८ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

कोभिडपछि राष्ट्रिय भलिबलको रौनक फर्काउँदै नवआदर्श

पुरुष तर्फ उदघाटन खेल नेपाल पुलिस क्लब र बुटवलको मणिमुकुन्द भलिबल क्लब बीच

महिला तर्फ नेपाल पुलिस क्लबले गण्डकी प्रदेश बीच प्रतिस्पर्धा

लामाचौरस्थित नवआदर्श सामुदायिक विकास समाज पोखराले तीजे मेलासँगै राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने बारे पत्रकार सम्मेलन मार्फत जानकारी गराउँदै। तस्बिर उमेश पुन÷नागरिक

कोरोना भाइरसको त्रासले गरिएको लकडाउनले रोकिएको पोखरा–१९ लामाचौरको तीजेमेलासँगै राष्ट्रिय महिला भलिबल फेरी शुरु हुदैं छ। महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा नवआदर्श सामुदायिक विकास समाजले वर्षेनी तीजे मेलासँगै राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ। प्रतियोगिताको पहिलो दिन नै नेपाल पुलिस क्लबको दुवै टोलीले उदघाटन खेल खेल्ने छन।  

नेपाल पुलिस क्लबले बुटवलको मणिमुकुन्द भलिबल क्लबसँग प्रतिस्पर्धा गर्दै पुरुष तर्फ उदघाटन खेल खेल्ने छ। त्यसपछि विभागीय क्लब त्रिभुवन आर्मी क्लबले घरेलु टोली गण्डकी प्रदेशसँग प्रतिस्पर्धा गर्ने छ। महिला तर्फको उदघाटन खेल नेपाल पुलिस क्लबले गण्डकी प्रदेशसँगै प्रतिस्पर्धा गर्दै शुरुवात गर्ने छ। दोस्रो खेल न्यु डायमण्ड युथ स्पोर्टसले त्रिभुवन आर्मी क्लबसँग खेल्ने खेल तालिका सार्वजनिक गरिएको छ।  

कोभिड–१९ले दुईवर्ष स्थगित गरेको संस्थाले फेरी मेलासँगै भलिबलको रौनकलाई फर्काउने प्रयासमा जुटेको छ। भलिबल प्रतियोगिता यही भदौ ११ गतेदेखि शुरु हुने छ। भलिबल प्रतियोगितासँगै तीजे मेलाको रौनक हेर्न लामाचौर पुग्नुपर्छ भन्ने सन्देश दिदैं आएको संस्थाले यो वर्ष विगतमा झैं महिला र पुरुष राष्ट्रिय भलिबल गर्ने छ। ‘भलिबलमा महिला तथा पुरुष तर्फ विभागीय टोलीले आफनो दरिलो उपस्थिति जनाउने छन्  ‘लिगकम नकाउटमा खेलाईने छ। चार दिन प्रतिस्पर्धा हुने छ,’ संस्थाका पूर्व अध्यक्ष एवं सूचना तथा सञ्चार संयोजक बुद्धिबहादुर खत्री क्षत्रीले बताए ।  

महिला तर्फ गण्डकी प्रदेशको कप्तानी नेपाल महिला राष्ट्रिय भलिबल टोलीकी कप्तान समेत रहेकी अरुण शाहीले गर्ने तय भईसकेको छ। पुरुष तर्फको कप्तानी हरि पाण्डेले गर्ने छन्। हरि पाण्डेकै कप्तानीमा गण्डकी प्रदेशले प्रथम टाईगर कप आमन्त्रित भलिबल प्रतियोगिताका उपाधि घरेलु कोर्टमा उचालेका थियो। प्रतियोगितालाई विशेष सहयोगीको रुपमा पोखरा महानगरपालिकासँगै स्थानीय वडा कार्यालय रहेका छन्।  

चारदिने प्रतिस्पर्धामा महिला तर्फ तीन विभागीय टोलीलाई गण्डकी प्रदेशसँगै न्यु डायमण्ड युथ स्पोर्टस क्लबले चुनौति प्रस्तुत गर्ने छ। पुरुष तर्फ पनि विभागीय टोलीहरुसँग गण्डकी प्रदेश र बुटवलको मणिमुकुन्द भलिबल क्लबले प्रतिस्पर्धा गर्ने छन्। ‘महिला तथा पुरुष विजेताले समान १ लाख ५० हजार राशीको पुरस्कार जित्ने छन,’ उनले भने। उनका अनुसार प्रतियोगिता लामाचौरस्थित रत्नराज्य लक्ष्मीमाविको खेल मैदानमा सञ्चालन हुने छ।  

दुवै तर्फ उपविजेताले नगद १ लाख १ हजार र तेस्रो हुने दुवै टोलीले समान ५०÷५० हजार प्राप्त गर्ने छन्। उत्कृष्ट खेलाडीलाई भने आकर्षक पुरस्कार प्रदान गरिने आयोजक नवआदर्श सामुदायिक विकास समाजले उल्लेख गरेको छ। भलिबल प्रतियोगितासँगै आयोजक संस्थाले तीज गीत प्रतियोगिता आयोजना समेत गर्ने छ। दर्शकले भलिबल प्रतियोगितासँगै तीजे गीतको रौनकमा आफुलाई झुमाउन सक्ने छन्। कार्यक्रमको लागि ५४ लाख रुपैयाँ खर्च हुने संस्थाकी अध्यक्ष रेशमा शेरचन अधिकारीले जानकारी दिईन्।  

प्रकाशित: ६ भाद्र २०७९ ०७:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App