२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

रियाललाई युइएफए सुपर कप उपाधि

६५औं मिनेटमा जुनियर भिनिसियसले उपलब्ध गराएको पासलाई सदुपयोग गर्दै बेन्जेमाले टोलीको अग्रता दोब्बर बनाएका थिए। यससँगै बेन्जेमाले स्पेनिस लिगमा ३ सय २४ गोल पुर्‍याएका छन्। बेन्जेमाले राहुल गोन्जालेजको कीर्तिमान पनि तोडेका छन्।

 डेभिड अल्बा र करिम बेन्जेमाको एक/एक गोलको सहयोगमा स्पेसिन क्लब रियाल मड्रिडले जर्मन क्लब इन्ट्य्राक्ट फ्य्रान्फर्टलाई हराउँदै बुधबार युइएफए सुपर कपको उपाधि जितेको छ।पहिलो हाफमा विपक्षीलाई दबाब दिएर खेले पनि जर्मन क्लबले रियालविरुद्ध धेरै अवसर खेर फालेको थियो। काउन्टरका लागि अगाडि बढेको मौकामा रियालले अग्रता लिएपछि इन्ट्य्राक्ट दबाबमा परेको थियो। 

जर्मन क्लबविरुद्ध ३७औं मिनेटमा डेभिड अल्बाले कासेमिरोको पासमा उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। साबिक च्याम्पियन्स लिग विजेताले परिपक्व खेल देखाउन सफल भएको थियो। पहिलो हाफमा दबाब झेले पनि रियालले सम्हालिएको प्रदर्शनलाई भने निरन्तरता दिएको थियो। तुलनात्मक हिसाबमा बल पोसेसन कम राखे पनि रियालको रक्षापंक्तिले उत्कृष्ट खेल देखाउन सक्यो। ‘पहिलो हाफमा जर्मन टोलीले दबाब दिएर खेल्यो। उनीहरूविरुद्ध खेल्न त्यति सहज थिएन।

यद्यपि हामीले रणनीतिअनुसार खेललाई अगाडि बढाइरह्यौं र गोल पनि निस्कियो। त्यसपछि खेल हाम्रो नियन्त्रणमा आउँदा सफलता मिल्यो,’ रियालका प्रशिक्षक कार्लो एन्सेलोट्टीले भने, ‘सिजन सुरुआत हुँदा अपेक्षाअनुसारको खेल नहुन पनि सक्छ। शतप्रतिशत खेल प्रदर्शन खेलाडीबाट नहुन सक्छ। तर पनि हामीले उपाधि जित्यौं। नयाँ सिजनमा सुखद सुरुआत भएको छ। यसले आगामी दिनमा अन्य खेल खेल्न खेलाडीको मनोबल अवश्य बढ्नेछ।’

उपाधि जितेसँगै भेट्रान स्ट्राइकर करिम बेन्जेमालाई अर्को सफलताको श्रेय मिलेको छ। फ्रान्सका स्ट्राइकर बेन्जेमाले टोलीका दोस्रो गोल गर्दै उपाधि पक्का गरेका थिए। ६५औं मिनेटमा जुनियर भिनिसियसले उपलब्ध गराएको पासलाई सदुपयोग गर्दै बेन्जेमाले टोलीको अग्रता दोब्बर बनाएका थिए। यससँगै बेन्जेमाले स्पेनिस लिगमा ३ सय २४ गोल पुर्‍याएका छन्।  

बेन्जेमाले राहुल गोन्जालेजको कीर्तिमान पनि तोडेका छन्। उनले राहुलले भन्दा एक गोल बढी गरेका छन्। करिम बेन्जेमा स्पेनिस क्लब रियाल मड्रिडबाट सर्वाधिक गोल गर्ने खेलाडीको सूचीको दोस्रो स्थानमा उक्लिएका छन्। स्पेनिस लिगमा रोनाल्डोको सर्वाधिक गोल गर्ने कीर्तिमान छ। रोनाल्डोका नाममा ४ सय ५० गोलको कीर्तिमान रहेको छ। ‘बालोन डी’ओरको लयमा बेन्जेमा रहेका छन्। ‘अन्य कुनै प्रतिस्पर्धी छैन जस्तो मलाई लाग्छ,’ रियालका प्रशिक्षक एन्सेलोट्टीले थपे।  

पहिलो हाफमा उत्कृष्ट खेल देखाएको इन्ट्य्राक्टका केही राम्रा अवसर रियालका गोलकिपर थियाबाउट कोर्टोइसले एकपछि अर्को गरी विफल पारेका थिए। १४औं मिनेटमा डायची कामडासँगको वान भर्सेस वानको अवस्थामा थियाबाउटले उत्कृष्ट बचाउन गर्दै टोलीलाई गोल खानबाट जोगाएका थिए। त्यसपछि पनि केही राम्रा प्रहारलाई थियाबाउटले विफल तुल्याएका थिए।  

पछिल्लो सिजनको स्पेनिस ला लिगा र युरोपकै सबैभन्दा प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि उचासिकेको रियालको साख सुपर कपको उपाधि उचालेसँगै थप चुलिएको छ। जसमा भेट्रान स्ट्राइकर बेन्जेमाको उत्कृष्ट लयको ग्राफ पनि चुलिने क्रममा छ। उता टोलीका लागि ब्रेक थ्रु गोल गरेका डेभिड अल्बाले समग्र टोलीको उत्कृष्ट खेलको सहयोगमा उपलब्धि मिलेको प्रतिक्रिया जनाए।

‘हामी यहाँ जितका लागि आएका थियौं। उपाधि संख्या बढाउने लक्ष्य पूरा भएको छ। अघिल्लो सिजनको लयलाई निरन्तरता दिँदै हामी प्रभुत्व जमाउन चाहन्छौं,’ रियालका लागि पहिलो गोल गरेका अल्बाले भने, ‘फाइनल खेलमा गोल गर्न पाउँदा सधैं खुसी लाग्छ। जुन इतिहासमा दर्ज हुने गर्दछ। ’सुपर कपमा पराजित भएपछि फ्रान्कफर्टका मुख्य प्रशिक्षक ओलिभर ग्लास्नेरले रियालको स्तर छुट्टै तारिफयोग्य भएको प्रतिक्रिया जनाए।  

‘हामीले पछिल्लो खेलमा भन्दा सुधारिएको प्रदर्शन गरेका थियौं। बायर्नसँग पराजित हुँदा हामीले पाठ सिकेका थियौं। रियाललाई दुई मौका दिनु हुैँदैनथ्यो,’ ग्लास्नेरले भने, ‘टिमले रक्षात्मक रूपमा राम्रो गरेको थियो। तर, अन्तिममा रियाल हामीभन्दा उत्कृष्ट बन्यो। राम्रो प्रदर्शनका बावजुद पनि रियालविरुद्ध त्यो पर्याप्त भएन। हामीभन्दा रियालको स्तर नै  बेग्लै छ।’ बुधबारको उपाधिसँगै रियालले सुपर कप पाँचाैं पटक जितेको छ। पछिल्लो पटक रियालले सन् २०१८ मा सुपर कप खेलेका थियो। जहाँ टोली एट्लेटिको मड्रिडसँग ४–२ ले पराजित भएको थियो।

प्रकाशित: २७ श्रावण २०७९ ०२:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App