२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

फ्रान्स अन्तिम आठमा

महिला युरो कप २०२२ फुटबलअन्तर्गत बिहीबार भएको खेलमा फ्रान्सले बेल्जियमलाई २–१ गोलले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको छ।

पहिलो हाफ सकिन चार मिनेट बाँकी रहँदा फ्रान्सकी ग्रिएज एम्बोक बाथेले १–१ को बराबरीलाई तोड्दै अग्रता निकालेपछि फ्रान्सले २–१ को नतिजाका साथ अन्तिम आठमा स्थान बनाएको हो। यसअघि दुवै टोलीले १–१ को बराबरी खेलेका थिए। छैटौँ मिनेटमा फ्रान्सले बेल्जियमविरुद्ध सुरुआती अग्रता लिएको थियो।

काडिडियाटो डायनीले फ्रान्सलाई अग्रता दिलाएकी थिइन्। ३६औं मिनेटमा जान्के क्याम्यानले बेल्जियमका लागि बराबरी गोल गरेपछि खेल रोमाञ्चक अवस्थामा पुगेको थियो। ४१औं मिनेटमा फ्रान्सकी ग्रिएज एम्बोकले गोल गरेपछि पुनः फ्रान्सले अग्रता लिएको थियो। त्यसपछिको बाँकी समयमा थप गोल हुन सकेन र फ्रान्सले अघिल्लो चरणको यात्रा निश्चित गरेको हो।

यससँगै समूह ‘डी’ मा रहेको फ्रान्सले लगातार दोस्रो जित निकालेको छ। इटालीमा भएको पहिलो खेलमा ५–१ को फराकिलो जित निकालेको फ्रान्सले दोस्रो खेलमा पनि जितलाई निरन्तरता दिँदा तालिकामा ६ अंक जोडेको हो। फ्रान्स तालिकाको शीर्ष स्थानमा छ। २ खेलबाट २ अंक नै जोडेको आइसल्यान्ड समूह ‘डी’ को दोस्रो स्थानमा छ भने पराजित बेल्जियम तेस्रो स्थानमा छ। इटालीसँग समान १/१ अंक जोडेपछि बेल्जियम गोलअन्तरमा तेस्रो स्थानमा अटाएको हो। इटाली पुछारमा छ।

युरो कप फुटबलअन्तर्गत बिहीबार नै भएको समूह ‘डी’ कै अर्को खेलमा इटाली र आइसल्यान्डले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्। स्पष्ट जितका लागि दुवै टोली मैदान उत्रिएका थिए। आफ्नो अघिल्लो खेलमा पराजित भएका दुवै टोली बिहीबार राति जितको खोजीमा उत्रिएका थिए।

आइसल्यान्डले तेस्रो मिनेटमा नै लिएको अग्रता दोस्रो हाफमा कायम राख्न नसक्दा अंक बाँडेको हो। कारोलिनाले आइसल्यान्डका लागि तेस्रो मिनेटमा गोल गर्दै अग्रता दिलाएकी थिइन्। तर दोस्रो हाफमा इटालीले सम्हालिएको प्रदर्शन गर्दै खेलमा फर्किने संकेत देखायो। सोही क्रममा ६२औं मिनेटमा भ्यालेन्टिना बर्गामास्चीले गोल गर्दै खेल बराबरीको अवस्थामा ल्याइन्। बाँकी समयमा दुवै तर्फबाट थप गोल हुन सकेन र दुवै टोलीले अंक बाँडेका हुन्। 

प्रकाशित: ३२ असार २०७९ ०१:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App