१० मंसिर २०८१ सोमबार
image/svg+xml
खेल

उपाधि खडेरी तोड्छौंः थापा

नेपालमा आयोजना हुन लागेको साफ महिला च्याम्पियनसिपका लागि नेपाली टोली अहिले बन्द प्रशिक्षणमा छ। अघिल्लो संस्करणमा उपविजेता भएको नेपालले घरेलु मैदानमा आयोजना हुने प्रतियोगितामा उपाधि उचाल्ने लक्ष्य लिएको छ। प्रशिक्षक कुमार थापाले दशरथ रंगशालामा हुने प्रतियोगितामा उपाधि उचाल्दै उपाधिको खडेरी तोड्ने बताएका छन्।

दक्षिण एसियाली महिला फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताका रूपमा हेरिने महिला साफ च्याम्पियनसिप नेपालमा आयोजना हुँदै छ। नेपाली टोलीले भने घरेलु मैदानमा आयोजना हुन लागेको प्रतियोगितामा उपाधि उचाल्ने रणनीतिका साथ तयारीलाई तीव्रता दिइरहेको छ। प्रतियोगिता सुरु हुन अब एक हप्ता मात्र बाँकी छ। साफ प्रतियोगिताका लागि अन्तिम टोलीको नाम पनि सार्वजनिक भइसकेको छ।

नेपालले घोषणा गरेको टोलीमा नियमित कप्तान रेनुका नगरकोटी र डिफेन्डर पूजा राना चोटका कारण बाहिरिन पुगेका छन् भने रेखा पौडेलले टोलीमा पुनरागमन गरेकी छिन्। नेपाली टोलीलाई नियमित प्रशिक्षण गराइरहेका प्रशिक्षक कुमार थापाले उपाधिको खडेरी तोड्ने र ट्रफी नेपालमा नै राख्ने गरी तयारी गरेको बताएका छन्।

सात साताको प्रशिक्षणका क्रममा विविध बाधा भएता पनि टोलीलाई मजबुत बनाउन प्रयास गरेको थपे। प्रशिक्षक थापा कमभन्दा कम गल्ती गर्नेमा केन्द्रित भएको र गोल गर्ने रणनीतिका साथ टोलीलाई मैदान उतार्ने लक्ष्यमा हुनेछन्। पहिलो प्राथमिकता भुटानसँगको खेल भएको र बाँकी खेलका लागि तत्काल रणनीति तयार गरेर टोली अगाडि बढ्ने प्रशिक्षक थापाले बताए।

‘फुटबलमा कमभन्दा कम गल्ती गर्नेले जित निकाल्न सक्छ। अघिल्लो संस्करणका कतिपय भिडियो नियाल्दा हाम्रो टोलीले धेरै गल्ती गरेको देखिन्छ। यो संस्करणमा हामी कमभन्दा कम गल्ती गर्दै गोल गर्ने लक्ष्यमा हुनेछौं।’ त्यसपछि मात्र नतिजाको कुरा हुन्छ,’ प्रशिक्षक कुमार थापाले भने, ‘सातै टोलीले यो संस्करणमा सहभागिता जनाउँदा बल्ल साफ प्रतियोगिताजस्तै भएको छ। भारतसँगै बंगलादेश र पाकिस्तान पनि बलियो अवस्थामा हुनेछन्। पहिलो प्राथमिकता भनेको भुटानसँगको खेल हो। त्यसपछि बाँकी खेलका लागि रणनीति बनाउँदै अगाडि बढनुपर्ने हुन्छ।’

साफले सार्वजनिक गरिसकेको समूह अन्तर्गत साबिक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान समूह ‘ए’ मा रहेका छन् भने आयोजक नेपाल समूह ‘बी’ मा रहेको छ। नेपाल रहेको समूहमा श्रीलंका र भुटान अटाएका छन्। यस संस्करण पाकिस्तान पनि समावेश छ। अघिल्लो संस्करणमा प्रतिबन्धका कारण सहभागी हुन नपाएको पाकिस्तानी टोलीले मजबुत प्रदर्शन गर्ने धेरैले अपेक्षा राखेका छन्। टोलीमा तीन नयाँ अनुहारले स्थान बनाएका छन्। घरेलु मैदानमा आयोजना हुन लागेको प्रतियोगिताको तयारी राम्रो भइरहेको र उपाधि जित्नेमा विश्वस्त भएको नेपाली टोलीकी स्ट्राइकर सावित्रा भण्डारी बताउँछिन्।

‘अघिल्ला संस्करणमा हामी उपविजेता हुँदा पीडा सबै खेलाडीमा परेको छ। यो संस्करणमा काठमाडौंमा हुँदै छ। दर्शकका साथ र माया पनि हाम्रा लागि हौसला हुनेछ। सामान्य गल्ती अघिल्लो पटकको प्रतियोगितामा भएका थिए। यो संस्करणमा हामीले सुधार गर्ने प्रयास गरेका छौं,’ स्ट्राइकर सावित्राले भनिन्, ‘अहिलेको टोली नयाँ र अनुभवी खेलाडीले भरिपूर्ण छ। तयारी राम्रो गरेका छौं। उपाधि उचाल्नेमा हामी विश्वस्त हुँदै आएका छौं।’

महिला साफको १२ वर्षे इतिहासमा नेपाल पटकपटक फाइनल प्रवेश गरे पनि उपाधि जित्न सकेको छैन। महिला साफका पाँच संस्करणमा नेपाल चारपटक उपविजेता बनेको छ। पाँचै पटक भारतले उपाधि जितेको छ। सन् २०१६ को महिला साफमा मात्र नेपालले फाइनल खेलेको थिएन। भदौ २१ देखि असोज ३ गतेसम्म हुने च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ मा छ। नेपालसँगै समूह ‘बी’ मा भुटान र श्रीलंका छन्।

यस्तै समूह ‘ए’ मा साबिक विजेता भारत, बंगलादेश, माल्दिभ्स र पाकिस्तान छन्। नेपालले आफ्नो दोस्रो तथा समूहचरणको अन्तिम खेल भदौ २८ गते श्रीलंकासँग खेल्नेछ। समूहचरणको खेलपछि समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। प्रतियोगिताको पाँचौं संस्करण सन् २०१९ मा विराटनगरमा आयोजना भएको थियो। उक्त संस्करणमा फाइनल यात्रा तय गरेको नेपालले भारतलाई नतिजा सुम्पिँदा नेपाल उपविजेतामा खुम्चिनुपरेको थियो।

प्रकाशित: १८ भाद्र २०७९ ००:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App