३ पुस २०८१ बुधबार
image/svg+xml
खेल

नवौँ राष्ट्रिय खेलकुद : गण्डकी प्रदेशस्तरीय प्रतियोगिता आजदेखि हुँदै

फाइल तस्बिर

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा छनोटका लागि आजदेखि गण्डकी प्रदेश स्तरीय प्रतियोगिता सञ्चालन हुँदैछ। प्रतियोगितामा गण्डकीका ११ जिल्लाका खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी तीन हजार २२३ जना सहभागी हुँदैछन्।

गण्डकी प्रदेशमा आगामी असोज २८ देखी कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेशले छनोट प्रतियोगिता सञ्चालन गर्न लागेको हो। छनोट प्रतियोगिता पोखरा रंगशालामा हुन लागेको हो। प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङका अनुसार प्रदेशस्तरीय प्रतियोगितामा ११ जिल्लाका महिला तथा पुरुष खेलाडी, प्रशिक्षक र व्यवस्थापक सहभागी हुँदैछन्। प्रादेशिक छनोटपछि प्रदेशको टोलीलाई बन्द प्रशिक्षणमा सहभागी गराइनेछ।  

सदस्य सचिव गुरुङका अनुसार जिल्ला छनोटमा पाँच हजार ६७७ खेलाडी सहभागी भएका थिए। प्रत्येक खेलमा एउटा प्रशिक्षक र एउटा  व्यवस्थापक राखिएको छ। प्रादेशिक छनोटमा कास्कीले ३५ वटै खेलमा सहभागिता जनाउने भएको छ भने मनाङले पाँच खेलमा मात्र प्रतिस्पर्धा गर्नेभएको छ।

 यही भदौ ८ देखी १४ गतेसम्म सञ्चालन भएको जिल्लास्तरीय छनोटबाट प्रादेशिक प्रतियोगिताका लागि खेलाडी छानिएका हुन्। प्रदेश स्तरीय प्रतियोगितका लागि खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी कास्कीबाट छ सय ७३, मुस्ताङबाट एक सय ६६, म्याग्दीबाट दुई सय ८३, बागलुङबाट तीन सय ६१, पर्वतबाट दुई सय २३, स्याङ्जाबाट तीन सय ४७ र तनहुँबाट तीन सय तीन खेलाडी छनोट भएका छन्।

यसैगरी लमजुङबाट दुई सय १३, गोरखाबाट दुई सय ३०, मनाङबाट ४६ र नवलपुरबाट तीन सय ७८ खेलाडी छनोट भएका छन्। गण्डकीले नवौँ राष्ट्रिय खेलकुदमा ३६ खेल र दुई प्रदर्शनी गरी ३८ वटै खेलमा सहभागिता जनाउने भएको छ। नवौँ राष्ट्रियमा गण्डकीबाट सात सय नौ खेलाडी सहभागी हुनेछन्। प्रतियोगितामा चार सय चार स्पर्धामा चार सय ११ पुरुष र दुई सय ९८ महिला सहभागी हुन लागेको परिषद्का उपाध्यक्ष ध्वजकुमार गुरुङले जानकारी दिए। 'जिल्ला, प्रदेश छनोट र बन्द प्रशिक्षणसम्म कूल  सात करोड ८५ लाख खर्च हुने अनुमान छ', उनले भने।  

राष्ट्रिय खेलकुद परिषद्ले यही भदौको २५ गतेभित्रमा सवै प्रदेशलाई खेलाडी, प्रशिक्षक र व्यवस्थापकको नाम दर्ता गर्न समयसीमा तोकेको छ। नवौँ राष्ट्रिय खेलकुदमा तीन विभागीय, सात प्रदेश र एनआरएनएका खेलाडी सहभागी हुनेछन्। प्रतियोगितामा तीन सय ९३ स्वर्ण, तीन सय ९३ रजत र ६०० कास्य पदकका लागि खेलाडीबीच प्रतिस्पर्धा हुने बताइएको छ।

प्रकाशित: १६ भाद्र २०७९ ०२:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App