४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

जुडो खेलाडीको पहल अनाथलयमा सहयोग

जुडोका खेलाडी मोहन बमको पहलमा गोठाटारमा रहेको अनाथलय श्रृजनशील बालगृहलाई शनिबार सहयोग हस्तान्तरण गरिएको छ।

किवानिज क्लब अफ एभरेष्टले सञ्चालन गर्दै आएको जुडो फर किड्स कार्यक्रमअन्तर्गत उनको पहलमा सहयोग गरिएको हो। अस्ट्रेलियामा बस्दै आएका जुडो खेलाडी मोहन बमको पहलमा जुडोप्रेमी फ्रान्सका लाउरेन्ट डी ओलिभरले जुटाएको आर्थिक सहयोगबाट श्रृजनशीललाई सहयोग हस्तान्तरण गरिएको हो।

अनाथलयमा आश्रित बालबालिकाका लागि ४५ हजार रूपैयाँको खाद्यान्न, त्यहाँ प्रशिक्षणरत जुडो खेलाडीका लागि ४२ हजार ५ सयको गी (खेल पोशाक) र त्यहाँका जुडो प्रशिक्षक उत्तमप्रताप राणाको पारिश्रमिकबापत ५० हजार रूपैयाँ सहयोग हस्तान्तरण गरिएको थियो।

श्रृजनशीलको भाडाबापत ६० हजार रूपैयाँ पनि हस्तान्तरण गरियो। कागेश्वरी मनोहरानगरपालिका वडा–९ का अध्यक्ष अनिल थापा, किवानिजका डिस्ट्रिक्ट प्रमुख सल्लाहकार दामोदर दाहाल लगायतले श्रृजनशीलकी अध्यक्ष उमादेवी बस्नेतलाई एक कार्यक्रमबीच सहयोग हस्तान्तरण गरे। विगतमा पनि लाउरेन्टले श्रृजनशीललाई सहयोग गरेका थिए। कार्यक्रममा अध्यक्ष थापाले संस्थाको स्थायी भवनको लागि नगरपालिकाभित्र सरकारी जग्गा भोग चलनको लागि पहल गर्ने प्रतिवद्धता जनाउँदै सहयोगी मन श्री लौरेन्ट दे ओलिभर, दामोदर ढकाल र मोहन बमलाई धन्यवाद दिए ।

प्रकाशित: १५ श्रावण २०७९ ०३:३० आइतबार

जुडो खेलाडीको पहल अनाथलयमा सहयोग