्ट्रिय खेल थियो। त्यसको करिब एक वर्षपछि नेपाली महिला खेलाडीलाई सोही मैदानमा सोही प्रतिद्वन्द्वीविरुद्ध सुखद नतिजा ल्याउँदै इतिहास कोर्ने सुनौलो अवसर थियो। तर नेपाली टोलीले सो अवसरको सदुपयोग गर्न सकेन।  

१५ हजार सात सय ७० दर्शकले भरिभराउ दशरथ रंगशालामा खेल सुरु भएको केही मिनेटपछि नै बंगलादेश नेपालमाथि हाबी बन्यो। १३औं मिनेटमा साम सुनाहरको गोलमा बंगलादेशले अग्रता लिएको थियो। उनी मैदान प्रवेश गरेको तीन मिनेटमै बंगलादेशका लागि गोल खाता खोल्न सफल भएकी थिइन्। उनले मोनिका चक्माको पासलाई जाली चुमाएकी थिइन्। उनी १०औं मिनेटमा जहान सोप्नाको स्थानमा मैदान प्रवेश गरेकी थिइन्। ४२औं मिनेटमा बंगलादेशले अग्रता दोब्बर पार्‍यो। बंगलादेशका लागि श्रीमोती कृष्णरानी सरकारले गोल गरेकी थिइन्।  

७०औं मिनेटमा अनिता बस्नेतको गोलमा नेपालले खेलमा फर्कने संकेत गरेको थियो। तर त्यसको सात मिनेटपछि नै सरकारको व्यक्तिगत दोस्रो गोलमा बंगलादेशले आफ्नो अग्रता ३–१ मा पुर्‍याएको थियो। बंगलादेशसँग नेपालले सिनियर महिलामा व्यहोरेको यो पहिलो हार हो।  

सन् २०१० बाट सुरु भएको प्रतियोगिताको छैटौं संस्करणसम्म आइपुग्दा नेपाल उपविजेतामा सीमित भएको यो पाँचांै पटक हो। सन् २०१०, २०१२, २०१४, २०१८ मा पनि नेपाल फाइनल प्रवेश गरे पनि उपविजेतामा सीमित भएको थियो। चार पटक नै नेपाल भारतसँग निराश भएको थियो। सन् २०१६ मा भने नेपाल सेमिफाइनलमा भारतसँग पराजित भएको थियो। बंगलादेशका लागि भने सन् २०१६ मा फाइनल प्रवेश गर्नु नै अहिलेसम्मको उपलब्धि थियो। यस पटक भने बंगलादेशले आफूलाई साफको नयाँ च्याम्पियनका रूपमा उभ्याएको छ।  

नेपालका प्रशिक्षक कुमार थापाले नेपाली समर्थकसँग गरेको वाचा पूरा गर्न नसकेको भन्दै उनीहरूसँग माफी मागेका छन्। ‘हामीले जुन लक्ष्य लिएका थियौं, त्यो पूरा गर्न सकेनांै,’ थापाले भने, ‘आज पाएको अवसर गुमाउँदा हामी च्याम्पियन बन्ने अवसर गुमाउन बाध्य भयौं। तर जुन प्रकारको प्रदर्शन नेपाली टोलीले गरेको छ, यसले उनीहरूको भविष्य उज्ज्वल छ भन्ने देखाउँछ। उनीहरूलाई धेरैभन्दा धेरै खेल आवश्यक छ। क्षमतावान् खेलाडीको कमी छैन। यो प्रदर्शनबाट हामी सन्तुष्ट हुनुपर्ने धेरै कारण छन्।’

यता नेपालकी कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले राम्रो प्रदर्शन गरे पनि ससाना गल्तीका कारण सुरुआतमै गोल खाएको र त्यसले टोलीमा दबाब परेको बताइन्।  

‘हामीले सुरुआतमै सम्हालिएको प्रदर्शन गर्न सकेनाैं। जसले गर्दा गोल खान पुग्यौं,’ उनले भनिन्, ‘हामीले खेलमा फर्कने अवसर पाए पनि त्यसको सदुपयोग गर्न सकेनाैं। हामी नेपाली समर्थकलाई उपाधिको खुसी दिने लक्ष्यमा थियौं, तर त्यो पूरा गर्न सकेनाैं। तर पनि नेपाली समर्थकबाट प्रतियोगिता अवधिभर जुन प्रकारको माया र साथ पायौं, त्यसप्रति आभारी छौं।’

बंगलादेशविरुद्ध खेलसँगै नेपालका पुनम जर्घामगर, इन्दिरा राई र दीपा राईले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन्।

प्रकाशित: ४ आश्विन २०७९ ०१:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App