२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

लनर्सको ब्रान्ड एम्बेसडरमा सुमन

लनर्स इन्स्टिच्युट एन्ड कन्सल्टेन्सीले कराते खेलाडी सुमन तिमल्सिनालाई ब्रान्ड एम्बेसडर बनाएको छ।

सुमन र लनर्सका प्रबन्ध निर्देशक सुदीप छत्कुलीबीच त्यससम्बन्धी सम्झौतापत्रमा मंगलबार हस्ताक्षर भयो। सम्झौता अनुसार लनर्सले सुमनलाई १ वर्षका लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदा हवाई टिकट प्रायोजन गर्नेछ। कार्यक्रममा प्रबन्ध निर्देशक छत्कुलीले अन्तर्राष्ट्रिय जगत्मा राष्ट्रको गरिमा अभिवृद्धि गर्ने खेलाडीलाई ब्रान्ड एम्बेसडर बनाउन पाउँदा गर्वको अनुभुति भएको बताउदै निजी क्षेत्रबाट पनि खेलाडीलाई प्रोत्साहन गर्ने कार्य हुनुपर्नेमा जोड दिए। प्रबन्ध निर्देशक छत्कुलीले सुमनको लगशीलता र देशलाई दिलाएको उपलब्धिका कारण पहिलो पटकलाई १ वर्षका लागि ब्रान्ड एम्बेसडरमा अनुबन्धित गरेको जानकारी गराए।

सुमनले खेलकुद र खेलाडीको महत्त्व बुझेर ब्रान्ड एम्बेसडर बनाएकोमा लनर्स परिवारलाई धन्यवाद दिँदै लनर्सको प्रवर्द्धनमा आफूले सक्दो सहयोग पुर्‍याउने प्रतिबद्धता जनाए। सुमनले बंगलादेशमा भएको तेस्रो कन्टिनेन्टल एसियाली करातेमा स्वर्ण, श्रीलंकामा भएको प्रथम अन्तर्राष्ट्रिय करातेमा स्वर्ण, भारतमा भएको छैटौं एसियाली गोजुरियो करातेमा रजत, मलेसियामा भएको प्रथम एसियाली प्यासिफिक गोजुरियो करातेमा कांस्य, जर्मनीमा भएको चेम्निज ओपन करातेमा स्वर्ण र टोरोन्टो अन्तर्राष्ट्रिय मार्सल आर्ट्स इ-कातमा स्वर्ण जितेका थिए।

एसियाली गोजुरियो कराते महासंघका रेफ्री सुमनले युरोपिन कराते जज इङ्ल्यान्ड (डब्लुयुएमएफ) बाट उत्तीर्ण गरेको जनाइएको छ। पुतली सडकमा ७ वर्षअघि स्थापना भएको लनर्सले अस्ट्रेलिया, क्यानाडा र युरोपमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीका लागि परामर्शदाता र अन्य आवश्यक कार्यमा सहयोग गर्दै आएको छ। प्रबन्ध निर्देशक छत्कुलीले खेलकुदसम्बन्धी अध्ययन गर्न र उच्च शिक्षा हासिल गर्न विदेश जाने अन्तर्राष्ट्रिय खेलाडीलाई निशुल्क परमार्शका साथै लागतमा विशेष छुट दिने बताए।

प्रकाशित: १ भाद्र २०७९ ०१:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App