२२ असार २०८१ शनिबार
image/svg+xml
खेल

सेरेनाको प्रतिद्वन्द्वी राडुकानु

सेरेना विलियम्सले आगामी सोमबार सिनसिन्नाटीको पहिलो खेलमा नै बलियी प्रतिद्वन्द्वी युएस ओपन च्याम्पियन इमा राडुकानुको चुनौती सामना गर्ने भएकी छन्।

२३ पटक ग्रान्ड स्लाम विजेता सेरेनाले यसै हप्ता मात्र आफ्नो संन्यासको काउन्ट डाउन सुरु भइसकेको खुलासा गरेकी थिइन्। यद्यपि, उनले घरेलु भूमिमा हुने मुख्य प्रतियोगिताबाट यादगार  बिदाइ लिन सक्ने आकलन गरिएको छ।

यसै महिनाको अन्त्यदेखि युएस ओपन सुरु हुँदै छ, जहाँ ४० वर्षीया सेरेनाको भव्य बिदाइ हुन सक्छ। सेरेनाले करिब एक वर्षपश्चात् गत हप्ता मात्र सिंगल्सको प्रतिस्पर्धा खेल जितेकी थिइन्। गत हप्ता टोरन्टोमा उनले स्पेनकी नुरिया पेरिजासलाई हराउँदै लामो समयपछि जित निकालिन्। केही समयअगाडि मात्र उनले एक लेखमा आफू टेनिसबाट बाहिरिने सार्वजनिक गरेकी हुन्।

त्यो घोषणापछि सेरेना दोस्रो चरणमा टोकियो ओलम्पिक स्वर्ण विजेता स्विट्जरल्यान्डकी बेलिन्डा बेनसिससँग सोझो सेटमा नै स्तब्ध भइन्। आगामी सिनसिन्नाटीमा पनि उनले सुरुमा नै कडा प्रतिस्पर्धीको सामना गर्ने भएकी छन्। यी दुई बीचको विजेताले २०औं वरीयता प्राप्त भिक्टोरिया अजारेन्का वा ३१औं वरीयता प्राप्त काइया कानेपीमध्ये एकसँग खेल्नेछ। ३३ वर्षीया अजारेन्का पनि दुई पटक ग्रान्ड स्लाम विजेता तथा पूर्वविश्व नम्बर एक खेलाडी हुन्, जसले भिसाको समस्याका कारण टोरोन्टोमा प्रतिस्पर्धा गर्न पाएकी थिइनन्। दुई पटक युएस च्याम्पियन सेरेनाले १७ वर्षको हुँदा नै युएस ओपन जितेकी थिइन्।

सन् १९९९ मा युएस ओपन जित्दा सेरेनाको त्यो पहिलो ग्रान्ड स्लाम पनि थियो। १९ वर्षीया राडुकानु र सेरेनाबीच अहिलेसम्म प्रतिस्पर्धा भएको छैन। गत वर्ष क्वालिफायरको रूपमा युएस ओपन खेलेकी राडुकानीले उपाधि नै उचाल्दै सनसनी मच्चाइन्।

तर, त्यसयता भने राडुकानुले लय समात्न संघर्ष गर्दै आइरहेकी छन्। त्यसपछिका ठूला प्रतिस्पर्धा अस्ट्रेलियन ओपन,फ्रेन्च ओपन र विम्बल्डनमा उनले सुरुआतमा नै बहिर्गमन सामना गर्नुपरेको छ। गत हप्ता सेरेनाले आफ्नो संन्यासबारे बोल्नुलाई राडुकानुले उनले खेल परिवर्तन गरेको प्रतिक्रिया दिइन्।

‘महिला प्रतिस्पर्धामा सेरेनाले जति दबदबा कमैले राखेका छन्,’ राडुकानुले भनिन्। सेरेनाले सन् २०१७ पछि पहिलोपटक ग्रान्ड स्लाम जित्न कति समय संघर्ष गर्छिन् भन्ने प्रश्न उठिरहेका छन्। राडुकानुमा पनि त्यो प्रश्न उब्जिएको छ। सेरेनाले सन् २०१७ मा अस्ट्रेलियन ओपन जितेयता कुनै पनि सफलता पाउन सकेकी छैनन्। त्यसपछि उनी युएस ओपन र विम्बल्डनको फाइनलमा पुगे पनि सफलता पाउन भने सकिनन्। ‘यति लामो समयसम्म करियर लानु भनेको पक्कै पनि उनी उत्कृष्ट हुन्। मेरो लागि भने उनी विशेष खेलाडी हुन्। उनीबाट धेरै प्रेरणा प्राप्त हुन्छ,’ राडुकानुले भनेकी छन्। 

प्रकाशित: २९ श्रावण २०७९ ०२:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App